सानो, तर आफ्नो उद्यम: भारतमा महिनाको ६ हजार कमाउन धौ-धौ, नेपालमा दिनकै तीन हजार

सानो, तर आफ्नो उद्यम: भारतमा महिनाको ६ हजार कमाउन धौ-धौ, नेपालमा दिनकै तीन हजार

सुर्खेतः तीन वर्षअगाडि सुर्खेत चौकुने गाउँपालिका–१ केलाबोटका हेमन्त ओली होटेल लाइनमा काम गर्ने भन्दै भारतको महाराष्ट्रको कोहोलापुरमा गए। त्यतिबेला उनी १७ वर्षका मात्रै थिए।

घरायसी समस्याका कारण पढाइ बीचैमा छोडेका हेमन्तले ६ महिनासम्म हेल्परको काम गरे। साढे ६ हजार महिनामा कमाउँथे। त्यसपछि बढुवा भयो- ‘कुक’मा। अनि दैनिक पाँच सय रुपैयाँका दरले महिनामा १५ हजार कमाउन थाले। 

दुई वर्ष कुक भएर काम गरेका उनले दैनिक डेढ सय जनासम्मलाई खाजा नास्ता पकाएर खुवाउँथे। दिनभरि दुःख गरेर आठ–दश हजार रुपैयाँ कमाउँथे तर हातमा पाँच सय रुपैयाँ मात्रै पर्थ्यो। 

अरू सबै कमाइ मालिकलाई बुझाउनुपर्थ्यो। तर पनि मालिकले कहिल्यै उनलाई जस दिएनन्। उल्टै काम नै नभएको भन्दै कचकच गर्थे।

हेमन्तले सोचे परदेशमा जति दुःख गरे पनि न त कमाइ, न त सम्मान नै पाइने रहेछ। बरू स्वदेशमै फर्किएर केही गर्छु भनेर उनी गाउँ फर्किए। 

अहिले पञ्चपुरी नगरपालिका–५ बाबियाचौरमा उनले ‘दाजुभाई चाइनिज फास्टफुड’ खोलेका छन्। परदेशको सीप स्वदेशमा सदुपयोग गरेका छन्।

डेढ महिनाअघि भारतमै कमाएको एक लाख ७० हजार रुपैयाँको लगानीमा फास्टफुड खोलेका उनले अहिले दैनिक तीन हजार रुपैयाँसम्म कमाउँछन्। 

घरभाडा र सामग्री खर्च कटाएर महिनामा ३० हजार रुपैयाँ हेमन्तले खुद नाफा कमाउने गरेका छन्।

‘करिब तीन वर्षजति मैले महाराष्ट्रको कोहोलापुरमा चाइनिजमा कुक मेन भएर काम गरेँ। हेल्परबाट कुकुमेनसम्म भएँ,’ हेमन्तले भने, ‘दिनभर १० हजार कमाए पनि मैले पाउने त्यही पाँच सय रुपैयाँ मात्रै, त्यही पनि मालिकको गाली खाएर लिनुपर्ने। जति काम गर्दापनि सुख नमिल्ने। त्यसैले अरूको देशमा अपहेलित भएर काम गर्नुभन्दा आफ्नै देशमा सम्मानका साथ काम गर्छु भनेर परदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गर्दैछु।’

आफूले सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न सके घरपरिवार र सम्मानका साथ जीविका चलाउन सकिने उनले बताए।

अहिले आफूले सानोबाटै व्यवसाय गरे पनि पछि ठूलो होटेल नै खोलेर अन्य युवाहरूलाई पनि रोजगारी दिने हेमन्तको सपना छ।

उनले अहिले चाउमिन, राईस, चिकेनका परिकार, सुप, ललिपप, थुक्पा, चिल्ली, मम लगायतका चाइनिज र नेपाली आइटमहरू बनाउने गरेका छन्।

२८ फागुन, २०७८, ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।