विद्यार्थीले परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसअगाडि आगजनी र प्रदर्शन 

विद्यार्थीले परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसअगाडि आगजनी र प्रदर्शन 

इटहरीः अनलाइन फारम भरेका सात जना विद्यार्थीले परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानमा आन्दोलन भएको छ। अनलाइनमार्फत फारम भरेर परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले प्रवेशपत्र नपाएपछि बिहीबार आन्दोलन भएको हो।

इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेशपत्र नपाएको बताएको छ। यता आईओईको केन्द्रीय कार्यालयसम्म पुगेर ध्यानाकर्षण गराउँदा समेत माग सुनुवाइ नभएपछि बिहीबारबाट क्याम्पसअगाडि विद्यार्थी संगठनहरूको समेत उपस्थितिमा आगजनी र प्रदर्शन भएको हो। 

पाँच दलीय विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरी कुर्सी समेत जलाएका छन्। विद्यार्थीको माग सुनुवाइ नभए झनै आन्दोलन चर्काउने उनीहरूले चेतावनी दिएका छन्।

मेकानिकल इञ्जिनियरिङ पहिलो वर्षका विद्यार्थी तेजबहादुर खत्रीका अनुसार यो वर्ष परीक्षा दिन नपाएका विद्यार्थीले आगामी वर्ष परीक्षा दिन पाउने निश्चित छैन। आईओईले अर्को वर्ष सिट खाली भए मात्र परीक्षा दिन पाउने भनेपछि उनीहरू झनै समस्यामा परेका हुन्। 

क्याम्पसले फारम स्वीकार भए नभएको विद्यार्थीको सूचना समेत प्रकाशित नगरेको भन्दै विद्यार्थीहरू आक्रोशित भएका हुन्। आईओईले लापरबाही गरेर विद्यार्थीको भविष्यमा खेलबाड गरेको आन्दोलनरत विद्यार्थी प्रभास गौतमले बताए। यसपटक नै जरिवाना लिएर भए पनि विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने उनको भनाइ छ।

उता क्याम्पस प्रमुख ओमप्रकाश ढकाल अनलाइनबाट फारम भरेका विद्यार्थीले परीक्षा दिन नपाउनु समस्या भएको बताए। अनलाइनका प्राविधिक कारणले यो समस्या देखिएको उनले बताए।

आफूले समस्याका विषयमा डिन कार्यलयमा जानकारी गराएको र सकरात्मक प्रतिकृया पाएकाले विद्यार्थीको माग सुनुवाइ हुनसक्ने उनले प्रष्ट पारे। 

११ चैत, २०७८, ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।