गन्धर्वहरूको पीडा: दिनमा सय रुपैयाँ पनि उठ्दैन, सचेतना जगाउने काम दिन सरकारलाई अनुरोध

गन्धर्वहरूको पीडा: दिनमा सय रुपैयाँ पनि उठ्दैन, सचेतना जगाउने काम दिन सरकारलाई अनुरोध

सुर्खेतः ९ वर्षको उमेरदेखि सारङ्गी बजाउँथे गुर्भाकोट नगरपालिका–७ का टेकबहादुर गन्धर्व। अहिले उनी ७७ वर्षका भए। सारङ्गी बजाउन अझै छोडेका छैनन्। 

कुनै समय उनले सारङ्गी बजाएरै परिवार पालेका थिए। अहिले भने दैनिकी चलाउन पनि हम्मे–हम्मे भएको छ। गाउँघरमा आधुनिक मनोरञ्जनका सामग्री भित्रिएसँगै टेकबहादुर जस्ता गन्धर्व समुदायलाई ज्यान र जहान पाल्न निकै सकस हुने गरेको छ।

अरू त अरू सारङ्गी बजाएर गीत गाए पनि आफ्नो मिहिनेत अनुसारको ज्याला पाउन गाह्रो छ।

गोरेले १२ वर्षको उमेरदेखि नै सारङ्गी बजाउन सिके। ५३ वर्षदेखि सारङ्गी बजाएरै जीवन चलाएका गोरेसँग आफू बसेको घरबाहेक केही छैन। त्यसको पनि लालपुर्जा छैन। 

‘पहिला–पहिला हामी सारङ्गी रेटेर गीत गाउँदै बालबच्चा पाल्थ्यौं। अहिलेको आधुनिकताले हाम्रो पेशा संकटमा पर्यो’, टेक बहादुरले भने, ‘अहिले हामीले दिनभर गाए पनि एक पाथी चामल र सय रुपैयाँ उठ्दैन अनि कसरी पाल्नु जहान केटाकेटी?’

गन्धर्व समुदायको कला र संकृतिलाई बचाउनुपर्छ भनेर टेकबहादुर कै  नेतृत्त्वमा गन्धर्व विकास कला तथा संस्कृति संरक्षण समिति गठन गरिएको छ। 

तर, दलित समुदायभित्रको पनि पिछडिएको गन्धर्व समुदायलक्षित कार्यक्रम राज्यले नल्याउँदा आफूहरू संकटमा परेको उनको भनाइ छ। 

यो पेशाप्रति गन्धर्व समुदायको युवाहरूको पनि रुचि नभएको समितिका सचिव रञ्जित गन्धर्वले बताए। ‘यो हाम्रो पेशाप्रति युवा पुस्ताहरूको रुचि पनि छैन। काम अनुसारको ज्याला र कमाइ नहुँदा उनीहरू यो पेशामा लाग्न चाहँदैनन्,’उनले भने, ‘यदि सरकारले यसको संरक्षणमा चासो देखाएर विशेष कार्यक्रमहरू ल्याए यो संस्कृति जोगिने थियो।’

गन्धर्व समुदायका युवाहरूलाई तालिम दिएर यो पेशा लोप हुन नदिन उनले सरकारलाई अनुरोध गरे।

सारङ्गी बजाएर गीत गाउँदै हिँड्दा घरपरिवार चलाउन नसकेपछि धेरै गन्धर्वले अहिले सारङ्गी थन्काएर दैनिक मजदूरी, होटेल तथा कालापहाड जाने गरेको उनको भनाइ छ।

खेती लगाउने जग्गा छैन, घरबास पनि ऐलानी
वीरेन्द्रनगर- ३ का गोरे गन्धर्व ६६ वर्षका भए। उनको दिन वीरेन्द्रनगरका बजार र बस्तीमा गई सारङ्गी बजाएर बित्छ।

परिवार सारङ्गीले नै पालेका छन्। उनका पुर्खाले पनि सारङ्गी रेटेरै घर चलाएका थिए। बुवाको पछिपछि लागेर झोला बोकेर उनी पनि गाउँ जान्थे। 

गोरेले १२ वर्षको उमेरदेखि नै सारङ्गी बजाउन सिके। ५३ वर्षदेखि सारङ्गी बजाएरै जीवन चलाएका गोरेसँग आफू बसेको घरबाहेक केही छैन। त्यसको पनि लालपुर्जा छैन। 

‘सानै उमेरमा नै बुवाको पछि झोला बोकेर जान्थेँ, बुवाले बजाएको देखेर मैले पनि १२ वर्षको उमेरदेखि सारङ्गी बजाउन सुरु गरेँ,’ गोरेले भने, ‘अहिले केही लगाउँ भने पनि जमीन छैन, थोरै घरबास छ त्यसैको पनि पुर्जा छैन।’

पहिला-पहिला दिनभर गाउँभरि डुल्दा ८—१० पाथी धान, मकै, कोदो हुने गरेकोमा अहिले गाउँभरि डुल्दा २-३ सय रुपैयाँ पनि मुस्किलले हुने गरेको उनको दुखेसो छ।

गन्धर्व समुदायलले लोक संस्कृति र गन्धर्व सभ्यताको संरक्षण एवं विकासका लागि चार महिने गन्धर्व संगीत प्रशिक्षणको प्रस्तावना पनि मुख्यमन्त्री शाहीलाई बुझाएका छन्।

उनी मात्रै होइन् सुर्खेतका सबै गन्धर्व समुदायसँग पर्याप्त जमीन छैन, भएका घरजग्गाका पनि लालपुर्जा छैनन्।

सचेतना सम्बन्धी कार्यक्रम दिन सरकारलाई अनुरोध
गन्धर्व समुदायले आफूहरूको पेशा लोप हुन नदिन कर्णाली प्रदेश सरकारसँग जनचेतनामूलक कार्यक्रमहरू प्रदान गर्न अनुरोध गरेका छन्।

उनीहरूले गन्धर्व समुदायलाई बालविवाह, बहुविवाह, महिला हिंसा, आगलागी, वैदेशिक रोजगार, स्थानीय पञ्जीकरण जस्ता घटनाका विषयमा जनचेतनामूलक कार्यक्रम सरकारले दिए जनताको घरदैलोमा गएर सचेतना फैलाउने योजना सरकारलाई सुनाएका छन्।

‘हामी नागरिकहरूलाई विभिन्न प्रकारका घटनाबारे घर दैलोमा गएर सचेतना फैलाउँछौं। यो विषयमा सरकारले हामीलाई कार्यक्रमहरू दिन पर्यो’,कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेट्दै अध्यक्ष टेकबहादुर गन्धर्वले भने, ‘यसो गर्दा हाम्रो जीविका र पेशा पनि चल्छ, नागरिकलाई सचेतना पनि हुन्छ।' 

माग पत्र बुझ्दै मुख्यमन्त्री शाहीले कला संस्कृतिको पहिचान र त्यसको जगेर्नाका लागि प्रदेश सरकार तयार रहेको बताएका छन्।

उनले लोपोन्मुख समुदायको संरक्षणका लागि प्रदेश सरकारले विधेयक नै बनाएर अगाडि बढेको बताउँदै नयाँ आर्थिक वर्षको बजेटमा गन्धर्व समुदायको पेशागत संरक्षणका लागि नीति तथा कार्यक्रममा योजना समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यस्तै गन्धर्व समुदायलले लोक संस्कृति र गन्धर्व सभ्यताको संरक्षण एवं विकासका लागि चार महिने गन्धर्व संगीत प्रशिक्षणको प्रस्तावना पनि मुख्यमन्त्री शाहीलाई बुझाएका छन्।

१२ चैत, २०७८, ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।