खतराको घन्टी बजाइरहेछन् बुटवलका पेट्रोल पम्प

खतराको घन्टी बजाइरहेछन् बुटवलका पेट्रोल पम्प

मापदण्ड विपरीत भन्ने जान्दाजान्दै नियमन निकाय तिनै पेट्रोल पम्पलाई पेट्रोलियम पद्धार्थ दिइरहेको छ। 

२०५३ सालअघि सञ्चालनमा आएका पेट्रोल पम्पहरुले अहिलेको मापदण्ड मिट गरेका छैनन्। नयाँ मापदण्ड पूरा नगरी पेट्रोल पम्प सञ्चालन भइरहेको नेपाल आयल निगम भलबारी डिपोले बताएको छ।

राजमार्गसँगै जोडिएका पेट्रोल पम्पहरु कतिपय घरभित्रै र घर नजिकै छन्। यतिसम्म कि, पेट्रोलियम पदार्थ भर्ने सवारी राजमार्गमै रोकिनुपर्छ। बुटवलको भारी आयल स्टोर त्यसको एक उदाहरण हो।

सडक विस्तार हुनुपूर्व सर्भिस लेनमै रहेको सो पम्प अहिले बाटो विस्तारपछि घरभित्र सञ्चालित छ। नजिकै लहरै अरु घरहरु छन्। पम्पका केही दुर्घटना भइहाले नजिकका घर ‘खरानी’ हुने निश्चित छ। 

भारी आयल स्टोर मात्र होइन, राजमार्ग चौराहा नजिकै रहेको भैरब आयल स्टोर, पाल्पा बसपार्कमा रहेको ज्योति पेट्रोल पम्प, रामनगरमा रहेको मिलन ब्रदर्स, भैरब पेट्रोल पम्प, गोलपार्कमा रहेको व्यापारिक कर्पोरेसन, घरसँगै जोडिएका छन। बस्ती नजिकै सञ्चालनमा आएका पम्पहरु धेरै छन्। 

पेट्रोलियम डिलर एसोसिएसन बुटवलका अध्यक्ष प्रेम न्यौपाने २०५३ सालअघि स्थापना भएका पम्पहरु अहिलेको मापदण्डमा आउन नसकेको स्वीकार गर्छन्। ‘पेट्रोल पम्पहरु घरसँगै भएभन्दा पनि घरहरु पेट्रोल पम्पसँगै बनेका हुन्। पहिले स्थापना हुँदा त्यहाँ पम्प मात्र थिए। अहिले घर भरिएका हुन्,’ उनले भने।

बजार क्षेत्रसँग जोडिएको यस डिपोमा कुनै पनि कारणले आगालागी भए बस्ती नै सखाप पार्नेछ।

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ अनुसार महेन्द्र राजमार्ग क्षेत्रमा भएका साधारण पम्पमा जग्गाको क्षेत्रफलको १० कठ्ठा हुनुपर्छ। त्यस्तै शौचालय अपांगमैत्री, पुरुष महिलाका लागि छुट्टै, मुख्य राजमार्गबाट नदेखिने गरी २ मिटरको अग्लो स्क्रिन वाल निर्माण गर्नुपर्ने, चिया-कफी सप, एटिएम सुविधा, हावा भर्ने सुविधा, पार्किङ सुविधा लगायतका हुनुपर्ने मापदण्ड छ।

यही विनियमावली अनुसार राजमार्ग अनुसार फरक-फरक मापदण्ड तयार रहेको छ। यो विनियमावली अनुसार हेर्ने हो भने केही नगन्य बाहेक अधिकांशले मापण्दण्ड पूरा गरेका छैनन्।

तर, २०५३ पछि सञ्चालनमा आएका अधिकांश पम्प मापदण्ड अनुसार नै सञ्चालन भइरहेको उनको भनाइ छ। ‘पुराना सीमित ठाउँमा भएका पम्पहरुलाई सुरक्षात्मक मापदण्ड अपनाउन हामीले निर्देशन दिएका छौं। सबैले यसको पालना गर्नुभएको छ। निगम पनि सुरक्षात्मक मापदण्ड कडाइका साथ पालना गराउनतर्फ लागेको छ। त्यसैले भवितव्य हुनसक्ने सम्भावित घटनालाई हामीले पनि गम्भीर चासो लिएका छौं,’ उनले भने।

रूपन्देहीमा हाल १ सय ८१ वटा पेट्रोल पम्पहरू सञ्चालनमा छन्। १ सय ४५ साधारण, १ नमुना र ३५ अन्य गरी १ सय ८१ पेट्रोल पम्पहरू सञ्चालनमा छन्। रुपन्देहीको मोतिपुरमा सहारा पेट्रोलपम्प एक मात्र पेट्रोल पम्प हो। टंक न्यौपानेले यसलाई सञ्चालनमा ल्याएका हुन्।

नेपाल आयल निगम भलबारी डिपोअन्तर्गत ८ जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ र स्याङ्जामा रहेका कुल ३ सय ४१ पम्प रहेको र त्यसमध्ये एउटा मात्र नमुना पम्प रुपन्देहीमा रहेको नेपाल आयल निगम भलबारी डिपोका प्रमुख नवविनोद पोखरेलले जानाकारी दिए।

पोखरेल पनि २०५३ अघि स्थापना भएका कुनै पनि पम्प अहिले मापदण्डमा नपर्ने गरेको बताउँछन्। ‘त्यो बेलामा खोल्ने दिने भन्ने थियो। अहिले मापदण्ड लागू भएपछि उनीहरु त्यसमा मिट गर्न सक्दैनन्। यो रुपन्देही, यस आसपास मात्र होइन, देशकै समस्याको रुपमा छ। यसलाई केन्द्रले नै केही ऐन, नियमबाट सम्बोधन गर्नुपर्छ,’ उनले भने।

घना बस्तीमा सञ्चालित पेट्रोल पम्पमा कुनै दुर्घटना भए त्यो नियन्त्रण बाहिर पनि जानसक्ने भएकाले त्यसतर्फ राज्यले बेलैमा ध्यान दिई दूरदर्शी योजना बनाउनुपर्ने उनले बताए।

डिपोले रुपदेहीका १ सय ८१ सहित कपिलवस्तुका ७४, नवलपरासीका ४९, गुल्मीका ५, पाल्पाका १०, अर्घाखाँचीका ८, बाग्लुङका २ र स्याङ्जाका १२ वटा गरी कुल ३ सय ४१ पम्पहरुलाई पेट्रोलियम पद्धार्थ सप्लाई गर्ने गर्दछ। यीमध्ये अधिकांशले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको डिपो प्रमुख पोखरेल स्वीकार गर्छन्।

डिपो नजिक झन् जोखिम
बुटवल तथा भैरहवाको बीचमा रहेको भलवबारीमा खासै आवादी नरहेको अवस्थामा तत्कालीन आवश्यकताका आधारमा ४ बिघा ४ कठ्ठा जग्गामा डिपो निर्माण भयो। २०३९ सालमा स्थापना भएको डिपो अहिले बढ्दो सहरीकरणले गर्दा ठूलो जोखिम निम्त्याउने खतरा बढेको छ।

बजार क्षेत्रसँग जोडिएको यस डिपोमा कुनै पनि कारणले आगालागी भए बस्ती नै सखाप पार्नेछ। ‘डिपोको चारैतिर सहरीकरण बढ्दै गएका कारण थप जग्गा एकिकरण गर्न नसक्ने अवस्था छ। त्यसैले दीर्घकालीन समधानका लागि निगमले भैरहवाको रोहोणी खोला छेउमा किनेको करिब १४ बिघा जग्गामा डिपोको नयाँ निर्माण हुनेछ,’ पोखरेलले भने।

नयाँ संरचना बनाउन समय लाग्ने र बस्ती नजिक डिपो भएकाले सेफ्टीहरु अपनाइएको उनको भनाइ छ। उनले फायर स्टम अपग्रेड गरकेको र ठूलो आगालागी भएमा पानीले मात्र निभाउन नसक्ने हुँदा पानीसँग मिसाएर फाल्ने ‘फोम’ को व्यवस्था गरिएको बताए।

‘फोम एक लिक्युड हो। पानीमा मिसाएर फाले पछि भुईंमा पुग्दा त्यसले आगोमा हुने अक्सिजन काट्छ र आगो छिटो निभाउन सक्छ,’ उनले भने।

उनले डिपोसँग १ हजार लिटर फम सहित ६ हजार लिटर पानी अट्ने दमकल रहेको बताए। हाल डिपोको क्षमता पेट्रोल ५ लाख १९ हजार लिटर रहेको छ। यसअघि जम्मा १ लाख ४० हजार मात्र रहेकोमा पछिल्लो ५ महिनापछि क्षमतामा अपग्रेड गरिएको उनले बताए।

त्यस्तै डिजेल ३० लाख ४० हजार र मट्टितेल १ लाख ४० हजार क्षमता छ। अहिले दैनिक डिपोबाट पेट्रोल ३ लाख लिटर, डिजेल १२ लाख लिटर र मट्टितेल ६ हजार लिटर बिक्री हुने गरेको छ।

भलबारी डिपो अन्तर्गत भैरहवा अञ्चलपुरमा ११ कठ्ठा क्षेत्रफलमा पेट्रोल पम्प, ५ कठ्ठा क्षेत्रफलमा हवाई इन्धन एयरपोर्टमा रहेको छ। डिपोका अनुसार प्रादेशिक कार्यालयतर्फ कार्यालय प्रमुख सहित १० जना अधिकृत, १३ जना सहायक कर्मचारी र १५ जना करार कर्मचारी रहेका छन्। हवाई इन्धन डिपोतर्फ कार्यालय प्रमुख सहित २ जनाअधिकृत, २ जना सहायक तथा १२ जना करार दरबन्दी रहेको छ भने अञ्चलपुरको पेट्रोल पम्पमा १ अधिकृत ६ सहायक सहित १९ जना करार दरबन्दी रहेको छ।

प्रादेशिक डिपो भलबारीमा पेट्रोलियम पदार्थको आयात इण्डियन आयलको बेतालपुर डिपो तथा मुगलसरायबाट पेट्रोल आउने गर्दछ। त्यस्तै डिजल इण्डियन आयलको बेतापुर डिपो तथा निगमको अमलेखगञ्ज डिपोबाट, मटिट्तेल इण्डियन आयलको गोण्डा डिपोबाट, एटिएफ इण्डियन आयलको इलासाबाद डिपोबाट र एलपिजी इण्डियन आयलको बरौनी, मधुरा, कर्नाल तथा पारादिप रिफाइनरीबाट आयात हुने भलबारी डिपोका कार्यालयका प्रमुख नवविनोद पोखरेलले बताए।

१ चैत, २०७८, ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।