'रेडियो नाटक पनि हुन्थ्यो र ! भन्ने अवस्था आइसक्यो'

'रेडियो नाटक पनि हुन्थ्यो र ! भन्ने अवस्था आइसक्यो'

नेपाली रंगमञ्च, चलचित्र र रेडियोमा परिचत नाम हो मदनदास श्रेष्ठ। लामो समय रेडियो नेपालमा कलाकार तथा नाटक निर्देशक भएर काम गरेका मदनदास नेपाली रेडियो नाटकका जन्मदाता श्यामदास वैष्णवलाई आफ्नो आदर्श मान्छन्।

रेडियो नाटकलाई माथि उकास्न ठूलो योगदान गरेका उनी यतिबेला भने रेडियो नाटकको दुर्दशा देखेर चिन्तित छन्। 

दोलखाबाट काठमाडौं आएर अब्बल कलाकारका रुपमा स्थापित उनै मदनदाससँग उकेराको नियमित स्तम्भ मलाई मनपर्छका लागि उकेराकर्मी इश्वरकुमार मैनालीले गरेको कुराकानीको सम्पादित अंश।

वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि रेडियो नेपाल सिंहदरबार सर्यो। रेडियो नेपाल स्थापना हुँदाको समयमा नेपाली गीत-संगीत खासै थिएनन्। भारतीय संगीतको सहारामा रेडियो चलेको थियो।

विस्तार-विस्तार नेपालमै संगीतको उत्पादन वृद्धि हुँदै गयो। रेडियो आफ्नै कन्टेन्टमा आत्मनिर्भर हुन थाल्यो। सोही सिलसिलामा रेडियो नाटक पनि जन्मन पुग्यो।

रेडियोको प्रभाव त्यसबेला बेग्लै थियो। र, महत्व पनि। घरमा एउटा रेडियो हुने व्यक्ति हुने-खानेमै दरिन्थे।

केन्द्रीय प्रसारणसँगै विस्तारै पाँचै विकास क्षेत्रमा रेडियोको क्षेत्रीय प्रसारण हुन थाल्यो। सर्वसाधारणमा रेडियोको पहुँच बढ्दै गयो। ठूलो मासलाई प्रभावित पार्न सक्ने गरी रेडियो उभियो। त्यसै बखत म रेडियोमा प्रवेश गरें।

रेडियोमा ठूलो मासलाई प्रभावित पार्ने कार्यक्रमहरु बनाउनुपर्ने थियो। त्यसै क्रममा श्यामदास वैष्णवले रेडियो स्थापना भएको केही समयपछि नै रेडियो नाटकको बाटो खोल्नुभयो। उहाँ नै नेपालको रेडियो नाटकको जन्मदाता हुनुहुन्छ। त्यसबेला रेडियो नाटक रेडियोको मैलिक प्रसारण सामग्री जस्तो पनि बन्यो।

म रेडियोमा आउनुभन्दा अघि रंगमञ्चमा काम गरिरहेको थिएँ। त्यसबेला रंगमञ्चलाई अनुत्पादन क्षेत्रको रुपमा हाम्रो समाजले हेर्थ्यो। कलाकारको कुनै सम्मान थिएन। रेडियोमा पनि कलाकारहरु हुँनैनथे। कलाकार त हुन्थे तर कलाकारको रुपमा होइन। मुखिया, खरदार, सुब्बा यस्ता पदमा जागिरे हुन्थे।

रोयल नेपाल एकेडेमीको स्थापनापछि कलाकारलाई पनि पद दिन थालियो। अधिकृत लेभलबाट कलाकारको पद सुरु भएर फर्स्टक्लास अफिसरसम्मको पद कलाकारले पाउने भए। 

वि.सं. २०२७ सालमा म एकेडेमीको कलाकार भएँ। त्यसको ९ वर्षपछि रेडियोमा कलाकारको रुपमा नै जागिर पाएँ। वैष्णवलाई मेरो आवाजले तानेको थियो। उहाँले नाटक हेरेर मलाई मन पराउनुभयो। मेले उहाँको कौशलतालाई मन पराएँ। 

रंगमञ्चमा नाटक गर्दा श्यामदास वैष्णवको निर्देशनमा मैले नाटकहरु गरेको थिएँ। नाटकमा सक्रिय रहिरहँदा रेडियोमा  कलाकारको रुपमा प्रवेश पाएँ।

वैष्णवमा लेख्ने, निर्देशन गर्ने र आफैं प्रस्तुत हुने कला पनि थियो। रेडियो नाटक लेख्ने मान्छे नै छैनन् अचेल। नाटक लेख्ने छन्, रेडियो नाटक लेख्ने छैनन्। मैले  वैष्णवबाटै रेडियो नाटकका बारेमा ज्ञान पाएको हुँ। उहाँको चेला भएकोमा म गर्व गर्छु। मेरो पहिचान बनउनमा वैष्णवको देन वर्णन गरेर सकिने छैन।

रेडियोमा नाटक गर्नु श्रव्यदृश्यमा नाटक गर्नुभन्दा कठिन हो।  आवाजका माध्यमले भाव सञ्चार गर्न सकिएन भने रेडियो नाटक, रेडियो नाटक बन्ने सन्दर्भ नै रहँदैन।

रेडियोमा हामीलाई धेरै पावन्दी रहन्छन्। फोलीको उचित  प्रयोग गर्नु त्यसबेला चुनैतीको विषय थियो। लाइभनेस  आओस् भनेर हामी वास्तविक वस्तुसँगै खेल्ने गर्थ्यौं। आज जस्तो अनेक इफेक्ट एकै छिनमा गुगल गरेर भेटिने अवस्था थिएन। संवाद र ध्वनीको भूमिका नै अहं हुन्थ्यो। संवादमा  कसरी खेल्ने, ध्वनीको प्रयोग कसरी गर्ने भन्ने कुरा वैष्णवबाट मैले सिकेको हुँ।

वैष्णव आफैंमा राम्रो कलाकार हुनुहुन्थ्यो। कवि पनि। उहाँ कलाकारको मनोविज्ञानलाई सहजै समात्न सक्नुहुन्थ्यो। त्यो खुवी कमै मात्र निर्देशकमा देखेको छु मैले। 

उहाँकै कारण रेडियोमा छिरेको मान्छे हुँ म। उहाँसँगै सिकेको मान्छे म, पछि उहाँले नै सम्हालेको पद सम्हाल्न पुगें। त्यो पनि आफैंमा ठूलो कुरा हो भन्ने लाग्छ मलाई। म वैष्णव र हरिप्रसाद रिमालपछिको रेडियो नेपालको तेस्रो नाटक निर्देशक हुँ।

म यहाँसम्म आइपुग्दा वैष्णवले सिकाएर, बुझाएका ज्ञान नै मेरो दक्षता रह्यो। त्यसैको कारण मेरो आवाज धेरैमा पुग्यो। अहिले रेडियो नाटकहरु छैनन्। त्यसको प्रभाव पनि कमझैं देखिन्छ। तर रेडियो नाटकहरु उत्पादन हुनुपर्छ भन्ने मलाई लाग्छ।

मलाई मनपर्ने कलाकार, निर्देशक, लेखक वैष्णवले दिएको ज्ञान बाँड्न म उत्साहित छु। त्यसकै नतिजास्वरुप मैले रेडियो नाटकलाई नयाँ आयाममा लाने प्रयास गरें। रेडियो नाटक लेखकको कमीलाई पूर्ति गर्न तालिम दिएँ। रेडियो नाटक प्रतियोगिता गरें। ताकि मेरो कलालाई वैष्णवले उठाइदिएझैं म जस्तै संघर्ष गरिरहेका सबैलाई तान्न सकियोस्। त्यसले समग्र रेडियो नाटक क्षेत्रमा राम्रो जनशक्ति आओस् भन्ने मेरो ध्येय थियो।

नाटक लेख्नभन्दा रेडियो नाटक लेख्न गाह्रो छ। संवाद र ध्वनीको प्रयोगमा मात्र कुनै कुरा बुझाउनु सहज हुँदैन। त्यसैले पनि रेडियो नाटक लेख्ने कमै लेखक पाइन्छन्। नाटक लेखिरहनेहरुले पनि हत्तपत्त मन गरिहाल्दैनन्।

केही समय रेडियो नाटकको बाढी नै आएको थियो। रेडियो नेपालमा जनक शिक्षा समग्री केन्द्रले शैक्षिक सामग्रीका लागि रेडियो नाटक बनायो। कृषि कार्यक्रम पनि रेडियो नाटककै शैलीमा बने। विभिन्न देश र संघ-संस्थाको सहयोगमा  विभिन्न मुद्दामा  नाटकहरु बने। म आफैंले पनि धार्मिक नाटक श्रीस्वास्थानीदेखि धारावाहिक रेडियो नाटकका रुपमा  गणेशमानको जीवनीसम्म पनि बनाएँ।

रेडियो नाटकको शैली विज्ञापनमा पनि प्रयोग भए केही समय। आज पनि कहीं-कतै देखिन्छ।

आज रेडियो धेरै छन्। तर रेडियो नाटक शून्यप्राय: छ। स्थानीय स्तरमा स्थानीय भाषामा नै रेडियो नाटक उत्पादन गर्नेतिर कसैको ध्यान गएको देखिँदैन।

रेडियो नेपालमा सरकारी पैसा पाँच हजार रुपैयाँमा  २०/२५ मिनेटको नाटक तयार हुन्छ। रेडियो नाटकले सवै वर्गलाई समेट्न खोज्छ। त्यसको कार्यक्षेत्र फराकिलो छ। तर अब रेडियो नाटक पनि हुन्थ्यो र भन्ने दिन आउन लागिसक्यो। 

श्यामदास वैष्णव जस्ता मान्छेहरुको लागानीले हुर्किएको रेडियो नटक विलुप्त हुने अवस्था आउनुमा प्रविधिको दोष मात्र छैन। सरकारी स्तरबाट पनि बेवास्ता गरिएको छ।

वैष्णवजस्ता धेरै वैष्णवहरु छन्। तिनलाई राज्यले संरक्षण गर्न सके कला-साहित्यको उचाइ धेरै बढ्ने थियो। र, कुनै बेला आहा! नै आहा! भएको रेडियो नाटक छ्या! भन्ने अवस्थामा पुग्दैनथ्यो।

२१ फागुन, २०७८, ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।