बढ्दै हत्याको ग्राफ, प्रमुख कारण यौन र सम्पत्ति

बढ्दै हत्याको ग्राफ, प्रमुख कारण यौन र सम्पत्ति

इटहरी: ४ जेठ २०७७ मा विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलाललाई आफ्नै श्रीमती मीना श्रेष्ठले हत्या गरिन्। मीनाले आफ्ना प्रेमीे ब्रम्हदेव शाहको सहयोगमा घाँटीमा डोरीले बाँधेर श्रीमानको हत्या गरेकी थिइन्।

बेलुकाको खाना खाएर सुत्ने बेलामा मीना र ब्रम्हदेव मिलेर घाँटी थिची हत्या गरेको पुष्टि भयो। हत्यापछि घटनालाई सामान्य बनाउन मीनाले बिहान ३ बजे नै मृतक दुलाललाई कोशी अस्पताल पुर्याइन्।

एक वर्षदेखि ब्रम्हदेवसँग अवैध सम्बन्धमा रहेकी मीनाले नै श्रीमानको हत्या योजना बनाएकी थिइन्। प्रेम सम्बन्धमा श्रीमान बाधक बनेपछि मीनाले प्रेमीको साथ मागेकी थिइन्।

चालु आवको ७ महिनामा प्रदेश १ भरि ७० वटा हत्याका घटना भएका छन्। त्यसमध्ये सबैभन्दा बढी अधवैंशे अवस्थाका पुरुष र महिला रहेका छन्।

ब्रम्हदेव, दुलालको औषधि पसलमा काम गर्दै आएका थिए। श्रीमतीसँगको अनैतिक सम्बन्ध थाहा पाएपछि दुलालले ब्रह्मदेवलाई कामबाट निकालिदिएका थिए।

सोही विषयलाई लिएर दुलाल दम्पतीबीच बारम्बार घर–झगडा हुने गरेको थियो। त्यही झगडाले हत्याको रुप लिएको प्रहरी अनुसन्धानबाट पुष्टि भयो। हाल मीना र ब्रम्हदेवसहित अर्का एक युवा यही घटनामा जेल सजाय भोगिरहेका छन्। 

सम्पत्ति हत्याउन आमाको हत्या
माघ पहिलो साता सम्पत्ति आफ्नो नाममा पार्ने योजना अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका– २, जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले आफ्नै आमाको हत्या गरे।

आमाको नाममा रहेको जग्गा हत्याउन कमलले ९० वर्षीया जगमाया श्रेष्ठको हत्या गरी सुटुक्क जंगलमा लगेर जलाएका थिए। वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरा कमललाई १७ माघमा पक्राउ गरेर परेका उनी कर्तव्य ज्यानमुद्दामा थुनामा छन्।

कमलले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र दुई जना दाजुलाई थाहै नदिई श्रीमतीको नाममा नामसारी गरेका थिए। सोही विषयमा परिवारमा झगडा सुरु भएको थियो।

आमा र दाजुहरूले अदालतमा अंश मुद्दा पनि दर्ता गराएका थिए। अदालतले उक्त जग्गामध्ये पाँच कट्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो। त्यसैको रिसमा कमलले वृद्ध आमाको हत्या गरी चिहानघारीमा लगेर जलाएका थिए।   

घटना तीन
झापा, दमकका दिनेश सिग्देललाई आफ्नै श्रीमती र उनका प्रेमी मिलेर हत्या गरी शव जंगलमा फ्याँके। यही फागुन ४ र ५ गते उनीहरुले धरान–धनकुटा सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र शव राखेर फ्याँकेका थिए। सिग्देलकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीले मिलेर हत्या गरेका हुन्। अनिताकै योजना अनुसार हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

घटनास्थल वरपरि केही प्रमाण नभेटिएपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै मृतकको फेस स्केच गरेर सर्वसाधारणको सहयोग मागेको थियो। मृतकसँग भएको फेस मास्क बहराइनी कम्पनीको पक्त लागेपछि त्यसैको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

सुनसरीको बराह क्षेत्र– १०, प्रकाशपुर माइत भएकी अनिता दिनेशसँगको विवाहपछि विराटनगरमा भाडामा बस्दै आएकी थिइन्। 

मृतक सिग्देल पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएका थिए। पुस २० गते नेपाल आए पनि २१ गते उनी श्रीमती अनितासँग विराटनगरको एक होटलमा बसेका थिए।

अनिताले २२ गते बेलुका आफ्ना प्रेमी सरोज भण्डारीलाई बोलाएर सिग्देलको हत्या गरेकी हुन्। सोही दिन दुवै प्रेमी–प्रेमिका भेडेटार होटेलमै बास बसेका थिए। 

प्रदेश १ प्रहरी कार्यालयको तथ्याङ्क अनुसार हत्याका घटनाहरु बढ्दै गएको छ। चालु आवको ७ महिनामा प्रदेश १ भरि ७० वटा हत्याका घटना भएका छन्। त्यसमध्ये सबैभन्दा बढी अधवैंशे अवस्थाका पुरुष र महिला रहेका छन्। विगतका वर्षदेखि नै बढ्दै आएको हत्याका घटनाको प्रमुख कारण सम्पत्ति र अवैध सम्बन्ध देखिएको छ। 

अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार श्रीमान् विदेशमा जाने र श्रीमती बाहिरी पुरुषको साथ लाग्ने प्रवृत्ति बढ्दै गएको छ।

संघीय प्रहरी इकाई धरानका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार आफ्नो सानो कमजोरी लुकाउन झन् ठूलो अपराध हुने गरेका छन्। एक आपसमा देखासिकी गर्ने प्रवृत्ति बढ्दै जानु र एकअर्कामा सम्मानको भाव हराउनुले आपराधिक मानसिकता विकास गरको उनको बुझाइ छ। 

संखुवासभाको मादीमा भएको एकै परिवारका ६ जनाको हत्याको आफैंले अनुसन्धान गरेको बताउँदै उनले देखासिकी र सामान्य इगोले काम गरको बताए। प्रविधिको कारण पारिवारकै सदस्यको बीचमा आत्मीयता हराएर हरेकमा व्यक्तिवादी प्रवृत्ति बढ्दै जाँदा यस्ता अपराधका घटना हुने गरेको एसपी दाहालको बुझाइ छ। 

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्रका प्रोफेसर डा. राम क्षेत्री पनि वैदेशिक रोजगारी मुख्य समस्याको रुपमा देखिएको बताउँछन्। देशमै रोजगारीको प्रबन्ध नहुने समस्याले समाजले विखण्डनको बाटो समाएको उनको तर्क छ।

त्योभन्दा बढी रहेक मानिसमा देखासिकीको अभ्यास सुरु भएको र त्यसले जसरी पनि आर्थिक रुपमा बलियो छु भन्ने प्रमाणित गर्नुपर्ने चुनौतीका बीच अपराध बढेको उनले बताए।

अपराध बिटका पत्रकार नवराज मैनाली पहिला आपराधिक समूहबाट हुने अपराध अहिले परिवार आफन्त र चिनजानकै व्यक्तिबाट हुने गरेको बताउँछन्। मैनालीका अनुसार गम्भीर किमिसका अपराधमध्ये करिब ८५ प्रतिशत आफन्तबाटै भएका छन्। परिवार भित्रैबाट हत्या तथा बलात्कारका घटना बढेको र जसको कारण समाज डरलाग्दो अवस्थामा पुगेको उनको तर्क छ। 

अपराधको प्रवृत्ति फेरिनुलाई मैनाली समाजमा नैतिक मूल्य–मान्यतामा ह्रास भएको बताउँछन्। छोटो समयमै धनी हुने महत्वाकांक्षाले अपराध र अनैतिकताको बाटो रोजाइमा परेको उनले बताए। त्यससँगै वैदेशिक रोजगारी तथा सामाजिक सञ्जालको प्रयोगमा आएको व्यापकताले विवाहेत्तर सम्बन्ध पनि बढाएको मैनालीले प्रष्ट पारेका छन्।

२५ फागुन, २०७८, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।