उकेरा मन्थन

होली: वसन्तोत्सवको अङ्ग, वर्षको अन्तिम पर्व


होली, आनन्द एवं उल्लासको पर्व हो। शिशिरको अन्त्य र वसन्तको प्रारम्भमा मनाइने यो उत्सवले शीतकालको अन्त्य तथा उष्ण तथा वसन्तको आगमनको उपक्रमलाई सङ्केत गर्दछ। 

'होली' या 'होलिका' उत्सव पूर्णिमान्त गणनाअनुसार वर्षको अन्त्य तथा नववर्षको स्वागतको रूपमा मनाइने गरेको देखिन्छ। होली महोत्सव रात्रिको समयमा मनाइन्छ। यही परम्परालाई पछ्याउँदै पछिल्लो समय नयाँवर्ष मनाउँदा वर्षको अन्त्यको आधारातको समयमा पटाकाहरू पट्काएर पुरानो वर्षको विदाइ र नयाँवर्षको स्वागत गर्ने गरिन्छ। 

होलीमा पनि आधारातको समयमा नाच–गानका साथ होलिका दहन गरेर उत्सव मनाउनुपर्ने शास्त्रीय विधान छ। यसरी हेर्दा पुरानो वर्षको बिदाइ र नयाँवर्षको थालनीको समयमा गरिने उत्सव नै होलिका महोत्सव हो।

चान्द्रमानअनुसार प्रायः ३५४ दिनको एक वर्ष हुन्छ। यही चान्द्रमानअनुसार नै अधिकमास सामान्यतया हरेक चार वर्षमा पर्दछ। जुन वर्ष अधिकमास हुन्छ, त्यो वर्ष १३ महिनाको हुन्छ अन्यथा १२ महिनाको एक वर्ष हुन्छ। 

कहिँ-कहिँ यो उत्सवमा अश्लील गीत गाएर पनि मनाउने गरेको देखिन्छ। जसबाट मानिसले आफ्नो कामेच्छाको बाह्यतृप्ति गर्ने गर्दछन्।

चान्द्रमासअनुसार शुक्ल प्रतिपदादेखि अमावास्यासम्म या कृष्ण प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई एक महिना मानिन्छ जसअनुसार पहिलोलाई अमान्त र दोस्रोलाई पूर्णिमासान्त महिना भन्ने गरिन्छ। 

दक्षिण भारतमा अमान्त महिना प्रचलित देखिन्छ भने उत्तर भारत तथा नेपालमा पनि पूर्णिमान्त चान्द्रमास प्रचलनमा रहेको देखिन्छ। यसरी पूर्णिमासान्तअनुसार होली महोत्सव वर्षको अन्त्य नववर्षको प्रारम्भको दिन हो। यसै दिनमा होली मनाउने परम्पराले यो नयाँ वर्षको प्रारम्भको दिन हो र यो होली महोत्सव नववर्षोत्सव पनि हो।

धेरैजसो धर्मशास्त्रीय एवं ज्योतिषशास्त्रीय ग्रन्थहरूमा चैत्रशुक्ल प्रतिपदालाई नयाँ सम्वत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ। त्यसमा पनि जुन दिन सूर्योदयको अवसरमा प्रतिपदा तिथि रहेको छ त्यही दिनलाई सम्वत्सरारम्भ मान्नुपर्ने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। 

ब्रह्मापुराणमा त्यही दिन सूर्योदय हुने बेलामा ब्रह्माले यो संसारको सृष्टि गरेको कुरा उल्लेख गरिएको छ। 

यदि दुवै दिन सूर्योदयको बेलामा प्रतिपदा रहेको छ भने या दुवै दिन सूर्योदयको बेलामा प्रतिपदा छैन भने पनि पहिलो दिनलाई नै सम्वत्सरारम्भ(नववर्षारम्भ) मान्नुपर्ने कुराको उल्लेख निर्णयसिन्धुकारले वृद्धवसिष्ठको वचन उल्लेख गर्दै गरेका छन्। 

यदि चैत्र महिनामा अधिकमास(मलमास) परेको छ भने प्रथम चैत्रशुक्ल प्रतिपदालाई नै सम्वत्सरारम्भ मान्नुपर्दछ किनभने अधिकमासको गणना अघिल्लो वर्षमा गरिन्छ भन्ने कुराको उल्लेख पनि  निर्णयसिन्धुकारले गरेका छन्।

पुराणहरूका अनुसार चैत्रशुक्ल प्रतिपदाको दिनदेखि नै यो संसारमा कालगणनाको प्रारम्भ भएको हो । त्यसैले धर्मशास्त्रीय निबन्धग्रन्थहरूमा यो दिन महाशान्तिका साथ ब्रह्मासहित वर्ष, महिना, ऋतु, पक्ष, दिन आदि कालका अवयवहरूको पूजा गर्नुपर्ने विधान पनि रहेको छ। 

यसरी ब्रह्मादिको पूजा गर्नाले सम्पूर्ण पापहरू नाश हुनुको साथै आयु, आरोग्य, धन, धान्य तथा सौभाग्यको पनि अभिवृद्धि हुन्छ। 

यसबाट घरमा मङ्गल एवं पवित्रता हुनुको साथै यसलोक एवं परलोक पनि सुखदायक रहन्छ भन्ने शास्त्रीय विश्वास रहेको छ। 

नवसम्वत्सरारम्भको दिन घरलाई ध्वजा–पताकाहरूले सजाउने, स्नान, ब्राह्मणहरूका साथ मङ्गलगान, देवता, मान्यजन, नारीहरू एवं बालबालिकाहरूलाई नयाँ वस्त्र तथा अलङ्कार प्रदान गरेर ज्योतिषहरूबाट पञ्चाङ्ग श्रवण गर्नुपर्ने कुराको उल्लेख गरिएको छ। 

तैलाभ्यङ्ग अर्थात् शरीरमा तेल लगाउने कार्यलाई नवसम्वत्सरम्भमा अनिवार्य नै मानिएको छ। रोग शान्तिका लागि मरिच, नून, जीरा, ज्वानोका साथ नीमको फूलका साथ कोमल पातको चूर्ण बनाएर खानुपर्ने कुराको उल्लेख पनि आयुर्वेदिक ग्रन्थहरूमा गरिएको पाइन्छ।

पूर्णिमान्तलाई नववर्ष मान्ने हो भने होली मनाएको अर्को दिन नववर्षको प्रारम्भको दिन हो। यसै दिन रात्रिको समयमा होलिका दहन(जलाएर) त्यसको अर्को दिन अबीर उत्सव तथा रङ्गोत्सव गर्ने प्रचलन रहेको छ। 

यो महोत्सव नेपाल लगायत भारतवर्षको धेरैजसो स्थानमा आ–आफ्नै ढङ्गले मनाइन्छ। यो होलिका उत्सव अत्यन्त प्राचीनकालदेखि मनाइँदै आएको देखिन्छ। यसको प्रारम्भिक रूप होलाका थियो। 

जैमिनि एवं काठकगृह्यसूत्रमा वर्णन भएका कारण यो उत्सव विक्रमको कैयौं शताब्दीपूर्वदेखि भारतवर्षमा मनाइदै आएको देखिन्छ। कामसूत्र एवं भविष्योत्तर पुराणमा यो पर्वलाई वसन्तोत्सवको रूपमा लिइएको देखिन्छ। 

यो पर्वमा एकले अर्कोलाई अबीर लगाएर तथा पिचकारीले रङ्ले युक्त जल छेपाछेप गरिन्छ। वास्तवमा भन्ने हो भने यो उत्सव वसन्तोत्सवको अङ्ग हो। 

वर्तमानमा पनि यो पर्व होली खेल्ने नामले प्रसिद्ध रहेको छ। यो उत्सव विशेष गरेर आमोद–प्रमोदको पर्व हो। आयुर्वेदिक दृष्टिले यो उत्सवलाई हेर्ने हो भने आयुर्वेदको प्रमुख प्राचीन ग्रन्थ चरक संहितामा वसन्त ऋतुमा व्यायाम, उबटन, धूम, कबलग्रहण, अञ्जन एवं सुखदायक जलले शौच विधिको अभ्यास गर्नका लागि निर्देश गरिएको छ–

व्यायामोद्वर्तनं धूमं कवलग्रहमञ्जनम् । 
सुखाम्बुना शौचविधिं शीलयेत्कुसुमागमे ।। चरकसंहिता ६.२४ ।

आयुर्वेदको महान् ग्रन्थ चरकसंहितामा उल्लेख गरिएको यो विधिका सम्बन्धमा विचार गर्ने हो भने होलीको समयमा यी सबै प्रक्रिया गर्ने गरिन्छ। 

वैदिक सनातन परम्परामा चोरी गर्नुलाई ठूलो अपराध मानिएको छ। तर होलिका दहनको तयारीका सम्बन्धमा दाउरा चोरेर भए पनि सङ्कलन गर्न निर्देश गरिएको छ। 

यसर्थ होलिका उत्सव हेमन्त तथा पतझडको अन्त्यको सूचकसँगै उल्लासपूर्ण वसन्तागमनको परिचायक पनि हो। 

वसन्तको आनन्दाभिव्यक्ति रङ्गीन तथा रातो पानी, अबीर एवं गुलालको पारस्परिक आदान–प्रदानबाट प्रकट हुन्छ। दक्षिण भारतमा यो उत्सव पाँच दिनसम्म(रङ्गपञ्चमीको रूपमा) मनाउने गरिन्छ। 

कहिँ-कहिँ यो उत्सवमा अश्लील गीत गाएर पनि मनाउने गरेको देखिन्छ। जसबाट मानिसले आफ्नो कामेच्छाको बाह्यतृप्ति गर्ने गर्दछन्।

वैदिक सनातन धर्मावलम्बीहरूले मनाउने कुनै पनि पर्वका सम्बन्धमा विभिन्न पुराणहरूमा कथा प्रसङ्गहरू जोडिएको देखिन्छ। भिन्न–भिन्न पुराणहरूमा भिन्न–भिन्न प्रसङ्गलाई जोडेर कथा प्रसङ्ग बनाइएको देखिन्छ। 

जसअनुसार ढुण्डा नामकी राक्षसीलाई आगोमा जलाएर मारिएको प्रसङ्ग पनि यो पर्वसँग जोडिएको छ। यस्तै कतिपय पुराणमा विष्णुभक्त प्रह्लादलाई जलाउनका लागि होलिका(जसलाई अग्निभय थिएन) जसले गर्दा प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गरेको र त्यो समयमा होलिका स्वयं जलेर भष्म भएकी तर प्रह्लादलाई अग्निले नजलाएको कथा प्रसङ्ग पनि पाइन्छ। 

यस्तै होली पूर्णिमाको अर्को दिन ढुण्डा नामक राक्षसी तथा होलिका दहन भएको खुशीयालीमा त्यही खरानीलाई शरीरमा दलेर आनन्दोत्सव मनाउनुपर्ने कुराको उल्लेख वर्षकृत्यदीपकमा गरिएको छ। 

त्यहाँ भनिएको छ– होली पूर्णिमाको भोलिपल्ट शरीरभरि एवं निधारमा खरानी दलेर पिशाचजस्तै क्रीडा गर्नू। सिन्दुर, कुमकुम, धूलो आदि शरीरमा दल्नू। नाच, गान एवं बजान गरेर गाउँ शहर डुल्नू। यो उत्सवमा ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र गरी सबै वर्णका मानिसहरू एक साथ बालबालिकाहरूका साथ आनन्दपूर्वक मनाउन निर्देश गरिएको छ–

प्रभाते विमले जाते ह्यङ्गे भस्मं च कारयेत् ।
सर्वाङ्गे च ललाटे च क्रीडितव्यं पिशाचवत् ।।
सिन्दुरैः कुंकुमैश्चैव धूलिभिर्धूसरो भवेत् ।
गीतं वाद्यं च नृत्यं च कुर्याद्रथ्योपसर्पणम् ।।
ब्राह्मणैः क्षत्रियैर्वैश्यैः शूद्रैश्चान्यैश्च जातिभिः ।
एकीभूय प्रकर्तव्या क्रीडा या फाल्गुणे सदा ।।
बालकैः सह गन्तव्यं फाल्गुन्यां च युधिष्ठिर । वर्षकृत्यदीपक, पृ. ३०१ ।

वैदिक सनातन परम्परामा चोरी गर्नुलाई ठूलो अपराध मानिएको छ। तर होलिका दहनको तयारीका सम्बन्धमा दाउरा चोरेर भए पनि सङ्कलन गर्न निर्देश गरिएको छ। 

जसका लागि पूर्णिमापूर्वको पञ्चमीदेखि अर्थात् दश दिनअगाडि प्रारम्भ गर्नुपर्ने कुराको उल्लेख पनि वर्षकृत्यदीपकमा उल्लेख गरिएको छ। 

वैदिक सनातन परम्परामा मनाइने प्रमुख पर्वहरूमा ब्राह्मणहरूका लागि श्रावणी(जनैपूर्णिमा), क्षत्रीयहरूका लागि दशैं, वैश्यहरूका लागि दीपावली र शूद्रहरूका लागि होलीले विशेष महत्त्व राख्ने बताइएको छ। 

त्यहाँ भनिएको छ– फाल्गुण शुक्ल पञ्चमीदेखि पूर्णिमासम्मका दिन अत्यन्त पूण्यदायक रहेका छन्, ती दश दिनमा काठ(दाउरा) चोरी गरेर भए पनि जम्मा गरिसकेपछि पूर्णिमाको दिनमा चाण्डाल एवं सूतिकाको घरबाट बच्चाहरूबाट ल्याइएको आगोबाट ती दाउराहरू जलाउन निर्देश गरिएको छ–

पञ्चमीप्रमुखास्तासु तिथयोऽनन्तपुण्यदाः ।
दश स्युः शोभनास्तासु काष्ठस्तेयं विधीयते ।।
चाण्डालसूतिकागेहाच्छिशुहारितवन्हिना ।
प्राप्तायां पूर्णिमायां तु कुर्यात्तत्काष्ठदीपनम् ।।

यहाँ स्मरणीय कुरा के छ भने अन्य कुनै अवस्थामा चाण्डाल र सूतिकागृहको आगो उपयुक्त मानिदैन तर होलिका दहनका लागि चाण्डाल या सूतिकागृहबाट आगो ल्याउन निर्देश गरिएको देखिन्छ। 

यसरी विभिन्न पर्वहरूको आ–आफ्नै महत्त्व र भूमिका रहेको यो निर्देशबाट पनि स्पष्ट हुन्छ।

वैदिक सनातन परम्परामा मनाइने प्रमुख पर्वहरूमा ब्राह्मणहरूका लागि श्रावणी(जनैपूर्णिमा), क्षत्रीयहरूका लागि दशैं, वैश्यहरूका लागि दीपावली र शूद्रहरूका लागि होलीले विशेष महत्त्व राख्ने बताइएको छ। 

तर यी सबै पर्वहरूमा सबैको सहभागिता समान रूपमा देखिन्छ। यही नै हिन्दू सनातन धर्मको विशेष महत्त्व र पहिचान हो। 

सामान्यतया चान्द्रमानअनुसार चैते दशैंदेखि पर्वहरूको सुरूआत भएको मानिन्छ। किनभने चैत्र शुक्ल प्रतिपदा नै चैते दशैंको सुरूआत हो अर्थात् यसै दिनदेखि वसन्तकालीन नवरात्रको सुरूआत हुन्छ। यही दिन नै सृष्टिको प्रारम्भ भएको दिनको रूपमा लिने प्राचीन परम्परा पनि रहिआएको छ। 

चान्द्रमानअनुसार नववर्षको सुरू पनि यसै दिनदेखि हुन्छ। जसअनुसार होली वर्षको अन्तिम पर्व तथा महोत्सव हो। त्यसैले होलीलाई बडो धुमधामका साथ मनाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....