जथाभावी आयुर्वेदिक औषधि उत्पादन र बिक्री-वितरण रोक्न छुट्टै ‘जिएमपी’ निर्देशिका

जथाभावी आयुर्वेदिक औषधि उत्पादन र बिक्री-वितरण रोक्न छुट्टै ‘जिएमपी’ निर्देशिका

काठमाडौं : नेपालमा पहिलो पटक आयुर्वेदिक औषधि उत्पादनका लागि छुट्टै जिएमपी (कुशल औषधि उत्पादन अभ्यास) निर्देशिका बन्ने भएको छ।

सामान्यतः नेपालमा परम्परागत रुपमा औयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ। निर्देशिका जारी भएपछि आयुर्वेदिक औषधिको गुणमा फरक नपर्ने गरी आधुनिक प्रविधि अपनाएर जिएमपी मापदण्ड पालना गनुपर्ने औषधि व्यवस्था विभाग स्रोतले बताएको छ। 

विभाग स्रोतले भन्यो, ‘अन्तर्राट्रिय मान्यता अनुरुप उत्पादन गर्नुपर्ने भएकाले निर्देशिका जारी गर्न लागिएको हो।’

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले एलोपेथी औषधिको उत्पादन संहिता जस्तै आयुर्वेदिक औषधिको उत्पादनसम्बन्धी जिएमपी निर्देशिका (गाइडलाइन) तयार गर्न लागिएको जानकारी दिए। उनले एलोपेथी औषधि उत्पादन संहितामा आधारित भएर आयुर्वेद औषधि उत्पादन सम्बन्धी जिएमपी निर्देशिका बनाउने प्रक्रियामा रहेको बताए।

केसीले विश्व स्वास्थ्य संगठनले जारी गरेको परमपरागत चिकित्सा सम्बन्धी ‘डब्लुएचओ-जिएमपी गाइडलाइन’लाई समेत आधार मानेर आयुर्वेद जिएमपी निर्देशिका बनाउने प्रक्रियामा रहेको जानकारी दिए। 

उनका अनुसार हालसम्म कुशल औषधि उत्पादन संहितामा आधारित भएर आयुर्वेदिक औषधि उत्पादन भइरहेको छ। तर, आयुर्वेदिक औषधिकै उत्पादनका लागि कुशल औषधि उत्पादन सम्बन्धी निर्देशिका भने पहिलो पल्ट बन्न लागेको केसीले जानकारी दिए। उनले भने, ‘आयुर्वेदिक कुशल औषधि उत्पादन संहिता (निर्देशिका) पहिलो हुन्छ।’ 

आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष मानबहादुर साउदले स्वदेशी व्यवस्था अनुसार जिएमपी निर्देशिका (नेसनल जिएमपी गाइडलाइन) हुनुपर्छ भन्ने सुझाव दिएको बताए।

उनले भने, ‘सुझाव लिएको छ। विश्व स्वास्थ्य संगठनको जिएमपी हैन, राष्ट्रिय जिएमपि निर्देशिका हुनुपर्छ।’ 

नेपालका साना-साना उद्योगहरुले पनि पालना तथा लागू गर्नसक्ने जिएमपी हुनुपर्ने साउदले बताए। कानुन जटिल हैन सहज हुनुपर्छ भन्ने माग गरिएको उनले जानकारी दिए। अध्यक्ष साउदले भने, ‘स्वदेशी उद्योगलाई प्राथमिकता दिएर स्वदेशी उद्योगका लागि अनुकुल हुनेगरी जिएमपी गाइडलाइन तयार गरिनुपर्छ।’

जथाभावी हुने उत्पादनको नियन्त्रण
आयुर्वेदिक औषधि उत्पादन सम्बन्धी जिएमपी निर्देशिका जारी भएर कार्यान्वयनमा आएपछि सुरक्षित किसिमको आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्देश्य छ। त्यसैगरी औषधिको प्रभावकारिता पनि हुन्छ। यसले गुणस्तरीय औषधि उत्पादन गर्न मद्दत मिल्नले स्रोतले जानकारी दियो।

कुशल उत्पादन अभ्यासको प्रमुख उद्देश्य नै औषधिको मात्रामा सही घटकद्रव्य, सुरक्षितता, प्रभावकारिता र गुणकारिताको सुनिश्चिता हुने आयुर्वेद चिकित्सक बताउँछन्। 

यो निर्देशिका जारी भएपछि जथाभावी रुपमा जसले पायो त्यसले आयुर्वेदिक औषधि उत्पादन गर्न नपाउने स्रोतले बतायो। स्रोतले भन्यो, ‘निर्देशिका जारी भएपछि औषधि व्यवस्था विभागबाट अनुमति लिएर मात्रै आयुर्वेदिक औषधि उत्पादन र बिक्री-वितरण गर्न पाइन्छ।’ 

यसले मापदण्ड बिना जथाभावी उत्पादन गरेर बिक्री-वितरण गर्ने कुरा पनि नियन्त्रण गर्न सकिने छ। स्रोतका अनुसार गुणस्तरीय मापदण्ड पूरा भए/नभएको अनुगमन तथा निरीक्षण औषधि व्यवस्था विभागले गर्छ। 

विभाग स्रोतका अनुसार विभागबाट स्वकृति लिएर आयुर्वेदिक औषधि बजारमा बिक्री-वितरण भइरहेका छन्। 

तर,  कतिपय वैद्य, लामा, गुभाजु जस्ता परम्परागत रुपमा उत्पादित आयुर्वेदिक औषधि बिनास्वीकृति आफ्नै ढंगले बिक्री-वितरण हुँदै आएका छन्। 

स्रोतका अनुसार नेपालमा करिब ५० वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालित छन्। यी उद्योगहरुले विभागबाट उत्पादनका लागि स्वीकृत लिएका छन्। विभागले एलोपेथी जिएमपी अनुसार अनुगमन गरे पनि व्यावहारिक नभएपछि आयुर्वेदिकको छुट्टै जिएमपी सम्बन्धी निर्देशिका जारी गर्न लागिएको हो।

यो निर्देशिका जारी भएपछि जिएमपी स्वीकृति लिएर उत्पादन गर्नुपर्ने हुन्छ। अध्यक्ष साउदले भने करिब ४५ वटा आयुर्वेदिक औषधि उत्पादन उद्योग सञ्चालित रहेको जानकारी दिए।

आयुर्वेदिक तथा जडिबुटीजन्य औषधिहरुको कुशल उत्पादन अभ्यास प्रक्रियाको लागि प्रत्येक उत्पादकले जडिबुटी संकलनदेखि बजार बिक्री-वितरणसम्म सुहाउँदो प्रविधि, प्रक्रिया, तरिका र प्रणाली अपनाउनुपर्ने विषय निर्देशिकामा समावेश गरिएको स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘प्रत्येक आयुर्वेदीय तथा जडिबुटीजन्य औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनुपर्ने छ।’

त्यसैगरी ‘उत्पादित ब्याचको उत्पादन तथा नियन्त्रण, बजार अनुमतिपत्र लिएर उत्पादन, नियन्त्रण र वितरण भएको छ’ भनी सम्बन्धित निकायले मान्यता नदिएसम्म औषधिको बिक्री-वितरण गर्न नपाइने व्यवस्था निर्देशिकामा समेटिएको स्रोतले जानकारी दियो। त्यसैगरी निर्देशिकामा आयुर्वेदिक उत्पादन गर्ने क्षेत्र सफा तथा स्वच्छ हुनुपर्ने व्यवस्था समेटिने छ।  भवन तथा परिसरमा उपयुक्त प्रकाश, तापक्रम, आद्रताजस्ता नियम पालना गर्नुपर्ने हुन्छ।

निर्देशिका बन्ने अन्तिम चरणमा 
स्रोतका अनुसार विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा विज्ञ नियुक्त गरी आयुर्वेदिक औषधि उत्पादनका लागि जिएमपी निर्देशिका बनाउन खाका तयार गरियो। त्यसपछि विज्ञ समूह गठन गरी छलफल गरेर प्रारम्भिक निर्देशिकाको मस्यौदा तयार गरियो। 

गठित सो विज्ञ समूहमा आयुर्वेदका विषयगत विज्ञ र औषधि व्यवस्था विभागका विभागीय कर्मचारी लगायत थिए। 

मस्यौदा तयार भएपछि आयुर्वेद औषधि उत्पादक संघको सुझाव लिइयो।
सो सुझाव समेटेर मस्यौदालाई करिब अन्तिम रुप दिइएको स्रोतले बतायो। केही दिनअघि तयार भएको निर्देशिकाको मस्यौदामाथि छलफल (वर्कसप) समेत भइसकेको छ।

स्रोतका अनुसार सो छलफलमा आयुर्वेदका विभिन्न विषयविज्ञ, विभागका महानिर्देशक, महाशाखा तथा शाखा प्रमुख लगायतको समूह सहभागी थियो। 

छलफलमा उठेका प्रश्न तथा सुझावलाई समेत समेटेर आयुर्वेद सम्बन्धी जिएमपी निर्देशिकाको मस्यौदाले करिब अन्तिम रुप पाएको विभाग स्रोतले जानकारी दियो।

स्रोतले भन्यो, ‘निर्देशिकाले करिब अन्तिम रुप पाएको छ। निर्देशिका चैतमा जारी गर्ने तयारी छ।’

तर, निर्देशिकाको रुपमा जारी गर्ने कि संहिताको रुपमा जारी गर्ने भन्ने विषय टुंगिनसकेको विभागका सूचना अधिकारी केसीले जानकारी दिए।

२४ फागुन, २०७८, ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।