देशभरका ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

देशभरका ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

काठमाडौंः नेपालले दक्षिण एसियामा नै पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म २४ दिन चल्ने खोप अभियानमा १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडको खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको टाइफाइड खोप अभियानबारे पत्रकार अन्तरक्रिया कार्यक्रममा करिब ७५ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइउने लक्ष रहेको बताइएको छ। 

अन्तरक्रिया कार्यक्रममा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपाल सहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ। यो खोप अभियान सँगै टाइफाइड खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुनेछ।’

यो अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप दिइने भएको छ। 

स्थानीय तहको प्रत्येक वडामा तोकिएका विद्यालयहरूको खोप केन्द्रमा खोप उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाहेक खोप केन्द्र सञ्चालन गरिने अन्तरक्रिया कार्यक्रममा खोप शाखाले जानकारी दिएको छ। त्यसै गरी अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा सञ्चालन गरिने भएको छ।

खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रूपमा कमी ल्याउन सकिने पुष्टि भएकाले सो तथ्यलाई आधार मानी राष्ट्रिय खोप सल्लाहकार समितिबाट २०२० अगष्ट १४ मा टाइफाइडको खोप कार्यक्रम समावेश गन सिफारिस भएको परिवार कल्याण महाशाखाले जनाएको छ। 

के हो टाइफाइड?
चिकित्सकका अनुसार टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो। जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोग जीवाणु स्वास्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्छ। यो रोग लागेको खण्डमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने जस्ता समस्या हुनुका साथै ज्यानै जाने समेत जोखिम हुने चिकित्सक बताउँछन्।

विगत पाँच वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी करिब चार लाख ५० हजार जना भन्दा बढी बालबालिकामा टाइफाइड रोगको संक्रमण पुष्टि भएको पाइएको परिवार कल्याण महाशाखाले जनाएको छ। विगत तीन वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो रोग चौथो कारणमा रहेको अन्तरक्रिया कार्यक्रममा बताइएको छ।

यो रोग संक्रमण सबै उमेर समूहमा हने भए पनि १५ वर्ष मुनिका बालबालिकामा अन्य उमेर समूहमा भन्दा बढी संक्रमण देखिएको महाशाखाले जनाएको छ। एक अध्ययन अनुसार नेपालमा ८२ हजार चार सय ४९ टाइफाइडका बिरामी रहेको अनुमान छ। जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन्। तथ्यांक अनुसार औषधि प्रतिरोध टाइफाइडमा वृद्धि भएको पनि देखिएको पनि अन्तरक्रिया कार्यक्रममा बताइएको छ।

टाइफाइड रोकथामका लागि खोप भरपर्दो उपाय
अन्तरक्रिया कार्यक्रममा टाइफाइड खोप मासुभित्र दिइने र यसले वयस्क तथा बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताइएको छ। टाइफाइडसँग लड्न खोप सबैभन्दा प्रभावकारी तरिकामध्ये एक भएको चिकित्सकले बताएका छन्। खोप बाहेक टाइफाइडबाट बच्ने अन्य उपायहरूमा सफा पानीको प्रयोग तथा सरसफाई हुन्।

सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, परिवार कल्याण महाशाखाका डा. विवेक कुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल लगायतले टाइफाइडका लागि अभियानका रूपमा सञ्चालन गर्न लागेको खोप सुरक्षित भएको बताएका छन्।

२२ चैत, २०७८, २०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।