शिक्षक र अभिभावक मिलेर मनोरोगी बनाउँदै छन् बालबालिकालाई

शिक्षक र अभिभावक मिलेर मनोरोगी बनाउँदै छन् बालबालिकालाई
स्केच साभार : न्यूइन्डिइनएक्सप्रेस

काठमाडौँ : कोरोनाकालमा अनलाइन कक्षा चलिरहेको थियो। ६ कक्षा पढ्ने ११ वर्षकी समीक्षा श्रेष्ठ जुममा क्यामरा अफ गरेर पढिरहेकी थिइन्। शिक्षिकाले समीक्षालाई क्यामरा अन गर्न भनिन्। अन्य बिद्यार्थीहरु भने पहिलेदेखि नै क्यामरा अन गरेरै पढिरहेका थिए। समीक्षाले क्यामरा अन गर्ने बित्तिकै शिक्षिकाले ठट्यौली पारामा भनिन्,'कक्षामा जस्तो मोटी, काली देखिएको छैन, राम्री देखिएकी छौ, किन क्यामरा अफ गरेकी? अनलाइन कक्षा लिएका सबै साथीहरू गललल हाँसे। समीक्षा भने चुपचाप शिक्षिकाको कुरा सुनिरहिन्।

अनलाइन कक्षामा चुप बसे पनि उनको मनमा भने चिसो पसेछ। उनलाई आफू क्यामरामा मात्रै राम्री, वास्तविकतामा नराम्री लाग्न थालेछ। मोटी भएकैले नराम्री भएको ठानेर खाना समेत खान छाडिन्। यही कारण उनले शारीरिक तथा मानसिक समस्या झेल्न थालिन्।

औषधीले शारीरिक समस्या निको भयो तर मानसिक समस्याबारे भने उनका अभिभावकले पछि मात्रै थाहा पाए। झर्कने, एक्लो बस्न मन पराउने, चिढचिढे स्वभावको भएपछि उनका अभिभावकले बाल मनोविज्ञ डा. मिनाक्षी दाहालकोमा ल्याए। काउन्सिलपछि अहिले उनको मानसिक स्वास्थ्यमा सुधार आएको दाहालको भनाइ छ।

त्यस्तै, एक वर्षअघि १४ वर्षका केशव गुरागाईँ नौ कक्षाका विद्यार्थी थिए। उनी अनलाइन कक्षा पढिरहेका बेला आफ्नै नग्न तस्बिर विद्यार्थीको फेसबुक  ग्रुपमा देखापर्यो। असाइनमेन्टका लागि सजिलो हुने भन्दै शिक्षकले विद्यार्थीको फेसबुक ग्रुप खोल्न लगाएका थिए। ग्रुपमा शिक्षक र अभिभावक भने थिएनन्।

कक्षा जुम मार्फत भइरहेका थियो। कक्षा एकातिर भए पनि बिद्यार्थीहरु म्यासेन्जरमा हल्ला गरिरहेका थिए।  हल्ला गरिरहेको ग्रुपमा नग्न तस्बिर देखेपछि केशवको दिमाग चकरायो।

फिजिकल कक्षा हुँदा एक साथीले शौचालयमा जिस्किएर खिचेको तस्बिर थियो त्यो। कक्षा भइरहँदा व्यक्तिगत म्यासेन्जरमा केशव र फोटो पठाउने साथी मजाक गरिरहेका थिए। ती साथीले केशवको व्यक्तिगत म्यासेजमा फोटो सेन्ड गरेको ठानेर ग्रुपमा पठाएका थिए।

ग्रुपमा भएका सबैले उनको नग्न तस्बिर देखे। गलत ठाउँमा तस्बिर गएको थाहा पाउने बित्तिकै केशवका साथीले तुरुन्तै डिलिट गरिहाले। डिलिट भए पनि तस्बिर साथीहरूको दिमागमा सेभ भइसकेको थियो। साथीहरूले उनलाई घुमाउरो पारामा जिस्काउन थाले। जसले गर्दा केशव साथीहरूबाट भाग्न थाले।

साथीहरूले जिस्काउलान् भनेरै कक्षा नलिन विभिन्न बहाना बनाउन थाले उनले। आफैले जानिबुझी राउटरको तार छिनाइदिने, नेट स्लो चलेकाले कनेक्ट हुन नसकेको भन्नेदेखि अनलाइन कक्षा नलिने अनेक तरिका उनको दिमागले सोच्न थाल्यो। केही उपाय नभएको समयमा भने कक्षा लिइरहेको भन्दै उनी मोबाइलमा अरुकै कुरामा व्यस्त हुन थाले। विद्यालयले केशवका अभिभावकलाई खबर गरेपछि मात्रै उनी अनलाइन कक्षा हाँपिरहेका कुरा उनका परिवारले थाहा पाए।

केशवले परिवारमा आफू कक्षाबाट भाग्नुको कारण बताएपछि उनका परिवारले उनको विद्यालय नै परिवर्तन गरिदियो।

०००

साना कुराहरूले पनि बालबालिकाको मनस्थितिमा गम्भीर असर पारिरहेको हुन्छ। मानोविद् गङ्गा पाठकका अनुसार १८ वर्ष वा सो भन्दा मुनिको उमेर बालबालिकाको फाउन्डेसन समय हो। जीवन बिताउने क्रममा कसरी सर्भाइभ गर्ने भन्ने कुरा सिक्ने समयमा साना कुराले पनि उनीहरूमा गम्भीर असर गर्न सक्छ।

गङ्गाले भनिन्'माथिका घटनाहरू बाहिरबाट हेर्दा सामान्य हुन्। तर यस्ता कुराले बालबालिकाको मस्तिष्कमा नराम्रो प्रभाव पार्छ। यिनै कुराहरूले बालबालिका भविष्यमा कस्तो स्वभावका हुन्छन् भन्ने निर्धारण गर्छ।'

उनले भनिन्' शिक्षकहरू बालबालिकाका आइडल हुन्। कसैले नजानेका कुरा शिक्षकले जानेका हुन्छन्, शिक्षक कहिल्यै गलत बोल्दैनन् भन्ने भ्रम उनीहरूमा हुन्छ। उदाहरणका लागि ‘क’ लेख्ने तरिका मानिस अनुसार फरक हुनसक्छ तर बालबालिकाले अरू तरिकालाई सही मान्दैन, शिक्षकले लेख्न सिकाएको मात्रै सही भन्छन्।'

उनले समीक्षा श्रेष्ठ जस्तै समस्या बोकेर आफूकहाँ पनि थुप्रै बालबालिका आउने गरेको बताइन्। आइडल मानेका मानिसले बडी सेमिङ गर्नु, खिस्याउनु भनेको बालबालिकाले आत्मविश्वास गुमाउनु हो। भविष्यमा उनिहरु अगाडी बढ्नै सक्दैनन्। मानिसले के सोचेको हो, के भन्लान् भन्ने कुराहरू सोच्ने स्वभावका हुन्छन्।

शिक्षकपछि बालबालिकाले सिको गर्ने भनेको अभिभावकको हो। दोस्रो घटनामा समस्यासँग भागेर स्कुल नै परिवर्तन गरिएको छ। पाठकले भनिन्' यो निकै गम्भीर कुरा हो। अभिभावकले नै समस्यासँग जुध्न नसिकाएपछि उ भविष्यमा जहिल्यै समस्यासँग भाग्छ, त्यसलाई फेस गर्न सक्दैन।'

इन्टरनेट प्रयोगमा हुने लापरबाहीले आफूकहाँ झन्डै ७० प्रतिशत बालबालिका मानसिक समस्या लिएर आउने पाठकको भनाई छ।

सरकारको छैन चासो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकाको अनलाइन सुरक्षाबारे चासो राख्नुपर्ने थियो। अघिल्लो सरकारको पालामा नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको अनलाइन बाल सुरक्षा निर्देशिका-२०७६ छलफलका लागि मन्त्रालयमा पुगेको थियो। अघिल्लो सरकारले यसबारे छलफल गरेको भनिए पनि सरकार परिवर्तन भएसँगै आधिकारिक निर्णय भने आउन सकेको छैन। मन्त्रालयमा निर्देशिका अलपत्र अवस्थामा छ।

विभिन्न विज्ञहरूसँग बसेर दूरसञ्चार प्राधिकरणले चाइल्ड सेफ्टी गाइडलाइनबारे छलफल गरेर उक्त निर्देशिका तयार पारेको थियो। दूरसञ्चार ऐन २०५३ को दफा १३  ले दिएको अधिकार प्रयोग गर्दै प्राधिकरणले निर्देशिका बनाए पनि सरकारले कुनै निर्णय नदिँदा कार्यान्वयनमा आउन सकेको छैन। यो निर्देशिका नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइटमा राखिएको छ।

अभिभावक छैनन् सचेत

दूरसञ्चार प्राधिकरणले तयार पारेको गाइडलाइन अनुसार अनिवार्य रूपमा अभिभावक बालबालिकासँग हुनुपर्ने उल्लेख छ। अनलाइन बाल सुरक्षा निर्देशिका २०७६ को परिच्छेद ३ मा घरपरिवार तथा समाजले गर्नुपर्ने कार्यहरू उल्लेख छन्।

जसमा इन्टरनेटमा बालबालिका एक्लै छाड्नु अपराध हो। पढ्नु सबैभन्दा अल्छी लाग्ने काम हो। साइबर कानुन विशेषज्ञ तथा अधिवक्ता बाबुराम अर्याल भने'कक्षामा फिजिकल उपस्थित भएका विद्यार्थीलाई तह लगाउन शिक्षकलाई हम्मे हम्मे पर्छ भने अनलाइन कक्षामा विद्यार्थी तह लगाउनु गाह्रो काम हो।'

कक्षामा हल्ला गर्ने साथी हुन्छन्। इन्टरनेट जति फाइदाजनक छ, चलाउन नजाने उत्तिकै घातक पनि। ठुलै मानिसलाई डिप्रेसनमा सजिलै पुर्याउने इन्टरनेटमा बालबालिका एक्लै छाड्न नहुने उनको भनाई छ।

बाबुरामले भने' दूरसञ्चार प्राधिकरणले इन्टरनेटको पहुँचमा बालबालिका पुग्ने बित्तिकै अभिभावकका लागि सहजीकरण पुस्तिका समेत बनाएको छ।'

तर यसबारे ध्यान नदिँदा नबुझेरै अभिभावक अपराधी बनिरहेको उनको भनाई छ। उनले भने' अभिभावककै अपराधका कारण कलिला मस्तिष्क सानै उमेरमा पिडामा छन्।  आफ्ना कलिला बालबालिकालाई डिप्रेसनका कडा डोजका औषधी खुवाएर खुलेआम अपराधी अभिभावकहरू घुमिरहेका छन्।'

*यसमा प्रयोग भएका नाबालिगहरूको नाम परिवर्तन गरिएको हो

 

६ चैत, २०७८, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।