पाँच बेइमान चिकित्सक जो सरकारी संस्थाको नेतृत्वमा बसेर निजी अस्पतालमा काम गर्छन्

पाँच बेइमान चिकित्सक जो सरकारी संस्थाको नेतृत्वमा बसेर निजी अस्पतालमा काम गर्छन्

काठमाडौं : काठमाडौंको चाबहिलमा रहेको ‘हेल्पिङ ह्याण्डस सामुदायिक अस्पताल' मा उकेराकर्मी चैत ८ मा पुग्दा अस्पतालको भुईँतलाको कोठा नम्बर ‘६’ सँगै दायाँपट्टि भित्तामा चिकित्सकहरूको ‘नेमप्लेट’ देखियो।

नेमप्लेटमा लेखिएको थियो, ‘प्रा.डा. भूपेन्द्रकुमार बस्नेत। एनएमसी नं.२६६४। फिजिसियन तथा पेट–कलेजो रोग विशेषज्ञ।’

एनएमसी नम्बरका आधारमा खोज्दा उनी रहेछन्, युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी। जसको जिम्मेवारीमा सरकारको केन्द्रीय अस्पताल छ, उही सामुदायिक अस्पतालमा काम गरिरहेका रहेछन्।

उनी अस्पताल नियमित आउने कर्मचारीबाट जानकारी पाए पनि पुष्टिका लागि बिरामीको पुर्जी बनाइयो।

टिकट काटेको मितिः २०७८/१२/०८ गते बिहान १०:१३, टिकट फिः चार सय २५, बिरामीको नामः उपेन्द्र खड्का।

कर्मचारीले उनी बेलुका ६ बजेपछि उपलब्ध हुने जानकारी गराए। 

तोकिएको समयमा कोठा अगाडि पुग्दा भित्र उनै डा. बस्नेत बसिरहेका थिए बिरामी जाँचेर। आफ्नो पालोमा बस्नेत भएको कोठामा छिर्दा उनको मुहारको भाव केही बदलियो।

'के भएर आउनुभयो?,' उनले पुर्जी हेर्दै सोधे।

'पेट दुख्निरहेको छ डाक्टरसा'प। खाना पनि पच्दैन' भनेपछि उनले स्वास्थ्य जाँच सुरु गरे।

परामर्श दिँदै उनले पुर्जामा केही औषधि लगायतको प्रेस्क्रिप्सन लेखिदिए।

०००
सरकारी अस्पतालमा कार्यरत चिकित्सक निजीमा जाँदा सरकारी सेवा नै प्रभावित भइरहेको दृश्य नौलो हैन। तर सरकारी अस्पतालको नेतृत्व नै गरिरहेका व्यक्ति अन्यत्र बिरामी हेर्न जानु नौलो मात्रै हैन, कारबाहीयोग्य पक्ष हो।

स्वास्थ्य मन्त्रालयले गरेको निर्णय अनुसार सरकारी अस्पतालको नेतृत्वमा रहेका चिकित्सक निजी वा सामुदायिकमा काम गर्नै पाउँदैनन्।

गगन थापा स्वास्थ्य मन्त्री भएको बेला मन्त्रीस्तरीय भएको निर्णय यही हो। सबै सरकारी चिकित्सकलाई अन्य अस्पतालमा काम गर्न रोक्ने गरी निर्णय भए पनि तत्काल सबैको हकमा लागू गर्न कठिन हुने देखेपछि निर्णयको प्रारम्भ नेतृत्व तहमा रहेका चिकित्सकबाट सुरु भएको थियो। 

तर, त्यो निर्णयको अवस्था के छ, डा. बस्नेतबाटै पुष्टि भयो। 

'सरकारी चिकित्सक निजीमा अन्य अस्पतालमा अभ्यास गर्न जाँदा सरकारी अस्पतालमा जँचाउन आउने सर्वसाधारण मर्कामा परेको देखिएपछि बरु सेवा बढाउने तर निजीमा अभ्यास गर्न जान नपाउने निर्णय मैले नै गरेको हो,' पूर्व स्वास्थ्य मन्त्री थापाले भने, 'सबै सरकारी चिकित्सकको हकमा तत्काल यो लागू गर्न गाह्रो भएपछि प्रारम्भमा अस्पतालका निर्देशकले काम गर्न नपाउने निर्णय भएको थियो।'

थापाको दावी स्वास्थ्य मन्त्रालयले २०७७ साउन १२ मा गरेको पत्राचारले पनि पुष्टि गर्छ। स्वास्थ्य मन्त्रालयले साउन १२ मा स्वास्थ्य मन्त्रालय,   सामाजिक विकास मन्त्रालय र स्थानीय तह अन्तर्गतका सबै निकायमा परिपत्र गरेको थियो।

उकेराले प्राप्त गरेको सो परिपत्रमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रमको बुँदा नं. ३४ मा एक चिकित्सक, एक स्वास्थ्य संस्थाको व्यवस्था सुरु गरिने उल्लेख छ।

परिपत्रमा सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी एक मात्र स्वास्थ्य संस्थामा रहने एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्थाको अवधारणालाई सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्रमश: 'लागू गरिने' उल्लेख छ।

संस्था प्रमुखको निरन्तर निगरानीमा संस्थाहरूको कार्य सम्पादनमा व्यापक सुधार हुनेदेखि देहाय अनुसारको कार्य गर्न गराउन नेपाल सरकार  मन्त्रीस्तरको मिति २०७७/४/९ को निर्णयानुसार भन्दै दुई बुँदे निर्णय उल्लेख छ।

पहिलो बुँदामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरू (विभाग, केन्द्र, महाशाखा, परिषद, प्रतिष्ठान तथा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्ने, यसभन्दा अगाडि निजी प्राक्टिस गर्न पूर्वस्वीकृति लिएको भए सो स्वीकृति स्वतः खारेज हुने उल्लेख छ।

दोस्रो बुँदामा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालहरूमा लेख्न नपाइने उल्लेख छ।

उपकुलपति डा. साह भिगोर क्लिनिकमा
उकेराको निगरानीमा बस्नेत मात्रै हैन, सरकारी अस्पतालको नेतृत्वमा रहेका धेरै चिकित्सकहरुले मन्त्रालयको निर्देशन उल्लंघन गरेको देखियो। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. देवनारायण साह (डिएन साह) को नाम महाराजगञ्जस्थित ‘भिगोर सुपरस्पेसियालिटी क्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर’ को फेसबुक पेजमा भेटियो। 

त्यहाँ उनको एनएमसी नम्बर ‘६२८’ समेत राखिएको छ। उनी आँखा रोग (अप्थाल्मोलाजी) विशेषज्ञ हुन्। भिगोरमा सम्पर्क गर्दा क्लिनिककी कर्मचारीले कोभिड–१९ पछि भने डा. साहले टिकट काटेर बिरामी जाँच्ने नगरेको जानकारी दिइन्। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. देवनारायण साह (डिएन साह) को नाम महाराजगञ्जस्थित ‘भिगोर सुपरस्पेसियालिटी क्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर’ को फेसबुक पेजमा भेटियो। 

'क्लिनिकमा डिएन साहको पालो कतिखेर पर्छ?' भन्ने जिज्ञासामा ती कर्मचारीले भनिन्, ‘उहाँले अहिले बिरामी चाहिँ हेर्नुभएको छैन। कहिलेकाहीँ आफैंले लिएर आउनुभएको हुन्छ। हामीलाई (बिरामी) राख्नु भनेर भन्नुभएको छैन।’

ती कर्मचारीले थपिन्, ‘लकडाउन भएदेखि बस्नु नै भएको छैन।’

तर, वैशाखपछि भने डा. साहले क्लिनिकमा नियमित बिरामी हेर्ने जानकारी पाएको ती कर्मचारीले बताइन्। ‘वैशाखदेखि बस्ने कुरा छ। खै त्यो चाहिँ हामीलाई पनि थाहा भएन कहिलेबाट बस्नु हुन्छ’, उनले भनिन्।

प्रतिष्ठानको वरियता क्रममा कुलपति (प्रधानमन्त्री) र सहकुलपति (स्वास्थ्यमन्त्री) पछि उपकुलपति (भिसी) डा. साह तेस्रोमा पर्छन्। 

रेक्टर डा. सुबोध ब्लु क्रस अस्पतालमा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा. सुबोधकुमार अधिकारी त्रिपुरेश्वरमा रहेको ‘ब्लु क्रस’ अस्पतालमा पनि बिरामी हेर्छन्। ब्लु क्रस अस्पतालको वेबसाइटमा रहेको डाक्टर टिममा उनको नाम छ। 

उनको परिचयमा लेखिएको छ, ‘एमबिबिएस, एमएस जेनेरल सर्जरी। प्रोफेसर एण्ड सिनियर कन्सल्टेण्ट सर्जन। ग्याष्ट्रोइन्टेष्टिनल एण्ड ल्यापरोष्सकोपिक सर्जरी युनिट–वीर अस्पताल।’ 

अस्पतालको बेबसाइटमा उनको एनएमसी नम्बर ‘१०९५’ उल्लेख छ।

रेक्टर डा. अधिकारी ब्लु क्रसमा दैनिक पुग्ने गरेको अस्पतालका एक कर्मचारीले बताए। ती कर्मचारीले भने, ‘डा. सुबोध अधिकारी साढे चार बजे दैनिक आउनुहुन्छ। शनिबारबाहेक अरू सबै दिन उहाँ आउनुहुन्छ। आजको लागि उहाँको सेड्युल प्याक भइसकेको छ। बिरामी धेरै भइसके।’ 

प्रतिष्ठानको वरियता क्रमअनुसार कुलपति (प्रधानमन्त्री), सहकुलपति (स्वास्थ्य मन्त्री), उपकुलपति (भिसी)पछि शिक्षाध्यक्ष (रेक्टर) डा. अधिकारी चौथो वरियतामा पर्छन्। 

रेक्टर अधिकारीसँग यस विषयमा जिज्ञासा राख्दा उनले आफू पाँच बजेपछि ब्लु क्रस अस्पतालमा बिरामीको जाँच तथा उपचारका लागि जाने गरेको स्वीकारे।

अस्पताल प्रमुख र प्रतिष्ठान प्रमुख (उपकुलपति) ले मात्रै आफू कार्यरत संस्थाबाहेक अन्य ठाउँमा काम गर्न नपाउने उनले तर्क गरे। 

अधिकारीले भने, ‘सरकारको निर्देशन अस्पताल प्रमुख, प्रतिष्ठान प्रमुखले चाहिँ अन्यत्र काम गर्न नपाउने भन्ने छ। प्रमुखलाई हो, अरूको लागि छैन।' 

प्रतिष्ठानको अस्पतालमा बिरामी जाँच नगर्ने गरेकाले ब्लु क्रसमा आउने गरेको उनको तर्क थियो। उनले भने, ‘न्याम्समा म क्लिनिकल काम गर्ने हैन। प्रशासनिक काम मात्रै गर्ने हो।’

आफू चिकित्सक भएकाले सरकारले पहिले पनि निजी अस्पतालमा काम गर्ने अनुमति दिँदै आएको उनले तर्क गरे। 

‘हाम्रो ब्याकग्राउण्ड भनेको त हामी चिकित्सक हो नि हैन। सरकारले पहिले पनि प्राक्टिस गर्न अनुमति दिएकै हो’, उनले भने, ‘म रेक्टर हुनभन्दा अगाडि सरकारले प्राक्टिस गर्न लेखेर दिएको छ, तपाईंले गर्न पाउने भनेर। त्यस्तो दिएकै हुन्छ।’

प्रतिष्ठानमा रेक्टरको भूमिका शैक्षिक कार्यक्रम हेर्ने रहेको र स्वास्थ्य जाँच गर्ने नभएको उनले बताए।

डिन डा. दाहाल चिरायुमा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै डिन प्राध्यापक डा. पियुष दाहाल पनि निजी अस्पताल काम गर्छन्। उनको पनि नाम ब्लु क्रस अस्पतालको डाक्टरको टिममा छ।

गत बुधबार ब्लु क्रस अस्पतालमा सम्पर्क गर्दा आज दाहाल आउन नभ्याउने भन्दै कर्मचारीले ‘चिरायु अस्पताल’मा सम्पर्क गर्नुपर्ने बताए। लगत्तै उकेराकर्मीले बसुन्धरास्थित चिरायु अस्पतालमा सम्पर्क गर्दा चिरायुका कर्मचारीले फोन उठाउँदै डा. दाहाललाई भेट्न बिहान १० बजे फोन गर्नुपर्ने बताए। 

ती कर्मचारीले डा. दाहाल बेलुका साढे पाँच बजेपछि चिरायुमा बस्ने र उनी दैनिक चिरायुमा आउने बताए।

उकेराकर्मीसँग पनि दाहालले आफू साढे पाँच बजेपछि चिरायुमा काम गर्ने गरेको स्वीकारे। उनले नेपाल सरकारले तोकेको सरकारी कार्यालय समयपछि मात्रै निजी अस्पतालमा काम गर्ने गरेको दावी गरे।

डा. दाहालले भने, ‘मैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यालय समयबाहिर काम गर्न पाउने जुन अनुमति छ, त्यो लिएर नै काम गरेको हो।’ 

डा. दाहाल प्लाष्टिक सर्जन हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको वरियता क्रममा कुलपति (प्रधानमन्त्री), सहकुलपति (स्वास्थ्य मन्त्री), उपकुलपति (भिसी), शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारपछि डिन हुन्छ। 

उनी प्रतिष्ठानको छैठौं वरियातामा पर्छन्। प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको योजना बनाउने तथा लागू गर्ने लगायत उनको मुख्य भूमिका हो। उनी राष्ट्रिय ट्रमा सेन्टरमा समेत काम गर्छन्।

सिभिल अस्पतालका निर्देशकको आफ्नै निजी अस्पताल
निजीमा बिरामी जाँच्ने मात्रै हैन, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलको लगानी काठमाडौँको गोङ्गबुस्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’ मा रहेको उनैले पुष्टि गरेका थिए।

उनले स्वास्थ्य मन्त्रालयले गरेको निर्णय मात्रै हैन, ‘निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७’ को समेत उल्लंघन गरेका छन्।

उनी काठमाडौँको विनायक र कैलालीको धनगढीमा रहेको ‘कैलाली अस्पताल’मा समेत काम गर्ने गरेको देखिएपछि उनीसँग जिज्ञासा राख्दा आफैंले विनायकमा त आफ्नो सेयर नै रहेको खुलाएका थिए।

उनले उकेरासँग भनेका थिए, ‘यो (विनियमावली) संशोधन गर्नुपर्छ। किनकी, यो संस्थाले मात्रै मलाई बाँधेर राख्ने हैन। नेपालको ऐन-कानुनमा के लेखेको छैन?’

थपियो सुविधा तर छाडेनन् निजीमा जान
सरकारले अस्पतालको निर्देशकका लागि मात्रै हैन एक चिकित्सक एक स्वास्थ्यकर्मी कार्यक्रम लागू भएका अस्पतालका चिकित्सकको सुविधा समेत बढायो।

निर्देशकको हकमा भत्ता, आवास र सवारी साधनको सुविधा थपेको थियो। एक चिकित्सक–स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ नै बनाएर सुविधा बढाइएको छ।

कार्यक्रम लागू भएका अस्पतालमा कार्यरत चिकित्सकले कार्यसम्पादनका आधारमा शतप्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराइने उल्लेख गरियो।

विस्तारित स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकलाई संस्थाले ८० प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य बिमा, क्षमता अभिवृद्धि तालिम लगायतमा वार्षिक एक लाखदेखि १० लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने राखियो।

कार्यविधीमा मिनिमम सर्भिस स्ट्यान्डर्ड (एमएसएस)को अवधारणा राख्दै स्कोर ८० प्रतिशत वा सोभन्दा माथि भएमा वा पछिल्लो स्कोरमा २५ प्रतिशत बढी आएमा सत्प्रतिशत भत्ता पाउने, एमएसएस स्कोर ६० देखि ८० प्रतिशत भएमा वा पछिल्लो स्कोरमा २० प्रतिशत बढी आएमा ७५ प्रतिशत भत्ता, एमएसएस स्कोर ४० देखि ६० प्रतिशत भएमा वा पछिल्लो स्कोरमा १५ प्रतिशत बढी आएमा ५० प्रतिशत भत्ता र एमएसएस स्कोर ४० प्रतिशतभन्दा कम आएमा २५ प्रतिशत भत्ता पाउने उल्लेख छ।

चिकित्सकको बदमासी
निर्देशक लगायतका सरकारी स्वास्थ्य संरचनाको नेतृत्वमा पनि बस्ने अनि निजी अस्पतालमा पनि बिरामी परीक्षण गर्नु भनेको बदमासी भएको तर्क गर्छन् पूर्व स्वास्थ्य मन्त्री थापा।

सबै सरकारी चिकित्सकको हकमा एकै पटक लागू गर्न गाह्रो हुनसक्ने भनेर नै कमसेकम नेतृत्व तहमा रहेकाहरुबाट सुरु गर्दै अन्य तहमा समेत कार्यान्वयन गर्ने रणनीति अनुसार सो निर्णय भएको उनले बताए।

'अस्पतालको निर्देशक भनेको चिकित्सकझैँ निश्चित समय अस्पतालमा बस्ने जिम्मेवारी मात्र हैन, उनको प्रशासनिक जिम्मेवारी पनि हुन्छ,' थापाले भने, 'जसले सरकारी संस्थाको सेवादेखि लिएर प्रशासनसम्ममा सुधार गर्ने जिम्मेवारी लिएको हुन्छ, उही नै निजीमा अभ्यास गर्न गएपछि कसरी जिम्मेवारी सम्हाल्छन्?'

उनले थप सुविधा पनि लिने अनि निजीमा अभ्यास पनि गर्नु बदमासी भएको बताए।

'निजीमा काम गर्न नपाउनु सजाय दिएजस्तै' 
डा. लोचन कार्की, अध्यक्ष, नेपाल चिकित्सक संघ

अस्पताल प्रमुखले निजी अस्पताल तथा क्लिनिकमा काम गर्न नपाउने निर्णय राम्रो हो। तर अहिलेको अवस्थामा अव्यावहारिक देखिन्छ। 

अस्पताल प्रमुख भएर तँ टेन्सन पनि ली, आयु पनि घटा अनि तैंले गरिरहेको क्लिनिकल प्राक्टिस पनि बन्द गर भनेको त सजाय दिन खोजेको जस्तो भयो।

अस्पताल प्रमुखलाई सुविधा पनि नदिने अनि निजीमा पनि काम गर्न नदिने हो भने अस्पताल प्रमुख बन्न नचाहने अनि घुस खाने बाध्यात्मक अवस्था मात्र निम्याउँछ।

अस्पताल प्रमुख भइरहेको मान्छेले दुई नम्बरी काम गर्न बाध्य होला। घुसु खानुपर्ला। सामान किन्दा पैसा खानुपर्ला। इन्डाइरेक्टली करप्सनतिर ढकल्न खोजेको हो कि। यो अलि क्लियर भएन। 

त्यसैले अस्पताल प्रमुखले निर्धक्क परिवार हेर्न सक्ने वातावरण बनाउनुपर्छ। अस्पताल प्रमुखले प्राइभेट प्राक्टिस नगरेको राम्रो हो तर बाध्यात्मक भएरै त गरेको होला।

अस्पताल प्रमुखलाई प्राक्टिस गर्न नपाउने, नन प्राक्टिसिङ अलाउन्स पाउने हो भने कुरा मिल्छ। हैन भने त्यो मान्छे त मर्छ। 

प्राइभेट प्राक्टिस गर्नु अस्पताल प्रमुखले ठिक हैन। तर त्यो गर्नका लागि नन् प्राक्टिसिङ अलाउन्स देऊ भनेको मात्रै हो।

बिरामी पनि जाँच्न नपाउने भए उनको बिरामी जाँच्ने (प्राक्टिस) गर्ने अभ्यास नै हराएर जान सक्छ। एक्टेण्डेन्ट सर्भिस भनेर अस्पताल भित्रै पेइङ क्लिनिक चलाउने व्यवस्था मिलाउनुपर्यो कि। पेइङ क्लिनिक चलाउन सके डाक्टरले पनि अन्य अस्पताल जानु परेन। बिरामीले पनि त्यही अस्पतालमा सेवा पाए।

१८ चैत, २०७८, १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।