मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु, ७५ लाख बालबालिकामा सेवा प्रवाह गरिने

मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु, ७५ लाख बालबालिकामा सेवा प्रवाह गरिने
फाइल तस्बिर

मकवानपुरः स्वास्थ्यमन्त्री विरोध खतिवडाबाट आज टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ। आजदेखि प्रारम्भ भएको अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई उनले निर्देशन पनि दिएका छन्।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित भोजशिद्ध माविमा उनले खोप अभियान सुरु गरेका हुन्। उनले खोप पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन समेत स्थानीयलाई आग्रह गरेका थिए।

अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने बताउँदै मन्त्री खतिवडाले यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकामा खोप सेवा प्रवाह गरिने बताए। 

खोपका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्था गरिएको भन्दै उनले खोप अभियानबाट मकवानपुरका मात्रै एक लाख आठ हजार बालबालिका लाभान्वित हुने उल्लेख गरे।

विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको र बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइने बताइएको छ।

२६ चैत, २०७८, १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।