१५ घण्टाको अप्रेसनपछि यसरी जोडियो पाँच वर्षे बालकको छिनेको हात

१५ घण्टाको अप्रेसनपछि यसरी जोडियो पाँच वर्षे बालकको छिनेको हात

काठमाडौंः पुस नौ गते करिब साढे पाँच बजे धनुषाका नवीन मण्डलका पाँच वर्षे छोराको घाँस काट्ने मेसिनले दायाँ हातको नाडी र हत्केलाको बिचको भाग छिनेर दुई टुक्रा भयो।

हात नै दुई टुक्रा भएको थाहा पाएपछि बालका आफन्तले बालक र उनको छिनेको हत्केला प्रादेशिक अस्पताल जनकपुर पुर्याए। त्यहाँ प्राथमिक तहको उपचार भयो। जनकपुरमा हात जोड्न सम्भव नभएपछि अस्पतालले बालकलाई रिफरका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा सम्पर्क गर्यो।

सम्पर्कपछि जनकपुरबाट बालकलाई ट्रमा सेन्टर रिफर गरियो। बालकलाई एम्बुलेन्समा ल्याउने तयारी थियो। भाग्यवश अन्तिम फ्लाइट हवाइजहाज मिल्यो। बालकलाई ट्रमामा ल्याउने भएपछि आकस्मिक कक्षमा खटिएका चिकित्सकले सर्जरी, एनेस्थेसिया लगायतको चिकित्सकको टिमलाई खबर गरे।

अस्पतालबाट खबर पाउनासाथ सर्जरी विभाग प्रमुख तथा प्लास्टिक सर्जन प्रा.डा. पीयूष दाहाल ट्रमा सेन्टर आइपुगे। डा. दाहालले भने'बेलुका साढे ६ बजेतिर थाहा पाएँ। खबर पाउनासाथ आएँ।’
डा. पशुपतिबाबु पोखरेल पनि ट्रमा सेन्टर पुगे।

डा. अपार लामिछानेले बालकलाई ट्रमा सेन्टरमा ल्याउने खबर करिब साढे सात बजे थाहा पाए। त्यसपछि उनी पनि तुरुन्तै ट्रमा सेन्टर आइहाले। सर्जरीका लागि चिकित्सकको टिम जम्मा भयो।

हवाइजहाजमा काठमाडौंं ल्याइएका बालकलाई बेलुका साढे आठ बजे ट्रमा सेन्टरको आकस्मिक कक्षमा ल्याए आकस्मिक कक्षमा भर्ना गरियो। अस्पतालमा ल्याउँदा बालक होसमा नै भएको डा. दाहालले बताए।

बालकका बुवा नवीन मण्डल भारतमा मजदुरी काम गर्थे। त्यसैले उनी छोरालाई ट्रमा सेन्टरमा भर्ना गरेको २-३ दिनमा मात्र आइपुगे। नवीनका भाइले बालकलाई अस्पताल ल्याएका थिए।

बालकलाई ट्रमा सेन्टरमा ल्याउनु पूर्व नै हात जोड्ने शल्यक्रियाका लागि चिकित्सकको टिमले तयारी गरिसकेको थियो। बालकको काटिएको हातको फोटो बालकलाई ल्याउनु पूर्व नै  जनकपुरका चिकित्सकले ट्रमा सेन्टरमा पठाएका थिए। त्यही अनुसार बालकको हातको शल्यक्रियाका लागि ट्रमा सेन्टरका चिकित्सकको टिमले तयारी गरेको प्लास्टिक सर्जन डा. दाहालले सुनाए।

डा. दाहालले भने,‘बच्चा आउनुअघि नै तयारी गर्यौँ।’ हातको नसा जोड्ने विशेष किसिमको धागो लगायत शल्यक्रियाका लागि सबै व्यवस्थापन चिकित्सकहरू आफैँले गरे।

चिकित्सकको टिमले तुरुन्तै शल्यक्रिया गरी हात जोड्ने  चाँजो मिलायो। चिकित्सकको टिमले बेलुका साढे दश बजे  हात जोड्ने सर्जरीका लागि बालकलाई अप्रेसन थियटरमा लग्यो।
शल्यक्रियाको सम्पूर्ण तयारी भएपछि एनेस्थेसियोलोजिष्ट डा.रुपेश यादव नेतृत्वको टिमले बालकलाई शल्यक्रियाका लागि बेहोस बनाउने प्रक्रिया थाल्यो।

डा. यादवसहित बेहोस बनाउने टिममा एनेस्थेसियोलोष्टि डा. देवेन्द्र घिमिरे, डा. सुरेन्द्र महर्जन र डा. शरद खकुरेल थिए।

ऐनेस्थेसियाका चिकित्सकको टिमले बालकालाई बेहोस बनाएपछि प्लास्टिक सर्जन डा. दाहाल नेतृत्वको टिमले बालकको हात जोड्ने शल्यक्रिया थाल्यो।

बालको हात जोड्ने डा. दाहाल नेतृत्वको टिममा प्लास्टिक सर्जन डा. पशुपतिबाबु पोखरेल, डा. अपार लामिछाने, डा. नीरज महर्जन, डा. मनिष देवकोटा, डा. अजय ढकाल, डा. अनुराग थापा र डा. सुरेश ढकाल थिए।

शल्यक्रिया टिममा सुरेखा लावती, कविता राज्यलक्ष्मी लगायत नर्सिङ स्टाफको सहयोग थियो। सर्जनको टिम दुई भागमा बाँडियो। एउटा टिम चुँडिएको भागको हातको सरसफाइमा जुट्यो। चुँडिएको भागको नसा पत्ता लगायो। अर्को टिमले शरीरतर्फको काटिएको भागको चुँडिएको नसा पत्ता लगायो। दुवै पत्ता लगाइसकेपछि चिकित्सकको टिमले बालकको हात जोड्न थाल्यो।

केही नसा जोड्न नपुग्दा खुट्टाको रगतको नसा झिकेर समेत हात जोड्न थालियो। शल्यक्रियाको सुरुवातमा सबै चिकित्सकको टिम बालकको हात जोड्ने शल्यक्रियामा लाग्यो। केही घण्टापछि चिकित्सकहरूले दुई दुई घण्टा गर्दै पालो गर्दै शल्यक्रिया गरे। डा. पोखरेलले भने,‘पालैपालो दुई दुई घण्टा सुत्दै शल्यक्रिया गर्यौँ।’

चिकित्सकको टिमलाई एउटा डर भने छँदै थियो। त्यो डर हो,सानो बालकलाई लामो समय बेहोस बनाएर कसरी ब्युँताउने! लामो समय बेहोस बनाउनु चुनौती थियो। बच्चालाई ब्युँताउनु त्यतिकै चुनौती थियो।

एनेस्थेसियोलोष्टि डा. यादवले भने,‘सानो बच्चा भएकाले चुनौती थियो। रक्त सञ्चारको चुनौती त्यतिकै थियो।’

बच्चाको हरेक अङ्ग सानो हुने र रगतको नसा समेत सानो हुने भएकाले रगतको नसा जोड्न निक्कै चुनौती थियो। निरन्तर १५ घण्टाको प्रयासपछि चिकित्सकको टिमको अनुहार उज्यालो भयो। चिकित्सक निराश हुनु परेन।

चिकित्सकले जे चाहेका थिए त्यही भयो। शल्यक्रिया थालेको १५ घण्टापछि बालकको दुई टुक्रा भएको हात जोड्न चिकित्सकको टिम सफल भयो।

शल्यक्रिया सफल भएपछि बालकको होस खुल्यो। बालकको हात जोडियो। डा. दाहाल नेतृत्वको टिमले सानो बालकको दुई टुक्रा भएको हात जोडेको त्यो पहिलो केस हो।

प्लास्टिक सर्जन डा. दाहालको टिमका अनुसार सम्भवतः नेपालमा सानो (पाँच वर्षेको) बालकको दुई टुक्रा भएको हात जोडिएको पहिलो पटक हो।

हात जोड्ने शल्यक्रिया सफल भएपछि बालकलाई आइसियुमा राखियो। आइसियुमा करिब एक हप्ता राखिएपछि वार्डमा सारियो।
आइतबार अस्पताल पुग्दा हात जोडिएको छोरालाई च्यापेर बसेका नवीन मण्डलको अनुहार उज्यालो थियो।

उनले भने,‘डा. साबहरुले हात जोडिदिनुभयो। उहाँहरूलाई मुरीमुरी धन्यवाद।’
बुबाको काखमा बसेका बालक पनि चनाखो देखिन्थे। सञ्चारकर्मीले फोटो खिचेको देखेर बुवासँग बालक भन्दै थिए,‘कति धेरै फोटो खिचेको।’

चिकित्सकका अनुसार बालकको जोडिएको हातमा सङ्क्रमण (इन्फेक्सन) हुने सम्भावना छैन। उनको हात जोडिए पनि हड्डी पूर्ण रूपमा जोडिसकिएकाले केही दिन उनी अस्पतालमा नै बस्नुपर्ने हुन्छ।

शल्यक्रिया गरेको ६ हप्तासम्ममा हड्डी जोडिसक्ने डा. दाहालले जानकारी दिए। डा. दाहालले भने,‘घाउको हिसाबले पूर्ण रूपमा ठिक भयो। हड्डी जोडिनुपर्यो। कम्तीमा ६ हप्ता हामीले कुर्नुपर्यो।’

हातमा रड राखिएको छ। केही दिनमा रड निकालिने छ। बालकका जोडिएका हातका औँला अलिअलि चल्न थालेका छन्। तर, पूर्ण रूपमा हातका औँला चल्नका लागि केही समय फिँजियो थेरापी समेत गर्नुपर्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन्।
बालकको शल्यक्रियाका लागि पचास हजार भन्दा कमै खर्च लागेको डा. दाहालले बताए।

बालकको शल्यक्रियाको क्रममा लागेको खर्च छुटका लागि पहल भइरहेको ट्रमा सेन्टरका प्रमुख डा. प्रमोद जोशीले जानकारी दिए। 

२० चैत, २०७८, २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।