बुटवलमा बालविवाहको आश्चर्यजनक आँकडाः १४ वर्षमै विहे, १९ वर्षमा दुई सन्तान अनि एकल

बुटवलमा बालविवाहको आश्चर्यजनक आँकडाः १४ वर्षमै विहे, १९ वर्षमा दुई सन्तान अनि एकल

बुटवल : बुटवल उपमहानगरपालिका- ११, बुद्धनगरकी अनिता सुनार (नाम परिर्वतन) भर्खर १९ वर्षकी भइन्। दुई छोरीकी आमा अनिता एकल महिला हुन्।

उनको परिवार आर्थिक रुपमा सबल र सक्षम थिएन। छोरीले दुःख नपाउली र जीवन सुरक्षित होला भनेर भैरहवाका २७ वर्षीय युवासँग १४ वर्षको उमेरमै परिवारले अनिताको विवाह गरिदिए।

तर, जीवनको चक्र उनको परिवारले सोचेजसरी चलेन्। सुखको जीवन बिताउने अनिताका सपना श्रीमानको आत्महत्यासँगै विलय हुन पुगे। त्यो बेला उनी माइत गएकी थिइन्। 

श्रीमानले आत्महत्या गरेपछि एक्लो बनेकी अनिता अहिले जीवनकै ठूलो संघर्षमा छिन्। पाँच वर्ष र एक वर्षकी छोरीको लालन-पालन अनिताको काँधमा आइपुगेको छ। उमेर नपुगी विवाह भएका कारण उनी बालबालिकाको पोषणको अधिकार पाउनबाट बञ्चित भएकी छिन्। विवाह दर्ता समेत छैन। नाबालकको जन्मदर्ता पनि भएको छैन।

‘सुख होला भनेर विवाह गरे पनि अहिले यो अवस्था आयो। यिनलाई पाल्ने कुनै आयस्रोत छैन। जेठाजुले सहयोग गर्नुभयो। अहिले म आफैं मजदूरी गर्न थालेकी छु,' अनिताले भनिन्।

बुटवल मैनाबगरकी एलिसा नेपाली (नाम परिर्वतन) को १५ वर्षमै विवाह भयो। १७ वर्ष पुग्दा छोरी जन्माइन्। अहिले उनकी छोरी ८ महिनाकी भइन्।

८ कक्षामा पढ्दा-पढ्दै साथी-संगतले विवाह गर्न पुगेकी एलिसाले विवाहपछि पढ्न पाइनन्। छिटो विवाह गरेकोमा उनलाई अहिले पछुतो छ। एलिसाका श्रीमान् पनि १९ वर्षका मात्रै भएका छन्। 

बुटवल दुर्गानगरकी विष्णु सारु मगर लोध (नाम परिर्वतन) ले सानो उमेरमा अन्तरजातीय विवाह गरिन्। दुर्गानगरकै १९ वर्षीय युवासँग भागेर विवाह गरेकी विष्णुको अहिले ६ महिनाकी छोरी काखमा छिन्।

आमा बितेपछि घरको माया कम पाउने ठानेर भागी विवाह गरेकी विष्णुले नागरिकता बनाउन सकेकी छैनन्। ‘लहलहैमा भागेर विवाह गरियो। पढ्न मन छ तर पाइएको छैन। भागेर आएपछि खुसी त हुनैपर्यो,’ उनले भनिन्।

दुर्गानगरकै १८ वर्षीया लीला श्रेष्ठ (नाम परिर्वतन)ले पनि १४ वर्षकै उमेरमा उमेरमा विवाह गरिन्। दुर्गानगरकै १९ वर्षीय श्रेष्ठ थरका युवासँग विवाह गरेकी लीलाको साथमा दुई वर्षको एउटा छोरा छ। उनको पनि नागरिकता बनेको छैन। श्रीमानले मजदूरी गरेर ल्याएको पैसाले दैनिक घरखर्च चल्ने गरेको छ। 

‘सानो उमेरमा विवाह गर्दा पढ्न पाइएन। अहिले पछुताएर के गर्ने? बच्चा जन्मियो। यसैलाई स्याहार गर्दा ठिक्क हुन्छ,’ उनले भनिन्।

यी त प्रतिनिधि उदाहरण मात्र हुन्। विकसित सहरको रुपमा चिनिएको बुटवल उपमहानगरपालिकाभित्र बालविवाहको आश्चर्यजनक आँकडा देखिएको छ। यसरी बालविवाह गर्नेहरुको उमेर ११ देखि  १८ वर्षको छ। गरिबी र अशिक्षाकै कारण विकसित सहरमा समेत बालविवाहको डरलाग्दो तथ्यांक छ।

०००
सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले गरेको सर्वेक्षण अनुसार बुटवल उपमहानगरपालिका भित्रका ३ वटा वडामा १ सय ९३ जना किशोरीको बालविवाह भएको छ। बुटवलका वडा नं. ६, ११ र १७ वडामा गरिएको सर्वेक्षणमा मात्र १ सय ९३ जना बालविवाह गरेका किशोरीहरु फेला परेको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन्।

जीवनका लागि सिकाइ परियोजनाले सन् २०२० को जनवरीमा १ सय ४५ र सन् २०२१ को जनवरीमा १ सय ५४ गरी कुल २ सय ५६ जना किशोरीहरु विद्यालय बाहिर रहेको भेट्टाएको थियो। तीमध्ये १ सय ९३ जना किशोरी बालविवाह भएकै कारण विद्यालय बाहिर भएको पुष्टि भएपछि बुटवल सहरभित्र पनि बालविवाहको अवस्था नाजुक देखिएको हो।

‘पढ्न नपाएका किशोरीहरुसँग संवादको क्रममा उनीहरुले छिटो विवाह गर्दा पढ्न नपाएको बताए। त्यसपछि हामीले सबैको अवस्था बुझ्दा बालविवाहको आश्चर्यजनक आँकडा भेट्टायौं,’ उनले भनिन्।

२ सय ५६ मध्ये १ सय ९३ जना विवाहित, ६३ जना अविवाहित र ३ जना सम्बन्धविच्छेद गरेका किशोरीहरु परियोजनाको व्यावहारिक तथा जीवन उपयोगी सिपमा सहभागी भएका थिए। त्यहीँ १ सय ९३ जना विवाहितहरु सबै उमेर नपुगी विवाह भएको भेटिएको उनले बताइन्।

चरम गरिबी, बसाइँ-सराइ, विवाह भएपछि जीवन सुरक्षित मान्ने कारणले पनि बालविवाह धेरै हुने गरेको उनको भनाइ छ। ‘कतिपय बच्चा जन्माएपछि एकल भएका छन्। कतिका सम्बन्धविच्छेद पनि भएका किशोरीहरु रहेका छन्। हामी पनि यस्ता किशोरी भेट्दा आश्चर्यमा पर्र्यौं,’ उनले भनिन्।

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक अर्जुन तामाङले ११ वर्षको उमेरमा २ जना, १२ वर्षको उमेरमा विवाह भएका २ जना, १३ वर्षमा १४ जना, १४ वर्षमा ४१ जना, १५ वर्षमा ६१ जना, १६ वर्षमा ५७ जना र १७ वर्षमा १६ जना गरी १ सय ९३ जना बालविवाह भएका किशोरीहरु बुटवलका ३ वटा वडामा मात्र भेटिएको बताए।

ती बालबालिकाले एउटादेखि ३ वटासम्म बच्चा जन्माएको समेत भेटिएको छ। १२ वर्षमा एउटा सन्तान हुने १ जना, १६ वर्षमा एउटा सन्तान हुने २ जना, १७ वर्षमा एउटा सन्तान हुने ११ जना, २ वटा सन्तान हुने १ जना, १८ वर्षमा एक सन्तान हुने ९१ जना, दुई वटा हुने ३८ जना र ३ वटा हुने २ जना किशोरीहरु रहेको उनले बताए।

यसरी बालविवाह हुनेमा बुटवलका मजुवा, बुद्धनगर, दुर्गानगर, हात्तिसुढ, रानीगञ्ज, प्रगतिनगर, सुन्दरनगर, टप मजुवा, सत्यवती विनापाते, नियमचोक लगाएका स्थानका किशोरीहरु रहेका छन्।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले भने बुटवलमा बालविवाह भएकोबारे आफूलाई केही थाहा नभएको बताइन्। उनले बालविवाह रोक्नु सबैको दायित्व रहेको भन्दै त्यस्तो भेटिए सरोकारवालालाई खबर गर्न समेत आग्रह गरिन्।

यसैबीच सेता गुराँसले साना व्यवसाय गर्ने ३५ जना छनोट गरी उद्यममा जोड्न थालेको छ। किराना पसल, टेलर पसल, तरकारी बिक्रीदेखि हाँस र कुखुरा पालनमा ७०/३० को लगानीमा उद्यम गर्न किशोरीलाई प्रेरित गरिएको अध्यक्ष सुमित्रा शर्माले बताइन्।

‘२० हजारको उद्यम गर्न लगाउने, त्यसमा १४ हजार फिर्ता नगर्ने र ६ हजार पछि फिर्ता हुने गरी ३५ जना उद्यममा जोडिएका छन्,’ उनले भनिन्।

३ चैत, २०७८, ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।