फोक्सोको गहिराइमा पहिलो पटक माइक्रोप्लास्टिक फेला 

फोक्सोको गहिराइमा पहिलो पटक माइक्रोप्लास्टिक फेला 
photo:David Kelly, The Guardian

काठमाडौँ : पहिलो पटक जीवित मानिसको फोक्सोको गहिराइमा माइक्रोप्लास्टिकको प्रदूषण फेला परेको छ। अनुसन्धानकर्ताहरुले विश्लेषण गरेका लगभग सबै नमुनाहरूमा प्लास्टिकको कणहरू फेला परेका हुन्। १३ जना बिरामीको शल्यक्रियाका क्रममा निकालिएको तन्तुबाट नमुना लिइएकोमा ११ जनामा माइक्रोप्लास्टिक फेला परेको हो।

जसमा सबैभन्दा सामान्य मानिएको प्लास्टिक प्याकेजिङ्ग र पाइपहरूमा प्रयोग हुने पोलीप्रोपाइलिन सँगै बोतलहरूमा प्रयोग हुने प्लास्टिकको कणहरू रहेका छन्। अनुसन्धानकर्ताहरुले यसअघि गरेका दुईवटा अध्ययनबाट पनि पोस्टमार्टमको क्रममा फोक्सोको तन्तुमा माइक्रोप्लास्टिकको उच्च दर फेला पारेका थिए। 

मार्चमा पहिलो पटक मानव रगतमा माइक्रोप्लास्टिक पत्ता लागेको थियो। उक्त प्लास्टिकको कणहरू शरीरको वरिपरि घुम्न सक्ने र अंगहरूमा समेत बस्न सक्ने वैज्ञानिकहरुको विश्लेषण छ। वैज्ञानिकहरूका अनुसार अहिले माइक्रोप्लास्टिक प्रदूषण पुरै संसारमा सर्वव्यापी छ। जसले मानवीय आवरणलाई अपरिहार्य बनाउँदै छ। यसको अर्थ सिधै स्वास्थ्यको लागि खतरा बढेको मान्नु पर्ने हुन्छ।

विशेष गरी अहिले मानिसहरू खाना र पानी मार्फत प्लास्टिकका साना कणहरु निलिरहेका छन्, भने वायुप्रदुषणले गर्दा स्वाश फेर्दा पनि तिनीहरु भेटिने गरेको पाइएको छ। माइक्रोप्लास्टिकको धेरै सम्पर्कमा आउने कामदारहरूलाई पनि यसले प्रत्यक्ष असर गरेको पाइएको छ।

यसले स्वास्थ्यमा कुन हद सम्म असर गर्छ भन्ने कुरा वैज्ञानिकहरुले अझै पत्ता लगाउन सकेका छैन। तर, माइक्रोप्लास्टिकले प्रयोगशालामा मानव कोशिकाहरूलाई नोक्सान पुर्याएको र वायु प्रदूषणबाट यसको कणहरू शरीरमा पसेको कारण वर्षमा लाखौंको प्रारम्भिक कालमै मृत्यु हुन थालेकोमा अनुसन्धानकर्ताहरु चिन्तित छन्। 

'हामीले फोक्सोको तल्लो भागहरूमा सबैभन्दा धेरै प्लास्टिकको कणहरू, त्यै पनि त्यस्तो आकारमा फेला पार्छौँ भनेर त सोचेका थएनौँ। 'बेलायतको हल योर्क मेडिकल स्कुलका वरिष्ठ लेखक लौरा सडोफस्कीले भने, फोक्सोको तल्लो भागहरूमा वायुमार्गहरू साना हुन्छन्। यो गहिराइमा प्लास्टिकका कणहरू पुग्नु एकदमै अचम्मको कुरा हो।'

'यो तथ्याङ्कले वायु प्रदूषण, माइक्रोप्लास्टिक र मानव स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाउने देखिन्छ,' उनले भनिन्। यसले स्वास्थ्यमा पर्ने प्रभावहरू निर्धारण गर्न र प्रयोगशाला प्रयोगहरूको लागि यथार्थपरक अवस्था सिर्जनाको जानकारी गर्न मद्दत समेत गर्छ।

शल्यक्रिया गर्दै गरेको स्वस्थ फोक्सोको तन्तुको नमुनाहरू प्रयोग गरिएको उक्त प्रतिवेदन साईन्स अफ द टोटल इन्भायरमेन्ट जर्नलद्वारा प्रकाशनको लागि स्वीकार गरिएको छ। यसमा प्लास्टिकको प्रकार पहिचान गर्न स्पेक्ट्रोस्कोपी प्रयोग गर्दा ०.००३ मिमी आकारको कणहरू भेटिएको उल्लेख गरेका बताइएको छ। त्यस्तै बाहिरी प्रदूषणको स्तरको लागि संकलन गरिएको नमुनाहरू पनि प्रयोग भएको बताइएको छ।

सन् २०२१ मा ब्राजिलमा पोस्टमार्टम मार्फत गरिएको अध्ययनले २० मध्ये १३ जनामा माइक्रोप्लास्टिक फेला पारेको थियो। जसको औसत आयु सडोफस्कीको अध्ययनले मूल्याङ्कन गरेको भन्दा बढी थियो। त्यसमा प्लास्टिकको झोलामा प्रयोग हुने पोलिथिलीन सबैभन्दा सामान्य कण मध्ये एक भएको पाइएको थियो। स्वास्थ्यका लागि हानिकारक यी परिणामहरू श्वासप्रश्वास प्रणालीमा सास फेर्दा प्रत्यक्ष सम्बन्धित हुन सक्ने सो अध्ययनले निष्कर्ष समेत निकालेको थियो। 

सन् १९९८ मा एक अमेरिकी अध्ययनले फोक्सोको क्यान्सर रोगीहरूको १०० भन्दा बढी नमुनाहरूमा प्लास्टिक र प्लान्ट फाइबर ( कपास) फेला पारेको थियो। जसमा क्यान्सरयुक्त तन्तुहरूमा, ९७ प्रतिशत नमुनाहरू फाइबरका थिए भने गैर–क्यान्सरका नमुनाहरूमा पनि ८३ प्रतिशत प्रदूषित थिए।

वातावरणमा ठूलो मात्रामा प्लास्टिकको फोहोर फाल्ने गरेको पाइन्छ। माइक्रोप्लास्टिकले सगरमाथाको शिखरदेखि गहिरो महासागरसम्म सम्पूर्ण पृथ्वीलाईनै प्रदूषित बनाइरहेको छ। गर्भवती महिलाको प्लेसेन्टा (गर्भावस्थाको समयमा पाठेघरमा विकसि हुने एक अंग)मा पनि माइक्रोप्लास्टिक फेला परेको छ। त्यस्तै गर्भवती मुसाहरूमा पनि फोक्सोबाट मुटुमा हुँदै मस्तिष्क र भ्रूणको अन्य अंगहरुमा समेत यो फेला परेको छ।

हालैको समीक्षाहरुले क्यान्सर जोखिमको मूल्याङ्कन गर्दै निकालेको निष्कर्ष अनुसार, 'प्लास्टिक उत्पादनमा व्यापक वृद्दि भएको बेला माइक्रो– र न्यानोप्लास्टिकले मानव शरीरको संरचना र प्रक्रियाहरूलाई कसरी असर गर्छ भन्ने बारे थप विस्तृत अनुसन्धान आवश्यक छ। त्यस्तै, कसरी तिनीहरूले कोशिकाहरू रूपान्तरण गर्न सक्छन् र यसले क्यान्सरलाई कसरि प्रेरित गर्न सक्छन् भन्ने कुराहरु पता लगाउन तत्काल आवश्यक रहेको छ।'

२४ चैत, २०७८, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।