पल विरुद्ध नाबालिगको बयान : मायाको नाटक गरेर यौन शोषण गरे

पल विरुद्ध नाबालिगको बयान : मायाको नाटक गरेर यौन शोषण गरे

काठमाडौँ : नाबालिग बलात्कार गरेको दाबी सहित नवलपुर जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाबालिग पीडितले पल भनिने पूर्णविक्रम शाहले मायाको नाटक गरेर यौन शोषण गरेको उल्लेख छ।

अभियोग पत्रमा रहेको नाबालिगको संक्षिप्त बयानमा शाहले पटक-पटक बलात्कार गरेको उल्लेख छ।
'पल शाह भन्ने पूर्णविक्रम शाहले मलाई पहिलादेखि नै मायाको नाटक गरी यौन शोषण गर्दै आई रहेकोमा हामी बिच भएको सम्बन्धको बारेमा कोही कसैलाई नभन भनेकोले मैले कोही कसैलाई उक्त कुराको जानकारी गराएको थिएन,' बयानमा उल्लेख छ

नाबालिगको बयान

मिति २०७७।१२।६ गते खेम सेन्चुरीले सिर्जना गरेको सुर्ती माड्दै माड्दै बोलको गीत सुटिङको लागि सुटिङ युनिटसँग म लगायत प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह समेत आएका थिए।

उक्त दिन हाम्रो सुटिङ नभएकोले हामीहरू थारु भिलेज भन्ने स्थान गई बस्यौँ। अर्को दिन ऐ. ७ गते उक्त स्थानमा केही भाग सुटिङ गरी पुनः सम्पूर्ण कलाकारसहितको टिम गैँडाकोट रिसोर्टमा आई बेलुकाको खाना खाई सुत्ने बेलामा सुटिङ युनिटले मलाई गैँडाकोट रिसोर्टको १०२ नं. कोठा बुकिङ गरी दिएकोले म उक्त कोठामा आराम गरिरहेको थिएँ भने प्रतिवादी लगायत सुटिङ युनिटका अन्य व्यक्तिहरू बाहिर खाजा खाँदै रमाइलो गरिरहेका थिए।

राति अं. ११:०० बजेको समयमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले मेरो फेसबुक म्यासेन्जरमा म्यासेज गरी आउँछु ढोका खुल्ला राख्नु भनेको हुँदा मैले उक्त म्यासेजको कुनै प्रतिवाद नगरी बसी रहेको अवस्थामा म सुतेको कोठा बाहिर ढोका ढकढक गरेको आवाज सुनी मैले ढोका खोल्दा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह रहेछन्।

त्यसपछि निज प्रतिवादी मेरो कोठामा प्रवेश गरी मलाई ललाई फकाई, माया गर्छु, विवाह समेत गर्छु भनी रातभरसम्म २ पटक मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन।

निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले मलाई पहिलादेखि नै मायाको नाटक गरी यौन शोषण गर्दै आई रहेकोमा हामी बिच भएको सम्बन्धको बारेमा कोही कसैलाई नभन भनेकोले मैले कोही कसैलाई उक्त कुराको जानकारी गराएको थिएन।

यसरी म नाबालिकालाई फकाई फुल्याई मायाको नाटक गरी मेरो इच्छा विपरीत पटक पटक जबरजस्ती करणी गर्ने निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई कानुन बमोजिम कारबाही हुनुपर्छ भन्ने समेत ब्यहोराको पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) को कागज।

४ चैत, २०७८, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।