जावलाखेलमा पुष्पमेला, उत्कृष्ट नर्सरी व्यवसायी पुरस्कृत

जावलाखेलमा पुष्पमेला, उत्कृष्ट नर्सरी व्यवसायी पुरस्कृत

काठमाडौंः जावलाखेलमा पुष्पमेला सुरु भएको छ। फ्लोरिकल्चर एसोसियसन नेपाल (फान)को आयोजनामा ‘२३औं फ्लोरा एक्सपो–२०७८’ सुरु भएको हो। 

बिहीबारबाट सुरु भएको मेला चार दिनसम्म चल्नेछ। 

मेलाको आकर्षणका रूपमा मौसमी लगायत विभिन्न किसिमका फूल रहेका छन्। यस्तै विभिन्न किसिमका फलफूलका बिरुवा, बिरुवालाई आवश्यक हुने मल तथा औजार लगायत छन्। 

मेलामा कार्नेशन, जरबेरालगायतका कटफ्लावर राखिएको छ। मेलामा बगनबेली, राइनोक्लस, जेरानियम, पिटुनिया, अर्किट, डेलिया (लाहुरेफूल), एजेलीया, साइक्लामेन लगायतका फूल्ने फूलको आकर्षण छ। 

त्यसैगरी मनिप्लान्ट, एरिका लगातका सानो गमलामा रोपेर सजाउन सकिने समेत बिरुवा छन्। तर, यस वर्ष पहिलेका जस्तो धेरै आकर्षक फूल भने मेलामा देखिएन।

पुष्प विकास केन्द्रको सह–आयोजना, बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा मेलाको आयोजना भएको फानले जनाएको छ।

मेलामा नौ विधामा उत्कृष्ट प्रतियोगी, नर्सरी व्यवसायी पुरस्कृत समेत भएको फ्यानले जानकारी दिएको छ। 

मिलन नर्सरी उत्कृष्ट मौसमी फूल फुलाउने नर्सरीका रूपमा पुरस्कृत भएको छ भने अल ट्रपिकल प्लान्ट हाउस उत्कृष्ट आलंकारी बिरुवामा पुरस्कृत भएको छ। 

त्यसैगरी सृजना फ्लावर नर्सरीले उत्कृष्ट फुल्ने बिरुवा, न्यू सन फ्लावर नर्सरीले उत्कृष्ट स्टल, न्यू फ्लोरिष्टले उत्कृष्ट पुष्प सजावट पुरस्कृत भएका छन्। 

त्यसैगरी एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्मले उत्कृष्ट कट फ्लावर (रोज) र उत्कृष्ट कट फ्लावर (जरबेरा)को पुरस्कार पाएको छ। त्यसैगरी द एभरेष्ट फ्लावर उत्कृष्ट कट फ्लावर (कार्नेशन)बाट पुरकृत भएको छ।  हिमालय नर्सरीले कदरपत्र पाएको छ।

यसअघि भृकुटीमण्डपमा हुँदै आएको मेला यसपालि जावलाखेलमा भएको हो। मेलामा चार वटा अफिसियल स्टल, दुई वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र ४५ वटा व्यावसायिक स्टल गरी ५१ वटा स्टल रहेको आयोजक फानले जनाएको छ। 

पहिलेका मेलाको तुलनामा यो वर्षको मेलामा सहभागी नर्सरी व्यवसायीको संख्या घटेको छ। मेलामा नियमितजसो सहभागी हुँदै आएका नर्सरी व्यवसायी पनि यस पटक सहभागी भएनन्। 

प्रमुख अतिथि बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका राज्यमन्त्री ईन्द्रमाया गुरुङले मेलाको उद्घाटन गरेकी थिइन्। 

दुई वर्षयता कोरोना भाइरस संक्रमणका कारण फ्लोरा एक्स्पो भएको थिएन। चार दिने मेलामा करिब ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने र ७५ लाख बराबरको व्यावसायिक कारोबार हुने आयोजक फानको अनुमान छ।

१० चैत, २०७८, १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।