अक्षरमार्गको वार्षिकोत्सवमा ८ सर्जक सम्मानित

अक्षरमार्गको वार्षिकोत्सवमा ८ सर्जक सम्मानित

काभ्रे : अक्षरमार्गले ७ नेपाली र एक भारतीय सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्ग त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सर्जकहरूलाई सम्मान गरिएको हो। शनिबार पनौतीमा आयोजित सम्मान समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रममा चार वटा पुस्तक पनि लोकार्पण गरिएको छ।

उक्त सम्मान समारोहमा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ। यस्तै, वरिष्ठ साहित्यकार तथा समालोचक डा.शैलेन्दु प्रकाश नेपाललाई नरबहादुर अक्षरमार्ग सम्मानबाट सम्मानित गरिएको छ। श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार गंगा सुवेदीलाई सम्मान गरिएको छ। 

यस्तै कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार श्रीराम श्रेष्ठ सम्मानित भए। साहित्यकार डा.साधना पन्त प्रतीक्षालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने सर्जक डा. विजय पण्डितलाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ। अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार तुयुकाजी ताम्राकार सम्मानित भएका छन्। गायक तथा संस्कृतीकर्मी विजयराम कर्माचार्यलाई खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सम्मानित प्रतिभाहरुलाई दोसल्ला, सम्मान पत्र प्रदान गरेका थिए। यस्तै, प्रल्हाद केसी र ध्रुबनारायण जोंन्छेबाट सम्मानित सर्जकहरूलाई सगुन प्रदान गरेका थिए। 

अक्षरमार्गका संयोजक, साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यप्रसाद लाकोजूद्धारा लिखित ‘घाम फुल्ने याम’ र ‘मकर मेला अफ पनौती’को दोस्रो संस्करण, कृष्णप्रसाद सिटौलाद्वारा लिखित ‘मनकुसुम’ र अक्षरमार्गको ‘कथामा समावेत स्वरहरु’ नामक पुस्तकको लोकार्पण गरिएको थियो। 

कार्यक्रममा मोहन दुवालले सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गरेका थिए  विमोचित किताबको बारेमा रामसुन्दर देउजाले प्रकाश पारेका थिए। विमोचित पुस्तक ‘मनकुसुम’ का सर्जक कृष्णप्रसाद सिटौलाले एउटा कविता वाचन गरेका थिए। 

कार्यक्रममा २०७७ सालको एसईई परीक्षामा सूर्योदय माविबाट सामेल भई जिपिए ४ ल्याएर सूर्योदय टप गरेका शाश्वतप्रसाद लाकोजूलाई पूर्णमाया लुचिकाजी एसईई सम्मानबाट सम्मानित गरिएको छ।

२६ चैत, २०७८, २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।