‘सिंगो बुटवलः एक विद्यालय’ को अवधारणा असफलतातर्फ: न रङ्गरोगन, न बिदामै एकरूपता

‘सिंगो बुटवलः एक विद्यालय’ को अवधारणा असफलतातर्फ: न रङ्गरोगन, न बिदामै एकरूपता
फोटोः बुटवल देविनगरस्थित नवीन स्कुलको पश्चिमतर्फ रङ्ग लगाएको भवन र पूर्व फर्केको रङ्ग नलगाएको भवन।

बुटवलः बुटवल उपमहानगरपालिकाले नगरभित्रको शैक्षिक क्षेत्र नमूना बनाउने उद्देश्यअनुसार ‘सिंगो बुटवलः एक विद्यालय’ को अवधारणा ल्यायो। तर यो अवधारणा कार्यान्वयनको एक महिना पनि पूरा नहुँदै असफलतातर्फ उन्मुख भइरहेको छ।

उदाहरणका लागि, बुटवल उपमहानगरपालिकाले यही अवधारणाअनुसार उपमहानगरपालिकाभित्रका विद्यालयमा एउटै रङ्ग लगाउने योजना अगाडि सारेको थियो। ३८ विद्यालय मध्ये ३४ वटा विद्यालयको भित्र र बाहिर रङ्ग लगाउने गरी टेण्डर समेत आह्वान गरेर काम सुरु गरिए पनि रङ्ग लगाउने कार्य अहिले कतिपय विद्यालयमा रोकिएको छ।

ठेकेदारले आफूहरूले पाएको अनुमतिअनुसार रङ्ग लगाएको भन्दै कतिपय विद्यालयमा आधा मात्र रङ्ग लगाएर छाडिएको छ। बुटवलको हाटबजारमा रहेको कान्ति मा.वि.को पछाडि मात्र रङ्ग लगाएर छाडिएको छ भने बुटवल देविनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको पश्चिमतर्फको भवनको अगाडि मात्र रङ्ग लगाइएको छ।

कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले रङ्ग लगाउने पेन्टरले आफ्नो सम्झौताअनुसार रङ्ग लगाएको भन्दै बीचमा छाडेर गएको बताए। 

रङ्ग लगाउनुपूर्व इञ्जिनियरले विद्यालयको बाहिर र भित्र नापजाँच गरे पनि लगाउने बेलामा पछाडिको भागमा मात्र लगाएको बताए।

‘नलगाएको ठाउँबाट लगाऔँ भनेर पछाडिबाट सुरु गरियो। ५ दिन लगाएपछि सम्झौताअनुसार लगाउने काम सकियो भनेर उहाँहरू जानुभयो’, उनले भने। 

पेन्टरले स्कुलको बाँकी भागमा रङ्ग नलगाएपछि प्राचार्य ज्ञवालीले बुटवल उपमहानगरपालिकाका इञ्जिनियर युवराज भट्टराईलाई फोन समेत गरेका थिए। 

‘मैले त्यसबेला युवराज जीलाई फोन गरेर सबै कुरा भनेँ। तर उहाँले यसबारे बुझ्छु भन्नुभयो’, उनले भने।

अहिले विद्यालयको पछाडिको भाग मात्र रङ्गिएको छ। २० दिनअघि रङ्ग लगाएको भए पनि यसबारे के भयो भनेर कसैले सोधखोज नगरेको उनले बताए।

यता नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देविनगरमा पश्चिम फर्केको भवनको बाहिर मात्र रङ्ग लगाएर छाडिएको छ। 

विद्यालयका प्राचार्य प्रेम बस्नेतले ठूलो योजना अघि सारे पनि इञ्जिनियरकै गल्तीका कारण रङ्ग लगाउन विद्यालयमा नसकिएको बताए। 

‘यो केटाकेटी खेले जस्तो भयो। बजेट भएर पनि अलपत्र जस्तै पार्ने काम भयो। यसमा इञ्जिनियरको गल्ती छ’, उनले भने।


उपमहानगरपालिकाले रङ्ग नलगाए पनि विद्यालय आफैँले खर्च गरेर रङ्ग लगाउँदै।

रङ्ग लगाउनुपूर्व सबै विद्यालयमा नापजाँच गरेर स्क्वायर फुट निकालेपछि त्यहीअनुसार टेण्डर आह्वान गरेको भए अहिलेको समस्या नआउने उनको भनाइ छ।

उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूमा एउटै शैक्षिक स्तर बनाउने र सबै विद्यालयलाई समान शिक्षा प्रदान गर्ने भन्दै विद्यालयहरूमा एउटै रङ्ग प्रयोग गर्ने योजनाका लागि उपमहानगरपालिकाले डेढ करोड बजेट विनियोजन गरेको थियो।

स्क्वायर फुटमा रङ्ग लगाइयो
नमूना भनिएका विद्यालय र अरू सामुदायिक विद्यालयहरूबीच समान गुणस्तर कायम गर्ने र त्यही अवधारणासहित रङ्ग लगाउन उपमहानगरपालिकाले यो योजना सुरु गरेको थियो। 

कुल डेढ करोड बजेट भए पनि उपमहानगरपालिकाका ३४ विद्यालयमा रङ्ग लगाउन आह्वान गरिएको टेण्डरमा शिवालय विल्डर्स काठमाडौंले मात्र ४८ लाखमा टेण्डर प्राप्त गरेको थियो। 

तर काम गर्दै जाँदा घाटा हुने देखेपछि उसले कतिपय विद्यालयहरूमा स्क्वायर फुटमै रङ्ग लगाउन थालेको बताइएको छ। 

‘प्रतिविद्यालय २० हजार स्क्वायर फुटमा रङ्ग लगाउने योजनाअनुसार हाम्रो विद्यालयमा रङ्ग लगाएको रहेछ। रङ्ग लगाउनेहरूले २० हजार स्क्वायर फुट लगाउनुपर्नेमा २४ हजार स्क्वायर फुट लगाइएछ भन्दै छाडेर गएका हुन’, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्राचार्य प्रेम बस्नेतले भने।

उपमहानगरपालिकाका इञ्जिनियर युवराज भट्टराईले भने ठेकेदारले सम्झौताअनुसार रङ्ग लगाउने काम गरिरहेको बताए। हालसम्म बुटवलका २० वटा सामुदायिक विद्यालयमा ठेकेदारले रङ्ग लगाइसकेको छ। 

इञ्जिनियर भट्टराईले सम्झौताअनुसार रङ्ग कम लगाएको भन्दै बुटवल माध्यमिक विद्यालयमा पुनः रङ्ग थप गर्ने भनेको र दोस्रो पटक त्यहाँ रङ्ग लगाएको बताए। 

‘टेण्डरमा ५४ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए। त्यसमा कम मूल्य लगाएकाले ठेक्का पाएको हो। जेठसम्म सक्ने गरी ठेक्का दिइएको थियो। त्यहीअनुसार अहिले काम भइरहेको छ’, उनले भने।

उनले कतिपय विद्यालयमा आधा लगाएर छाडिएको भए पनि अन्तिम समयमा पूरा लगाउने बताए। ‘क्वान्टिटी कम भएर कान्तिमा रोकिएको छ। अन्यत्र लगाएर सकेपछि लगाउने काम हुन्छ’, उनले भने।

रङ्ग लगाउने ठेक्का पाएको शिवालय विल्डर्सले बुटवलका विद्यालयमा एशिएन पेन्ट्स ‘सी’ लगाइरहेको छ।

सार्वजनिक बिदामा पनि देखिएन एकरूपता
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको थियो। उक्त सूचनाले शैक्षिक संस्था तथा अभिभावकहरू भने अन्यौलमा रहे। केही खुले, केहीमा बिदा भयो। 

बुटवलका सामुदायिक विद्यालयहरूबीच नै तालमेल नमिलेको घटनाले उपमहानगरले गौरवका साथ भन्दै आएको ‘सिंगो बुटवलः एक विद्यालय’को अवधारणामै प्रश्न उठेको छ।

सो दिन बुटवल–१० कालिकानगरमा अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले पठनपाठन सञ्चालन गर्दा बुटवल–११ नहरपुरमा अवस्थित नहरपुर माविले भने बिदा मनाएको थियो। 

यसैगरी नवीन औद्योगिक मावि, कान्ति मावि लगायतका सामुदायिक विद्यालयहरूले सार्वजनिक बिदा दिएका थिए। 

समान शिक्षा लागू गर्ने दावी गर्दै आएको उपमहानगरले शैक्षिक संस्थाहरूको पठनपाठन सञ्चालन गर्ने सामान्य विषयमा पनि निर्देशन गर्न नसक्नुले ‘सिंगो बुटवलः एक विद्यालय’को अवधारणा नाराका लागि मात्रै हुने देखिएको छ।

२०७४ सालमै नगरशिक्षा ऐन लागू गरेको उपमहानगरपालिकामा यो अवधारणा ०७८ मा कार्यान्वयनमा आएको हो। 

बुटवलमा ३८ वटा सामुदायिक विद्यालय छन्। आधारभूत १२, माध्यमिक २२, विशेष एक र मदरसा तीन वटा छन्। तिनलाई आठ वटा क्लस्टरमा विभाजन गरी हरेक क्लस्टरअनुसार विषयगत शिक्षकको समिति बनाइने र हरेक समितिले एउटै शैक्षिक क्रियाकलाप र पाठयोजना बनाउने अवधारणा छ। 

२२ फागुन, २०७८, ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।