'संगीत क्षेत्रमा जोबाट सिक्यो उसैलाई नचिन्ने संस्कार हावी भयो'

'संगीत क्षेत्रमा जोबाट सिक्यो उसैलाई नचिन्ने संस्कार हावी भयो'

दुई दशकदेखि गीत लेखन सक्रिय सर्जक हुन् नुवाकोट, शिखरबेसीका बी. पाण्डे। गायक बन्ने सपना बाकेर राजधानी छिरेका पाण्डे गायक त बनेनन्, तर गीत लेखनमा आफ्नो परिचय बनाउन भने सफल भए।

'शंका नगर मेरो मायामा', 'बनकी चरी के भन्छे के?', 'पहिले दिल साट्ने कुरा भो' लगायतका दर्जनौं हिट गीत नेपाली संगीत क्षेत्रमा पस्किसकेका पाण्डे हाल  रोयल्टी संकलन समाज नेपालका महासचिव समेत छन्। 

उनै पाण्डेसँग आफूलाई मनपर्ने गीतकारका बारेमा उकेराकर्मी इश्वरकुमार मैनालीले गरेको कुराकानीको सम्पादित अंश:

०००
साधारण हिसाबले गीत कसरी लेखिन्छ, के लेख्दा गीत बन्छ र गीतमा के-के हुनुपर्छ भन्नेमै अलमल देख्छु म। त्यो अलमल निवारणका लागि डा. कृष्णहरि बरालका गीत सम्बन्धी पुस्तकहरु नै गुरुमन्त्रका रुपमा रहन्छन् भन्ने लाग्छ मलाई।

सामान्य रुपमा भन्नुपर्दा गीत गाउनकै लागि लेखिन्छन्। तर लेखिएका सबै गीत गाइन्छन् नै भन्ने छैन।

हाम्रो लोक साहित्य हेर्ने हो भने, गीत भरपर्दो सहजीकरणको माध्यम थियो पहिले-पहिले। सामाजले गाउने गीतलाई सहजीकरणको माध्यमका रुपमा प्रयोग गर्दै हाम्रो भाषा, संस्कृति र लोक परम्परा यहाँसम्मको आइपुगको हो।

यदि  असहज र क्लिष्ट शब्दहरु हुन्थे भने भाषाको विकास सहज हुँदैनथ्यो। भाषाको विकास सहज नभएपछि अन्य कुरा सहज हुने अवस्था आउँदैन।

म दुई दशकयता गीत लेख्ने, बेलाबखत संगीत सिर्जना गर्दै आइरहेको छु। संगीत उत्पादनको काम पनि गर्दै आएको छु। तर मेरो छवि गीतकारको रुपमा स्थापित छ। म आजको स्थानमा आइपुग्न  डा. कृष्णहरि बरालका गीतहरुले धेरै सहयोग गरे।

डा. बरालका गीतहरु सुन्नु, उनको तरिका पहिल्याउनु नै मरो प्ररम्भिक पाठशाला जस्तो बन्न पुग्यो। उहाँको पहिलो गीत 'भक्त हुँ यो देशको' बाट नै मैले पछ्याउँदै आएको हुँ।

डा. बरालले जनबोलीका शब्दको प्रयोग कथ्य शैलीमा नै गर्नुहुन्छ। सरल देखिने वाक्यहरु बनाउनुहुन्छ। तर ती वाक्यहरु धेरै नै गहकिला हुने गर्छन्। उहाँको गीत लेखनको सूत्रमा नै म पनि अभ्यास गर्दै गीत लेख्दै आएको छु।

उहाँका गीतको प्रभावमा मैले केही गीतहरु पनि लेखेको छु।  सरल लेखाइ सुन्दा पनि सरल लाग्न सक्छ। तर सरल लेख्नु धेरै कठिन कार्य हो।

गीतका बारेमा के-कसो भन्ने बुझ्नमा मलाई डा. बरालका गीतहरु र गीतसँग सम्बन्धित पुस्तकहरुले धेरै नै सहयोग गरे। 

धेरैजसोले जोसँग सिकेको हो, उसबाट सिकेको हुँ भन्ने आँट गर्दैनन्। राम्रो लागेर नक्कल गर्ने तर जसको नक्कल गरेको हो, उसैलाई नचिनेझैं गर्ने संस्कार हामीमा देखिन्छ। त्यसलाई निवाकरण गर्नु जरुरी छ। गलत संस्कार र गलत अभ्यासलाई तोड्न मात्र सके पनि नेपाली संगीत क्षेत्रको रुप फेरिँदै जाने थियो भन्ने लाग्छ।

नेपालका अधिकांश गीतकार  भर्सटाइल पनि छैनन्। तर डा. बराल निकै भर्सटाइल गीतकार हुनुहुन्छ। उहाँका गीत सिनेमामा पनि उत्तिकै स्थापित छन्। आधुनिकमा पनि उत्तिकै स्थापित छन्। 

डा. बरालका गीतहरु नेपाली समाजमा स्थापित हुनुको कारण भने उहाँको सरल लखाइ नै हो भन्ने मान्छु म। सरल लेखाइमा मन छुने शब्द हाल्न माहिर हुनुहुन्छ उहाँ। 

डा. बरालकै पदचाप पछ्याउँदै म आज रोयल्टी संकलन समाज नेपालको महासचिव पदमा छु र सर्जकका हक-हितका लागि लडिरहेको छु। 

रोयल्टीको विवाद हाम्रो क्षेत्रमा समाधान हुँदै जाने क्रममा छ। विदेशमा नेपाली गीतको प्रवर्द्धन र रोयल्टी संकलन गर्न म पहल गरिरहको छु। यसो गरिरहँदा भोलिका दिनमा हाम्रा सर्जकहरुलाई आर्थिक रुपमा सहज होस् भन्ने नै मेरो उद्देश्य हो।

तर, वर्तमान अवस्थामा कसैले म गीत लेख्छु, डा. बरालझैं बन्छु भन्यो भने परिवारले सहमति दिने अवस्था कम आउला। भोलि आउँदै गरेका पुस्ताले म गीत मात्र लेख्छु, म पनि डा. बराल जस्तै गीतकार बन्छु भनेर यस क्षेत्रमा लाग्दा सहज हुने बाटोको सहजीकरण गर्ने मेरो रहर छ। यसमा गीतकार मात्र नभई, संगीतकारदेखि अन्य सबै आवश्यक पक्ष पनि जोडिन्छ नै।

क्षेत्र बलियो भयो भने राम्रा मान्छे आउलान्। तिनले अझ राम्रा बनाउलान् र मलाई मनपर्ने गीतकार डा. कृष्णहरि बराल जस्ता धेरै बरालहरु भएर हाम्रो संगीत उद्योगलाई उचाइमा पुर्याउलान् भन्ने लाग्छ। र, म त्यसकै लागि काम गरिरहेको छु।

२८ फागुन, २०७८, १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।