जावलाखेलको आँगनमा फूलै-फूलको बहार [फोटो-फिचर]

जावलाखेलको आँगनमा फूलै-फूलको बहार [फोटो-फिचर]

काठमाडौं : वसन्त ऋतु। फूलै-फूलको मौसम। यो मौसममा बिरुवाले पालुवा फेर्नुका साथै रंगचंगी फूल फुल्छन्।

फूलै-फूलको यो मौसममा जावलाखेलमा पुष्पमेला सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘२३औं फ्लोरा एक्सपो-२०७८’ सुरु भएको हो। बिहीबारबाट सुरु भएको मेला १३ गतेसम्म चार दिन चल्नेछ।

मेलाको आकर्षणका रुपमा मौसमी लगायत विभिन्न किसिमका फूल रहेका छन्। आलंकारिक बिरुवा तथा विभिन्न किसिमका फलफूलका बिरुवा, बिरुवालाई आवश्यक हुने मल तथा औजार लगायत छन्। 

मेलामा कार्नेसन, जरबेरा लगायतका कटफ्लावर राखिएको थियो। मेलामा बगनबेली, कार्नेसन, राइनोक्लस, जेरानियम, पिटुनिया, अर्किट, डेलिया (लाहुरेफूल), एजेलिया, साइक्लामेन लगायतका फुल्ने फूलको आकर्षण छ।  

त्यसैगरी मनिप्लान्ट, एरिका लगायतका सानो गमलामा रोपेर सजाउन सकिने समेत सजावटका बिरुवा छन्। तर पहिलेका वर्षहरुको जस्तो धेरै आकर्षण फूल लगायतका बिरुवा भने यसपालिको मेलामा देखिएन।

मेलाको आयोजना प्यानले गरेको हो। पुष्प विकास केन्द्रको सह-आयोजना, बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषी विभागको सहयोगमा मेलाको आयोजना भएको फ्यानले जनाएको छ।

मेलामा ९ विधामा उत्कृष्ट प्रतियोगी नर्सरी व्यवसायी पुरस्कृत समेत भएको फ्यानले जानकारी दिएको छ। मिलन नर्सरी उत्कृष्ट मौसमी फूल फुलाउने नर्सरीका रुपमा पुरस्कृत भएको छ भने अल ट्रपिकल प्लान्ट हाउस उत्कृष्ट आलंकारी बिरुवामा पुरस्कृत भएको छ।

त्यसैगरी सृजना फ्लावर नर्सरीले उत्कृष्ट फुल्ने बिरुवा, न्यु सन फ्लावर नर्सरीले उत्कृष्ट स्टल, न्यु फ्लोरिष्टले उत्कृष्ट पुष्प सजावट पुरस्कृत भएका छन्। 

त्यसैगरी एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्मले उत्कृष्ट कट फ्लावर (रोज) र उत्कृष्ट कट फ्लावर (जरबेरा)को पुरस्कार पाएको छ। त्यसैगरी द एभरेष्ट फ्लावर उत्कृष्ट कट फ्लावर (कार्नेसन)बाट पुरकृत भएको छ भने हिमालय नर्सरीले कदरपत्र पाएको छ।

भृकुटीमण्डपमा हुँदै आएको फ्लोरा (मेला) यसपाली जावलाखेलमा भएको हो। मेलामा चार वटा अफिसियल स्टल, दुई वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र ४५ वटा व्यावसायिक स्टलगरी ५१ वटा स्टल रहेको आयोजक फ्यानले जनाएको छ। पहिलेका मेलाको तुलनामा यो वर्षको मेलामा सहभागी नर्सरी व्यवसायीको संख्या घटेको देखियो। मेलामा नियमितजसो सहभागी हुँदै आएका नर्सरी व्यवसायीको सहभागिता पनि घटेको देखियो। 

बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका राज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतले मेलाको उद्घाटन गरेका थिए। 

दुई वर्ष फ्यानले कोरोना भाइरस संक्रमणका कारण फ्लोरा एक्सपो भएको थिएन। चार दिने मेलामा करिब ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने र ७५ लाख बराबरको व्यावसायिक कारोबार हुने आयोजक फ्यानको अनुमान छ।

१० चैत, २०७८, १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।