शब्दमाला

पूर्व रथी कृष्णनारायणको खुलासा : थाइ विमान दुर्घटनामा सघाउन आएका भारतीय सेनाले नेपाल-चीन सीमाको जासुसी गरे


थाइ एयरलाइन्सको एक सय तेह्र जना यात्रु बोकेको लाइट THA  TG 311 कल साइन भएको एयरबस ३१ जुलाई १९९२ मा दुर्घटना भयो। विमानमा ९९ यात्रु र १४ जना विमानका सदस्यहरू थिए। त्यस बेला मेरो भूमिका सर्च एन्ड रिकभरी कमान्डर थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। प्रधानसेनापति गडुलशमशेर जबरा हुनुहुन्थ्यो। म क्वार्टर मास्टर जनरल थिएँ।

अपुष्ट समाचारबाट एक जिम्मेवार कमान्डर तत्कालीन ७ बाहिनीपतीले विमानको भग्नावशेष भेटियो भनी टिष्टुङ पालुङतिरको टिनको पाता छाएको घर देखाएपछि सरकारी सूचना संयन्त्र विफल भएको थियो। म आफैँ घटनाको सोधखोजमा लागेको थिएँ। विमानस्थलमा पाल टाँगेर सञ्चारकर्मी र पीडित परिवारका व्यक्तिहरूसँगको सम्पर्कमा थिएँ।

काठमाडौँदेखि ३७ किलोमिटर उत्तरतर्फ घ्याङफेदी भन्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने ठाउँमा विमानका भग्नावशेषहरू भेटियो। म आफैँले स्थलगत भ्रमण गरेर निश्चित भएपछि मात्र सूचना सञ्चार माध्यममा दिइएको थियो।

तर प्रधानमन्त्री कोइरालाले पहिलो दिनको हाम्रो आधारहीन समाचारपछि निकै आतुर भएर सहयोगका लागि भारतसँग हारगुहार गरिहाल्नुभयो। भारतबाट भारतीय वायुसेनाका ४ वटा हेलिकप्टर काठमाडौँ उत्रिए।

विमान दुर्घटनाबारेको सत्य तथ्य जान्नलाई सवाररत यात्रुका देशका कूटनीतिक कर्मचारीको सक्रियता बढेको थियो। तर अवस्थाको विस्तृत जानकारी गृहमन्त्रीलाई समेत थिएन। गृह मन्त्रालयको उक्त मिटिङमा मलाई पनि बोलाइएको थियो।

ब्रिफिङमा गृहमन्त्रीलाई विभिन्न देशका राजदूतहरूले आफूले के कस्तो सहयोग गर्न सकिन्छ भनी गृहमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दा उहाँबाट जबाफमा अप्ठ्यारो महसुस गरेको अनुमान गरी मै अग्रसर भएर 'गृहमन्त्रीज्यू यसबारेमा मलाई जानकारी भएको विषय' भन्दा उहाँले ‘ल जरसाब’ भन्नुभयो।

मैले नै सबै यथार्थ जानकारी दिएँ। त्यहाँ उपस्थित राजदूतहरूले के सहयोग गर्न सकिन्छ भनेर सोध्नुभएको थियो।  मैले ‘हामीसँग रेफ्रिजेरटर भ्यानको व्यवस्था नभएकाले भेटिएका अवशेषहरूलाई  सैनिक अस्पतालसम्म पुर्‍याउन यदि तपाईंहरुमध्ये कोहीसँग साधन छ भने कृपया सहयोग गर्नुहोस्’ भने।

बेलायती राजदूतले 'हामीसँग छ' भनी गाडीको प्रबन्ध गर्नुभयो। मेरो त्यस ब्रिफिङले तत्कालीन गृहमन्त्री देउवालाई धेरै सहज गरेको थियो। प्रस्तुति र जानकारी पदमा बस्दैमा प्राप्त हुने कुरा होइन, आफैँले सोधेर, खोजेर आनि कार्यक्षेत्रका बारेमा आफैँले तयारी गर्नुपर्ने हो। तर यहाँ के प्रधानमन्त्री के गृहमन्त्री के अन्य मन्त्री सबै जनाले कर्मचारीका भरमा काम गर्ने गरेको देखिन्थ्यो।  

कोइरालाको आग्रहमा आएका भारतीय टोलीकाले हामी सहायता गर्छौ त भने तर उनीहरूको इन्ट्रेस्ट भने अर्को देखियो। उनीहरू रेस्क्यु अप्रेसनमा भन्दा बढी कहिले क्यासिनो, कहिले उत्तरी क्षेत्रमा चासो देखियो। उनीहरू मौसमको कारण देखाएर नेपालमा टिकिरहने बहाना बनाउन थाले। उनीहरूको गतिविधी हेर्दा नेपालको आन्तरिक मामलाको सूचना लिनु र उत्तरतर्फको रेकी रिसर्च गर्ने देखियो।

यसो हेर्दा अवस्था बिग्रिएला जस्तो देखियो। अवस्था बिग्रनुभन्दा पहिले नै शान्त पार्न आवश्यक छलफलको जिम्मेवारी मकहाँ आइपुग्यो। मैले तुरुन्तै उनीहरुलाई बोलाएर भनेँ,‘आइदिनु भयो, सहयोगका लागि धन्यवाद। अब कृपया तपाईँहरू फर्कनुहोस्, हामीलाई सहयोग गर्नुहोस्।’ 

भारतीय क्याप्टेनले भन्यो, ‘मौसम अलि प्रतिकूल छ!’

मैले ‘ओके, मौसम प्रतिकूल छ भने म मेरो सेनाको पाइलटलाई बोलाउँछु' भनेपछि त  'नो नो सर' भनेर भनेर आफैँ निस्किएर भारत गए।

देश विषम अवस्थामा परेका बेला सहयोगका नाममा छिमेकीले आफ्नै स्वार्थ बोकेर आएका हुन्छन्। विपद्मा सबैको ध्यान घटनामा केन्द्रित हुँदा उनीहरू छलेर आआफ्नो स्वार्थको काम पूरा गर्छन्। हामीले यस्तै घटना भूकम्पका बेला पनि देख्यौँ। सहयोगका नाममा आएका विमानहरूले केके गरे भन्ने?

यसमा देशको प्रधानमन्त्री र सेनाको समन्वय हुन आवश्यक छ। नेताले सिद्धान्तको नाममा, व्यक्ति, परिवार, क्षेत्र, जाति, धर्म आदि स्वार्थको नाममा देश, पद, अधिकार क्षेत्र सम्झौता गर्न सक्छन्। तर सेनाले कहिल्यै देशको हित विपरीत जान सक्दैन। किनकि यस देशको माटोको रक्षार्थ खटिएको सेना देशको पर्यायवाची संस्था हो। आन्तरिक सुरक्षामा सदैव चनाखो भई नियालिरहनु पर्छ। त्यस बेलाको मेरो नेतृत्व र कार्यसम्पादनको सबैबाट प्रशंसा भएको थियो। त्यो सम्झँदा देशका लागि केही थ रँगे भन्ने लाग्छ।

राजाको नाममा बाकस भरी चरेस

न्यूयोर्क मिसनबाट मिसनको नाममा एउटा शङ्कास्पद सामान आएको र पहिला पनि यसरी आएको कुराको जानकारी परराष्ट्र मन्त्रालयमा पठाई के गर्ने भन्ने निर्देशन मागेछन्। उक्त शङ्कास्पद सामान नेपालबाट युएनको नेपाल प्रतिनिधि कार्यालयको नाममा गएको थियो।

गोप्य रूपमा न्यूयोर्क जान मलाई खटाइयो। त्यो कन्साइनमेन्टबारे परराष्ट्र सचिव जर्नेल पदमबहादुर खत्रीले हाम्रो दुतावासमा गोप्य सन्देश पठाउनुभयो। जसमा मिलिटरी अट्याचेलाई गोप्य रूपमा न्यूयोर्क पठाई उक्त सामान बुझी वासिङटनमा ल्याई सामान के हो भनी प्रतिवेदन गर्नू भनेर मलाई खटाइएको थियो।

जरुरी र गोप्य सन्देश पाएकै दिन म वासिङ्टन डिसीको नेसनल एयरपोर्टमा गएँ। त्यसपछि न्यूयोर्क गएँ। सो रात होटलमा बास बसेँ। भोलिपल्ट बिहानै अफिस टाइममा न्यूयोर्कको नेपालको मिसनमा गएँ। त्यहाँ द्वितीय सचिव नारायणशमशेर थापालाई भेटेँ। उहाँ नाताले ससुरा पर्नुहुन्थ्यो, तर त्योभन्दा पहिलाको नाताले मलाई दाइ भन्नुहुन्थ्यो।

उहाँलाई सबै कुरा भनेपछि ऋषभहरिजी र म पत्र लिएर सामान छुटाउन लगाडिया एयरपोर्ट गयौँ र सामान छुटायौँ। एक जना क्यानेडियन रहेछ माइकल नामको। ऊ विगत सात दिनदेखि ‘सामान छुटा’ भनेर पछि लागिरहेको रहेछ। यस्तो सामान पहिला पनि आएको रहेछ र यसरी नै छुटाइदिएको रहेछ। यही माइकलले नै बुझेर लिएर गएको थियो।

तर यो पटक सामान खोलेर हेरौँ के रहेछ अनि त्यसको रिर्पोट तयार गरेर विस्तृत जानकारी नेपाल पठाउनुपर्छ भन्नुभयो ऋषभहरिले। गर्हुँगो टिनको ट्याङ्क छ। बोक्नै गाह्रो खालको। त्यहाँ काम गर्ने कर्मचारीलाई उठाउन मदतका लागि भनेको उसले त, के छ यहाँ यति गर्हुँगो? डेड बडी? भनेर सोध्छन्।  हामीलाई थाहा छैन भन्यौँ।

ऋषभहरिजीलाई अफिस जानुस् भनेर म सोझै आनो गन्तव्यतिर लागेँ। साँझ पाँच बजेतिर दूतावासमा आएर खोल्छौँ त, त्यहाँ त रिल पठाएको रहेछ। ३२ वटा रिल थियो। जसमा लेखिएको थियो, हिज मेजस्ट्रीज् भिजिट अफ इस्टर्न नेपाल।

यो डिप्लोमेटिक कन्साइनमेन्ट भएबाट सरकारको नाम उल्लेख गर्‍यो भने कसैले खोल्दैन भनेर चलाखी गरेको पाइयो। त्यो कम्प्याक्ट गरेर राजाको नाम राखिदिएर पठाइएको थियो। तर ती रिलका डब्बामा चरेस थियो।

खोल्दा राजदूत यदुनाथ खनाल, प्रथम सचिव विश्वेश्वरप्रसाद रिमाल, र म गरी तीन जना थियौँ। चरेस देखेर सबै जना चकित पर्‍यौँ। त्यहाँ पठाउनेको नाम, ठेगाना सबै थाहा भयो हामीलाई। त्यो पठाउने मान्छेका बारेमा लेखेर नेपाल पठायौँ।

पैसामा कुरा गर्ने हो भने त्यो चरेस त्यो बेला मिलियन्स अफ डलरको सामान थियो। त्यो पठाउने व्यक्तिलाई भने कार्पेटमुनि लुकाएर राख्नुपर्ने भयो। त्यो कुरा त्यस बेला त्यतिकै दबाइयो। मैले उक्त गैर कानुनी सामान नेपालबाट आएको भनेर अमेरिकी सरकारका सम्बन्धित निकायलाई खबर गरेँ। तर उनीहरूले त्यो तपाईँहरू नै नष्ट गर्नू भन्छन्। यसले के गर्दा रहेछन् यिनीहरूले भनेर निगरानी गरिरहेको झैँ लाग्यो।

हामीले नष्ट गर्न सक्दैनौँ भनेर भनौँ भनेर राजदूतज्यूलाई भने। उहाँले पनि सहमति जनाएपछि मैले तुरुन्तै हामीले सामान नष्ट गर्न सम्भव नभएकाले तपाईँहरूले सहयोग गर्नुपर्‍यो भनेँ।

उनीहरूले 'ओके कर्नेल म आफ्नो मान्छे पठाउँछु' भनेको  पाँच मिनेटमै साइरन बजाएर प्रहरीको गाडी आयो। पाँच जनाले उठाएर बक्स गाडीमा हालेर लिएर गए। त्यसपछि के भयो थाहा भएन ।  

कार्पेटमुनि बसेर कारोबार गर्ने त्यस बेलाका अपराधीहरुहरुले शक्तिकै छायामा रहेर कामहरू गर्ने गरेका रहेछन्। मेरो निष्ठालाई लिएर नेपाल फर्केपछि सम्मानको तयारी पनि गरिएको थियो। तर मलाई सम्झना छ, तत्कालीन परराष्ट्र सचिव जनरल पदमबहादुर खत्री नै राजदूत भएर प्रोफेसर यदुनाथ खनाललाई बदल्न आउनुभयो र उहाँले त्यस बखत भन्नुभएको कुरा अझ पनि सम्झन्छु। उहाँले भन्नुभयो' कर्नेल यो कामका लागि म तपाईँलाई सम्मान गर्न चाहन्छु। तर यसका लागि म र दरबारको बिचमा बर्लिनको पर्खाल छ।'

उहाँले मलाई बुझ्नुभयो मेरो लागि त्यही पुरस्कार भयो।

(यो सामाग्री पूर्व रथी कृष्णनारायण सिंह थापाको प्रकाशनको तयारीमा रहेको पुस्तक 'समय सम्झना'बाट साभार गरिएको हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनावश्यक पात्रको गन्जागोलले भद्रगोल बनाएको पुस्तक ‘फुर्के’

मानिसले जस्तै कुकुरले पनि ऐना हेरेर कपाल मिलाउँछ। दुःख पर्दा कुकुरले पनि आँशु झार्छ। मान्छेको माया पाउनकै निम्ति उसको नजिक गएर पुच्छर हल्लाउँछ। कुकुरबारे यी....

उदय अधिकारी र महेश पौड्यालबीचको संवाद ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई....

किरण खरेल, अनुराधा कोइराला र वासुदेव त्रिपाठीलाई भारती खरेल स्मृति पुरस्कार

भारती खरेल प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला....

दशैंमा पुस्तक बजार सुुस्त तर टेबल मुनिबाट बेचिँदैछ ‘इजोरिया’

‘कोभिडले गर्दा किताबको बजार राम्रो छैन। तर, इजोरिया हामीले एक हप्तामा नै ३ सय ६० प्रति बिक्री गर्‍यौं,’ उनले भने, ‘यो किताब बजारमा अहिले पाउनै....

भिक्टरको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ। कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको....