होलीमा रङ खेल्दै हुनुहुन्छ ?, ख्याल राख्नुहोला- स्वास्थ्यका लागि घातक हुनसक्छ

होलीमा रङ खेल्दै हुनुहुन्छ ?, ख्याल राख्नुहोला- स्वास्थ्यका लागि घातक हुनसक्छ

काठमाडौं : होलीमा रसायनयुक्त रङको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्नेतर्फ चिकित्सकहरुले सजग गराएका छन्। चिकित्सकको मत अनुसार आजकल रङमा घातक कसिमका शरीरलाई नकारात्मक असर पर्ने रसायन मिसिएका रङ पाइन सक्छन्। 

त्यसैले होलीमा प्राकृतिक तथा आयुर्वेदिक किसिमका रङको प्रयोग गर्न सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रविन्द्र शर्माको सुझाव छ। 

प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. जसवन शाक्य पनि कृत्रिम रुपमा तयार गरी रसायन मिसिएका पाउडर तथा झोल (लिक्विड) रङको प्रयोगले छालामा जलन हुने, दुख्ने, चिलाउने जस्ता समस्या निम्तनेतर्फ सजग गराउँछन्। 

कृत्रिम किसिमले तयार गरिएका रङको प्रयोगले कपाल, नाक, मुखमा समेत नकारात्मक असर गर्ने जोखिम हुन्छ। चिकित्सकका अनुसार कृत्रिम किसिमका रङको प्रयोगले आँखा तथा फोक्सोमा नकारात्मक असर पुर्याउन सक्छ।

चिकित्सकका अनुसार यस्ता रङले छाला, आँखा तथा फोक्सोको एलर्जीको जोखिम हुन्छ। जसले गर्दा दमको समस्या निम्तन सक्छ। रङमा प्रयोग हुने ‘मालासाइट ग्रिन’, ‘लिड’, ‘मर्करी’ जस्ता पदार्थले क्यान्सर गराउने जोखिमतर्फ डा. शर्मा सचेत गराउँछन्।

रातो रङमा ‘मर्करी सलफाइड’, कालो रङमा ‘लिड अक्साइड’ र ‘हरियो रङमा ‘कपर सल्फेट’,को प्रयोग हुने चिकित्सक बताउँछन्। यस्ता रङले छालामा असर गर्छ।

त्यसैगरी ‘औरामाइन’ र ‘रोडामाइन’ जस्ता पदार्थ विषालु हुने चिकित्सक बताउँछन्। रङमा मिसिएका यस्ता पदार्थ मानव स्वास्थ्यका लागि विषालु हुने डा. शर्मा बताए। प्रदूषित वातावरण तथा होलीमा प्रदूषित पानीको प्रयोग गरी खेल्दा रुघा-खोकी जस्ता स्वास्थ्य समस्या निम्तन सक्छन्।

होली प्रायः बाहिर खुला ठाउँमा खेलिने भएकाले रङ र घामको प्रभावका कारण छाला सुख्खा हुने, खस्रो हुने, रुखो हुने, घामले डढेर कालो हुने जस्ता समस्या निम्तने जोखिम हुन्छ।

त्यसैगरी रङले चमकता ल्याउनका लागि रसाएनको मिसावट हुँदा सिसा समेत मिसाइएको हुनसक्छ। यस्ता रासायनिक रङका कारण ‘क्यान्सर,’‘अन्धोपन’जस्ता जोखिम हुनेतर्फ चिकित्सक सजग गराउँछन्। 

बेलुनले हान्दा आँखाको पर्दा च्यातिने, आँखाको ज्योति गुम्ने लगायतको समेत जोखिम हुने त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल बताउँछन्। 

रसायनयुक्त रङ आँखामा परेको खण्डमा आँखा रातो हुने, पोल्ने, दुख्ने तथा आँखाको बाहिर पट्टिको जालोमा क्षति पुग्नेतर्फ उनी सजग गराउँछन्। 

सतर्कता अपनाऔं
कपाल जोगाउनका लागि होलिमा रङ खेल्नु आधा घण्टाअघि नरिवल, जैतुन, आल्मोण्ड तथा अन्य सुरक्षित किसिमका तेल कपालमा लगाउनुपर्छ। जति धेरै समय कपाल तथा छालामा रङ रहन्छ त्यत्ति नै खराब असर गर्नसक्छ। रङ खेलेपछि भने तुरुन्तै कपाल नुहाउनुपर्छ। रङ ननिख्रिए केही दिन नियमति नुहाउन डा. शर्माको सुझाव छ।

त्यसैगरी रङको नकारात्मक असरबाट छाला जोगाउनका लागि लामो बाउला भएको तथा शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्ने चिकित्सकको सुझाव छ। गुणस्तरीय सनक्रिम प्रयोग गनुपर्छ। एलर्जी हुने लगायत संवेदनशील छाला हुने व्यक्तिले मोस्चराइजरको प्रयोग गर्नुपर्ने हुन्छ।

रङ खेल्नु २/३ दिन अघिदेखि फेसियल गर्नु उचित नहुने र रङ खेलिसकेको एक हप्तापछि मात्रै फेसियल गर्नु उचित हुने चिकित्सकको सुझाव छ।

डा. शर्माका अनुसार रङ खेलिसकेपछि अत्तररहित नरम किसिमका साबुन वा स्याम्पु प्रयोग गर्नु उचित हुन्छ। नुहाइसकेपछि तेल वा मोस्चराइजर प्रयोग गर्नुपर्ने हुन्छ।

नङमा पनि रङको असर हुनसक्ने भएकाले नङमा पेन्टिङ गरेर तथा भार्निस प्रयोग गर्न डा. शर्माको सुझाव छ। 

आँखाको सुरक्षाका लागि भने सम्भव भएसम्म कन्ट्याक्ट लेन्स र चस्मा प्रयोग नगर्न उनको  सुझाव छ। चस्मा फुट्ने तथा कन्ट्याक्ट लेन्समा रसायन घुलिने सम्भावना हुने भएकाले यस्ता चस्मा तथा लेन्स लगाएर होली खेल्नु जोखिम हुन्छ। त्यसैगरी ओठको सुरक्षाका लागि लिपिस्टक वा लिपगार्ड प्रयोग गर्न उनको सुझाव छ।

उपचार तथा बच्ने उपाय
रङका कारण छाला चिलाउने, पोल्नेजस्ता समस्या निम्तिए सबैभन्दा पहिला पानीले पखाल्न डा. शाक्यको सुझाव छ। उनले भने, ‘रङले छालामा समस्या आयो भने सबैभन्दा पहिला सफा पानीले पखाल्नुपर्छ।’ यसले थप समस्या निम्तनबाट केही हदसम्म जोगिने डा. शाक्य बताउँछन्। 

इनामेल रङको प्रयोगले छालामा समस्या निम्तिए पानीले नजाने भएकाले यस्तो रङ सकेसम्म प्रयोग नै नगर्न डा. शाक्यको सुझाव छ। तर केहीगरी प्रयोग भएर छालामा असर देखिए पानीले पखाल्न प्रयास गर्ने र पानीले नगए नङ पालिस मेट्ने रिमुभरको प्रयोग गरी विस्तारै पुछ्नुपर्छ। त्यसले पनि रङ नजाने तथा छालामा असर देखिए उपचारका लागि अस्पताल जान डा. शाक्यको सुझाव छ।

रङको एलर्जी भएको खण्डमा समान्यतया तेल तथा मोस्चराइजरको प्रयोग गर्न सकिन्छ। डा. शर्मा भन्छन्, ‘छाला रातो र रुखो भयो भने क्यालामाइन लोसन प्रयोग गर्न सकिन्छ।’

समस्या जटिल हुँदै गएको अवस्थामा छालारोग विशेषसँग परामर्श लिनुपर्ने हुन्छ। समस्या जटिल हुँदै गए ढिला नगरी अस्पताल पुग्न चिकित्सकको सुझाव छ।

३ चैत, २०७८, १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।