दुर्गेशको बयान : बार्गेनिङ थाहा छैन, करणी गरेको भए कारबाही हुनुपर्छ भनेको हो

दुर्गेशको बयान : बार्गेनिङ थाहा छैन, करणी गरेको भए कारबाही हुनुपर्छ भनेको हो

काठमाडौँ : नाबालिग बलात्कारको अभियोग लागेका पल शाहसँग परिचित दुर्गेश थापाको बयान पीडितको पक्षमा देखिएको छ। नवलपुर जिल्ला अदालतमा बिहीबार दर्ता भएको अभियोग पत्रमा समेटिएको थापाको बयानमा' करणी गरेको हो भने कानुनी कारबाही हुनुपर्छ' भनेर सल्लाह दिएको उल्लेख छ।

बलात्कार भएको दिन दुर्गेश समेत सोही रिसोर्टमा थिए। ' पीडित आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएकी हुन। काजीश श्रेष्ठ, शाह समेतका व्यक्तिहरू मादक पदार्थ सेवन गरी बाहिर बसिरहेका थिए। निजहरू कुन कोठामा सुते मलाई थाहा भएन,' उनको बयानमा उल्लेख छ।


दुर्गेश थापा भन्ने दुर्गाबहादुर थापाको बयानको संक्षेप

म विगत १०/१२ वर्षदेखि म्युजिक भिडियो समेतमा काम गर्दै आइरहेको छु। कामको सिलसिलामा  पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) सँग चिनजान भएको थियो।

म प्राय म्युजिक भिडियो सुटिङको लागि हिँडिरहने भएकोले म काठमाण्डौवाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई शाह तथा पीडितसँग भेट भई तामा पित्तल गीतको भिडियो सुटिङ सकेर हामी लगायत पीडित समेतको सुटिङ युनिट बेलुका गैँडाकोट रिसोर्टमा आई दिनभरि सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो।

पीडित आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएकी हुन। काजीश श्रेष्ठ, शाह समेतका व्यक्तिहरू मादक पदार्थ सेवन गरी बाहिर बसिरहेका थिए। निजहरू कुन कोठामा सुते मलाई थाहा भएन।

अर्को दिन ऐ. ८ गते बिहान म काम विशेषले काठमाडौँ गएको हो। २०७५ सालको असार महिनामा शाहको म्यानेजर कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको बारेमा जानकारी गराएकोमा सो सम्बन्धमा पीडितसँग बुझ्दा मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले विवाह गर्छु भनी फकाई फुल्याई सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा म सम्राट चौलागाई, सरोज ओली, योगेश काजी समेतले हामी न्यायको पक्षमा छौँ, तिमीलाई निजले जबरजस्ती करणी गरेको भए कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनी सल्लाह दिएको मात्र हो।

अन्य आर्थिक कुराको बार्गेनिङको बारेमा मलाई केही जानकारी भए भएन।

४ चैत, २०७८, ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।