मास्टरसेफ सन्तोष साहको चर्चाले ऊर्जा पाएका 'सेफ'हरू

मास्टरसेफ सन्तोष साहको चर्चाले ऊर्जा पाएका 'सेफ'हरू

इटहरीः इटहरीको मुम्बई मसलाका हेडसेफ हुन्- राम केसी। साथीभाइको लहैलहैमा होटेल म्यानेजमेन्ट पढेका उनी यतिबेला भने आफ्नो निर्णयमाथि गर्व गर्छन्। 

सन् २०२० को बीबीसी मास्टर सेफ प्रोफेसनल्सको उपविजेता सन्तोष साहले नेपाली परिकारलाई विश्वमाझ पुर्याए। यसले देश विदेशमा उनको व्यक्तिगत चर्चा त बढ्यो नै, नेपाली होटेल तथा रेस्टुरेन्टमा काम गर्ने सेफहरूको समेत इज्जतमा बढोत्तरी भयो।

राम आफूमा पनि सन्तोषको चर्चाले ऊर्जा मिलेको बताउँछन्।

हुन त होटेल तथा रेन्टुरेन्टमा पुग्ने ग्राहक वेटरकै सम्पर्कमा पुग्छन्। खाना मीठो भए स्याबासी नभए गाली र सुझाव पनि उनीहरूलाई नै दिएर हिँड्छन्। 

नमीठो भए त के कुरा, मीठो भए पनि कसले बनाएको खासै वास्ता हुँदैन। खाना बनाउने सेफको बारेमा कुनै जानकारी हुँदैन। वेटरले अर्डर लिने र खानेकुरा दिने भएपछि सेफसँगको सम्बन्ध राख्दैनन्। 

तर सन्तोष साहकै कारण यतिबेला आफू जस्ता सेफहरूमाथि ग्राहकको हेर्ने दृष्टिकोण नै बदलिएको रामले महसुस गरेका छन्। 

०००
प्लस टुपछि के गर्ने र के पढ्ने भन्ने दोधारका बीच उनले सीपसहितको शिक्षा आर्जन गर्ने निधो गरेका थिए।

विराटनगरको सास्तमबाट स्नातक सकेपछि उनले काम पाइहाले। आठ सेमेस्टरको पढाइले उनमा निकै परिपक्वता ल्याएको थियो। पढाइ सकेर उनी ट्रेनिङमा मलेसिया गए। फर्किएपछिको एक वर्ष दिव्यरत्न होटलमा अनुभव सँगाले। 

त्यसपछि ६ महिना योर्स क्याफेमा काम गरेपछि उनी विदेश जाने तयारीमा लागे। साउदी अरब गएर कमाइसँगै सिकाइको दायरा बढाए। 

साउदीबाट चार वर्षे अनुभव र केही पैसा लिएर उनी नेपाल फर्किए। नेपाल फर्काइ उनको रहरभन्दा पनि बाध्यता थियो। कोरोना महामारीको कारण उनी घरैमा बस्नुपर्यो। पछि कम्पनीले पुनः भिसा त पठायो। तर उनी गएनन्। त्यसयता उनी मुम्बई मसलामा व्यस्त छन्। 

किचनमै रमाइरहेका उनको लागि मीठो परिकार बनाउनु नै प्यासन भएको छ। “प्यासन भएपछि गर्मी-जाडो हुँदैन । समस्या र चुनौती सबै क्षेत्रमा हुन्छ नि! गाह्रो भयो भने त्यसको परिणाम पनि मीठो निस्कन्छ”, उनले भने।

कसैले आफूले पकाएको खानाको तारिफ गरिदिँदा दिनभर खुशी हुने राम बताउँछन्। “खानामा तारिफ भयो भने दिनभर खुशी भइन्छ। गाली भयो भने खानेकुरा पनि मीठो हुँदैन।”

औषधि बिक्री गर्न लाइसेन्स चाहिने तर होटेलमा भने जस्तो सर्भिस भए पनि मान्य हुने कुरामा उनको आपत्ति छ। 

मेडिकलमा फर्मासिस्टको जस्तै हरेक होटेलमा होटेल म्यानेजमेन्टको लाइसेन्स अनिवार्य गर्नुपर्ने उनको तर्क छ। जसले गर्दा ग्रहकले स्वस्थकर र मीठो परिकार खान पाउने रामले बताए। 

रामको जस्तै लहैलहैमा 'किचन किङ' बने रूपन अधिकारी। अरूको नजरमा स्मार्ट देखिने र कमाइ पनि हुने बुझेर होटेल लाइनमा लागेका हुन् उनी। 

सँगैका साथीहरू होटेल म्यानेजमेन्टमा लागेपछि आफू पनि लागिपरेको उनले सुनाए। रामधुनी सुनसरीका उनी १८ महिने कोर्ष सकेर जागिरमा लागेका हुन्। मुम्बई मसला आउनुअगाडि विभिन्न होटेलको अनुभव सँगालेको उनले सुनाए। 

काठमाडौंमा समेत काम गरको अनुभव लिएका अधिकारी हातमा सीप भए कमाइको दुःख नहुने तर्क गर्छन्। “बिहानै धन्यवाद आयो भने दिनभर राम्रो खानेकुरा बनाउने जाँगर चल्छ”, उनले भने, “खानेकुरा मीठो हुने कि नहुने भन्नेमा पाहुनाको व्यवहार अनुसार पनि हुन्छ।”

स्टार होटेलमा काम गर्ने उद्देश्य राखेका उनी अझै सिक्न बाँकी रहेको बताउँछन्। नेपालमा पनि सेफको इज्जत बढ्दै गएकाले खुशी हुन थालेको अधिकारीले सुनाए। 

पछिल्लो समय इटहरीमा व्यवस्थित होटलको संख्या बढ्दै गएको छ। जसको कारण होटेल म्यानेजमेन्टका विद्यार्थीको माग पनि बढेको छ। 

क्याफे तथा रेस्टुरेन्टसहित अन्य होटेलमा पनि दक्ष जनशक्तिको रूपमा उनीहरूको माग बढेको हो। यसले रोजगारीकै दायरालाई बढाएको छ।

३० फागुन, २०७८, ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।