चैत २५ देखि मधेश प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने

चैत २५ देखि मधेश प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने

धनुषाः मधेश प्रदेशमा यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार टाइफाइडविरुद्धको खोप अभियान चैत २५ देखि वैशाख १८ गतेसम्म सञ्चालन गरिनेछ। 

स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरमा प्रदेशस्तरीय पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो।

खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइनेछ। निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको बताए।

मधेश प्रदेशका आठ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७१० जना रहेको जनाउँदै स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ। नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइडविरुद्धको खोप दिन लागिएको हो।

२२ चैत, २०७८, ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।