पहिला बलात्कारको जाहेरी दिएर अदालतमा बयान बदल्दा १९ वर्षकी किशोरीलाई जेल

पहिला बलात्कारको जाहेरी दिएर अदालतमा बयान बदल्दा १९ वर्षकी किशोरीलाई जेल

काठमाडौँ : सहमतिमा भएको यौन सम्बन्धलाई रिसमा बलात्कार भनेर झुटो बोलेको भन्दै अछाम जिल्ला अदालतले १९ वर्षिया किशोरीलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ।

विवाहका लागि घरमा आएको केटासँग बेलुका सहमतिमा यौन सम्बन्ध राखेको तर पछि केटाले उमेर पुगेपछि विवाह गर्छु भनेपछि बिहे नगर्ने भो भनेर रिसले बलात्कारको आरोप लगाएको देखिएको भन्दै अदालतले उल्टो पीडित भनिएकी किशोरीलाई नै जेल सजाय तोकेको हो।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा मुनिकोसँग सहमतिमै सम्बन्ध राखे पनि बलात्कार ठहर्छ। तर १८ वर्ष माथिको हकमा सहमतिमा हुने सम्बन्धलाई बलात्कार मान्दैन।

पीडित भनिएकी किशोरीको विद्यालयको रेकर्ड अनुसार जन्म मिति  २०५९।१०। ५ रहेको देखिएको छ। घटना भएको मिति २०७८।१०।१५ देखिन्छ। घटनाको बेला पीडित भनिएकी किशोरी १९ वर्ष देखिएपछि अदालतले सहमतिमा हो या जवर्जस्ती भन्ने पक्ष हेरेको देखिन्छ।

केटा विवाहको प्रस्ताव बोकेर केटीको घरमा गएको र खाना खाएपछि सुत्न गएकोमा दुवै पक्षको बयान मिलेको देखिन्छ। केटी बहिनीसँग खाटमा सुतेको र केटा सोही कोठामा भुईँमा सुतेको बयान पनि मिलेको छ।

जाहेरीमा बहिनी निदाएपछि प्रतिवादीले खाटबाट तल तानी  इन्कार गर्दा कपडा  जबरजस्ती खोलेर मेरी इच्छा विपरीत जबरजस्ती करणी गरेको उल्लेख थियो।

केटाले बयानमा राती सुतेपछि कुरा गरेर बसेको, बहिनी निदाएपछि सँगै सुत्न वोलाएपछि केटी आएको र सहमतिमा सम्बन्ध भएको उल्लेख गरेका छन्।

स्वास्थ्य परीक्षणमा केटीको शरीर तथा यौनाङ्गमा कुनै पनि घाउ चोटपटक नरहेको तथा योनिद्वाराको झिल्ली च्यातिएको जुन हालसालै च्यातिएको नभए तापनि यौन सम्पर्क भएको हुन सक्ने भन्नेसमेत बेहोराको जिल्ला अस्पताल अछामको पीडितको विस्तृत शारीरिक परीक्षण प्रतिवेदन आएको देखिन्छ।

अदालतमा पुगेपछि भने उनको बयान बदलियो। बेलुका सहमतीयै सम्बन्ध भएको पछि विवाहको कुरा गर्दा केटाले मेरो घरमा अहिले जुठो परेको छ, उमेर पुगेपछि विवाह गरौला भनेपछि निज विवाह गर्दैन होला भन्ने सोचेर रिसमा बलात्कारको जाहेरी दिएको बताइन्।

एकै कोठामा सुतेकी बहिनीले प्रहरीमा ममी भनेर बोलाएको सुनेको दाबी गरेकी थिइन्। तर अदालतमा सो झुटो भएको बताइन्। अन्य साक्षीको बयान पनि बदलियो।

न्यायाधीश नवीनकुमार जोशीले किशोरीको उमेर १८ वर्षमाथि रहेको, सहमतिमा करणी भएको बेहोरा पीडितले नै बकपत्र गरेको र रिसले जाहेरी दिएको बेहोरा खुलाएको अवस्था देखिएको भन्दै झुट्टो बेहोराले जाहेरी लगायतको कागज गरी झुट्टा मुद्दामा फसाउन खोजेको तथ्य स्थापित भएको ठहर गर्यो।

अदालतले प्रतिवादीलाई सफाईदिँदै झुट्टा मुद्दामा फसाउने प्रयत्न गरे बापतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४
अनुसार ३ वर्ष ६ महिना कैद सुनाएको थियो।

फसाएको कि होस्टायल बनाएको ?

फैसलामा उल्लेख भएको पीडित भनिएकी किशोरी र उनको बहिनीको बयान पुरै बदलिएको देखिन्छ। किशोरीले प्रारम्भमा खाटमा पल्टिएर गफ गरिरहेको बेलामा एक्कासि भुईँमा तानेर जवर्जस्ती गरेको उल्लेख छ। अदालतमा बकपत्र गर्दा आफ्नै सहमतिमा भएको उल्लेख छ।

बहिनीले प्रहरी बयानमा बेलुका दिदीले ममी ममी भनेपछि आफू ब्युँझिएको र हेर्दा दिदी खाटमा नभई तल भुईँमा भएको, रुँदै गरेको देखेपछि केटाले जवर्जस्ती भुईँमा तानेर करणी गरेको बताएको उल्लेख छ।

तर अदालतको वकपत्रमा दुवै कुरा गरिरहेको बेलामा आफू निदाएको र केही चाल नपाएको दाबी गर्दै ममी भनेर रोइरहेको नबताएको उल्लेख छ।

नेपालको कानुनमा पीडितको संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि संरक्षण गर्ने पद्धति नहुँदा बलात्कार लगायतका अपराधमा पीडित पिडकबाट होस्टायलमा परेर अदालतमा बयान फेर्ने गरेको पनि देखिन्छ। फेैसलामा त्यता केन्द्रित विवेचना देखिएन। सर्वोच्च अदालतले केही केसमा बयान बदलिनु मात्र घटना हैन भन्ने प्रमाण हैन भन्ने नजिर बनाएको छ। त्यसतर्फ पनि फेैसलाको विवेचना देखिन्न। 

चैत १६, २०७८ बुधबार २३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।