मुटुमा प्वाल परेकी छोरी बचाउन दलबहादुरले गरेको संघर्ष

मुटुमा प्वाल परेकी छोरी बचाउन दलबहादुरले गरेको संघर्ष

गोरखा, मैलुङका दलबहादुर नेपाली पाँच दिनदेखि काठमाडौंमा छन्। पछिल्लो पाँच महिनामा पाँचै पटक यो सहरको चक्कर काटिसके उनले।

दलबहादुरलाई न यो महँगो सहर घुम्ने रहर छ न त कुनै बन्द-व्यापार नै। ११ महिनाकी छोरीको उपचार गर्नुपर्ने बाध्यताले उनी पटक-पटक काठमाडौं र गोरखा आते-जाते गरिरहेका छन्।

सात महिनाको उमेरबाटै मुटुमा समस्या देखिएपछि छोरीको उपचारका लागि उनी बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र धाइरहेका हुन्।

निम्नवर्गीय परिवारका  दलबहादुर गाउँमै खेती-किसानी गर्छन्। बा-आमा, दुई छोरी र दलबहादुर दम्पतीको आर्थिक स्रोत भनेकै त्यही निर्वाहमुखी खेती हो।

सरकारले विपन्न नागरिकका लागि ठूलो रोगको उपचारमा केही राहत दिएको छ। सोही राहतको आडमा दलबहादुर दम्पतीले गंगालाल अस्पतालमा छोरीको उपचार गराइरहेको छ।

‘छोरी भित्र छे। श्रीमती छोरीसँग। एक जना बाहिर दौडिरहनुपर्छ,' उनी भन्छन्, 'सरकारले उपचारमा केही राहत दिएको छ र मात्रै नत्र हामी जस्ता गरिबले त उपचार नै नपाई मर्नुपर्छ,’ दलबहादुर भन्छन्।

पाँच दिनयता गंगालाल अस्पतालको चौरमै  डेरा जमाइरहेका छन् उनले। आर्थिक अभावले चौरमा बस्नुको विकल्प पनि त छैन।

श्रीमतीले अस्पताल भित्रबाट खानेकुरा मगाउँछिन्, दलबहादुर अस्पतालको क्यान्टिन पुग्छन्। डाक्टरले औषधि ल्याउन भन्छन्, औषधि पसलको लाइनमा उभिन्छन्।  उनी जता-जता जानु परे पनि तयार छन्। उनको एकै ध्याउन्न छ- छोरीलाई निको बनाएर घर लाने। 

छोरीलाई सकुशल घर फर्काउने सपना बोकेका दलबहादुर खुला आकाशमुनि रात कटाउन रत्तिभर सकस मान्दैनन्।

‘मुटुमा भ्वाँङ परेको छ, रगत बग्ने नसा सुकेको छ भन्छन् डाक्टर,’ दलबहादुर सुनाउँछन्, ‘एक महिनाअघि आउँदा बच्चालाई कोरोना संक्रमण भएको छ, निको भएपछि ल्याउनु भन्नुभएको थियो। त्यही भएर अहिले ल्याएको।’

दलबहादुरसँग कुराकानी गरिरहँदा बिहानको समय थियो। उनीजस्ता धेरै मान्छेहरु गंगालाल अस्पतालको चौरमा म्याट ओछ्याएर घाम तापिरहेका थिए। ज्यान तातो भए पनि मन तातो कसैको अनुहारमा देखिँदैनथ्यो।

छोरी सात महिनाकी हुँदादेखि नै दलबहादुरले धेरै रात गंगालाल अस्पतालको चौरमा बिताइसकेका छन्। ‘डाक्टरहरु अवस्था नाजुक छ भन्छन्,’ उनी चिन्ता व्यक्त गर्छन्, ‘केही दिन भर्ना गरेर राख्छन्। अनि घर पठाउछन्। किन त्यसो गरेको हो बुझ्न सक्दिनँ।’

उपचारमा भएको ढिलासुस्तीले छोरीको ज्यान नै तलमाथि हुन्छ कि भन्ने पिर पनि छ उनलाई। ‘पावर भएका मान्छे आउँछन्। तीनले पालो मिच्लान्। सिरियस बिरामी पनि आउलान्,’ दलबहादुर भन्छन्, ‘मेरो छोरी पनि सिरियस नै हो।  २६ गतेदेखि भर्ना गरेर औषधि चलाइएको छ। अप्रेसन गर्नुपर्छ भनेका छन्।’

छोरीको तौल कम भएको कारण अप्रेसन गर्न नसकिएको डाक्टरले बताएका छन्। पाँच महिनामा पाँचै पटक अप्रेसन सहितको उपचारका लागि दलबहादुर दम्पती गंगालालमा दूधे बालिका च्यापेर आइपुग्यो। तर कहिले कोरोना त कहिले तौल कम, कहिले अन्य बिरामी। यस पटक पनि अप्रेसन नहुने कुरा रहेको बताउँछन् दलबहादुर।

०००
दलबहादुरलाई अस्पताल भित्रबाट श्रीमतीको फोन आयो।

‘आमाले पोषिलो खानेकुरा खाए बच्चाको जिउमा लाग्छ। बुढीलाई चना-अण्डा लानुपर्यो्,' उनी म्याटबाट उठे।

उनले सुरुमा छोरीलाई लिएर अस्पताल आउँदा काठमाडौंमा जाडो पलाउँदै थियो। पाँच महिनायता काठमाडौंको हरेक महिनाको चिसो दलबहादुरले खाइरहेका छन्। चिसो थेग्न दाइकी छोरीकहाँबाट सिरक ल्याएका छन्।

होटलमा बसौं भन्ने मन पनि नहुने होइन कहिलेकाहीँ। तर बिरामी छोरीको अनुहार, छोरी स्याहार्ने श्रीमतीको अनुहार अनि रित्तो खल्तीले होटलको बाटो छेकिरहन्छ दलबहादुरलाई।

‘होटलमा बस्न महँगो पर्छ। एक दिन होटलमा बस्ने पैसाले तीन दिन बिहान-बेलुका खान पुग्छ,’ उनको दुखेसो पोख्छन्, ‘खेती-पाती गर्छु। खासै कमाइ केही छैन। गाउँपालिकाबाट सिफारिस ल्याएको छु। जन्मदर्ता छ छोरीको। मेरो नागरिकता दिएको छु। त्ययसैले उपचार भइरहेको छ अहिले।’

दलबहादुर गंगाललालको गेट पास देखाउँछन्।

सरकारले विपन्नका लागि दिने पैसा अस्पतालभित्र नै खर्च हुने रहेछ। बाहिर डिस्काउन्टमा पाइने औषधि अस्पतालभित्र तोकिएकै मूल्यमा किन्नुपर्छ। उपचारमा सरकारले दिने भनिएको एक लाख रुपैयाँ बढीजसो औषधिमै खर्च हुने गरेको अनुभव दलबहादुरसँग छ।

‘जे होस्, सरकारले अलिकति भए पनि सजिलो बनाइदिएको छ र मात्रै नत्र हामीले यत्तिको उपचार पनि कहाँ गराउन सक्नु,’ दलबहादुर भन्छन्, ‘औषधि बाहिरबाट ल्याउन पाइने हो भने त्यही पैसाले अलि बढी उपचार हुन्थ्यो कि?’

०००
चौरमा त जेनतेन रात कटाएका छन् दलबहादुरले। शौचालयको समस्याले पो पिरोलेको रहेछ उनलाई। ‘उपचारमा आएका हुन् सबै। चौरमा बस्छौं। होटलमा भात खान्छौं। तर ट्वाइलेटको समस्याले निकै सताउने रहेछ,’ उनी भन्छन्, ‘ट्वाइलेटको व्यवस्था भए अरु त दु:ख-सुख ठिकै छ।’

बिहान ओपिडीको समय बाहेक बिरामी कुरुवालाई चौरमा बस्न खासै समस्या छैन। डाक्टरले पनि चौरमा नै बस्न सुझाउँछन् रे। दलबहादुर भन्छन्, 'पैसा नभएको मान्छेलाई पनि उपचार त गराउनुपर्योय। त्यही भएर होला, डाक्टरले पनि चौरमै बस्नूस्, खर्च अलि कम हुन्छ भन्ने रहेछन्।'

छोरीलाई निको बनाएर घर लैजाने सपनाले उत्साहित बनाउँछ दलबहादुर। ‘मेरा दुई छोरी। जेठी गाँउमा आमा-बासँग छिन्,’ २४ वर्षीय दलबहादुर आशावादी हुन्छन्, ‘सरकारले दिएको पौसाले निको भइदिए त धन्य हुने थिएँ।’

चना-अण्डा लिएर अस्पतालभित्र छिरे दलबहादुर।

३० फागुन, २०७८, १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।