स्वास्थ्य बीमा कार्यक्रमको ६ वर्ष पूरा: ७४५ स्थानीय तहमा विस्तार, कुल बीमितको सङ्ख्या ५३ लाख

स्वास्थ्य बीमा कार्यक्रमको ६ वर्ष पूरा: ७४५ स्थानीय तहमा विस्तार, कुल बीमितको सङ्ख्या ५३ लाख

काठमाडौः स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनेको सङ्ख्या प्रदेश नं. १ मा सबैभन्दा बढी र मधेश प्रदेशमा सबैभन्दा कम देखिएको छ। 

स्वास्थ्य बीमा बोर्डका अनुसार प्रदेश नं. १ मा कुल जनसंख्याको ३७.९ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन्। मधेश प्रदेशमा सबैभन्दा कम ५.९३ प्रतिशतले मात्रै स्वास्थ्य बीमा गरेका छन्। 

त्यसैगरी बागमती प्रदेशमा १९.०५ प्रतिशत, गण्डकीमा २६.९६ प्रतिशत र लुम्बिनीमा १८.२५ प्रतिशतले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ। 

बोर्डका अनुसार कर्णालीमा १९.४१ प्रतिशत र सुदूरपश्चिममा १७.०३ प्रतिशत व्यक्तिले स्वास्थ्य बीमा गरेका छन्। 

स्वास्थ्य बीमा दिवस–२०७८ को पूर्वसन्ध्यामा बिहीबार सञ्चारकर्मीसँगको छलफलमा बोर्डले यस्तो जानकारी दिएको हो।

यस्तै स्वास्थ्य बीमा कार्यक्रम छैठौं वर्ष पूरा भएको अवसरमा ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ आज बोर्डले स्वास्थ्य बीमा दिवस मनाउने भएको छ। 

शुक्रबारदेखि अनलाइन नवीकरण र एचआईभी प्रोफाइल मोबाइल एप सेवा समेतको सुरुआत गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमाको पहुँच ७७ जिल्लाका सात सय ४५ स्थानीय तहमा
स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैत २५ देखि कैलाली जिल्लाबाट औपचारिक रूपमा सुरु भएको हो। हाल कार्यक्रम ७७ वटै जिल्लाका सात सय ४५ स्थानीय तहमा पुगेको बोर्डले जनाएको छ। 

बोर्डका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बाँकी रहेका सबै स्थानीय तहमा कार्यक्रम विस्तार गरिनेछ।

कार्यक्रम गरिब, विपन्न तथा सुगम क्षेत्रमा समेत विस्तार भइसकेको बोर्डको दावी छ। बोर्डले भनेको छ, ‘बढ्दो सेवाग्राहीको चापका कारण केही सेवा प्रदायक संस्थामा व्यवस्थापन समस्या देखिएता पनि त्यसलाई समाधान गर्ने कार्य भइरहेको छ।’

५३ लाखले बीमा गरे
कार्यक्रमको सुरु भएदेखि हालसम्म कुल बीमित सदस्यको संख्या ५३ लाख चार हजार २७० पुगेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। 

बोर्डका अनुसार कुल बीमित परिवार १५ लाख आठ हजार ५१४ पुगेका छन्। 

कुल बीमितमध्ये २० लाख ८९ हजार ५९९ अर्थात् ३९ प्रतिशतले सेवा लिएको बोर्डले जनाएको छ। 

बोर्डका अनुसार सरकारी र निजी गरी स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्था चार सय ४१ रहेका छन्। तर, ७० प्रतिशतले मात्रै बीमा नवीकरण गर्ने गरेका छन्। ३० प्रतिशतले बीमा नवीकरण नै गर्दैनन्।

त्यसैगरी अति गरिब परिवारको बीमित सदस्य संख्या चार लाख ८८ हजार र जेष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७३५ रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

बोर्डका अनुसार एचआईभी संक्रमित परिवारको बीमित सदस्य संख्या २५ हजार २८९ र अति अशक्त अपांगता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६२९ रहेको छ। 

त्यसैगरी कुष्ठरोग संक्रमित परिवारको बीमित सदस्य संख्या दुई हजार ४७४ र महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको बीमित सदस्य संख्या ८३ हजार ६२६ रहेको छ।

२५ चैत, २०७८, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।