पलले सेलिब्रिटीमाझ ल्याएको फसाद : नबोल्दा नि सुख नपाउने, बोल्दा नि ट्रोल हुने 

पलले सेलिब्रिटीमाझ ल्याएको फसाद : नबोल्दा नि सुख नपाउने, बोल्दा नि ट्रोल हुने 

बिहानै नाबालिगको पक्षमा देखिइन् अभिनेत्री रेखा थापा। उनले नाबालिगको बलात्कार भएको हो या हैन भन्दा पनि उसको सम्बन्धबारे भएको बहसबारे असन्तुष्टि जनाइन्।

'२० वर्ष मुनिका छोरीहरू बालिका हुन। बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। को सँग लभ छ, कति पटक यौन सम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनुहुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ।'

नायिका ऋचा शर्मा अझ प्रस्ट खुल्दै कानुनको व्यवस्था सहित आफ्ना धारणा राखिन्। उनले लेखिन्' मुलुकी अपराध संहिताले भन्छ' १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।'

अगाडि उनी लेख्छन्' कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौ नि। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न!! मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।'

यो घटनामा कलाकारबाट आएको यो सबैभन्दा प्रष्ट धारणा हो।

कलाकार लक्ष्मी बर्देवा अनि सञ्चिता लुइँटेल पनि खुले पीडितको पक्षमा। अभिनेत्रीहरू खुल्दै जाँदा समाजमा यसको सकारात्मक प्रभाव बढ्दै गयो।

नाबालिगको पक्षमा खुलेका कलाकारमध्ये ऋचा मङ्गलवार दिउसोसम्ममा अर्को ट्रोलमा परिन्। उनले केही दिन अगाडि पल शाह र पूजा शर्माले अभिनय गरेको फिल्मलाई शुभकामना दिएकी थिइन् दुबैलाई ट्याग गर्दै। उनी नाबालिगको पक्षमा नखुलेसम्म त्यसबारे कसैले वास्तै गरेको थिएन। तर जब उनी नाबालिगको पक्षमा सामाजिक सञ्जालमा आइन् उनले फिल्मलाई दिएको शुभकामना नाबालिगको बलात्कारसँग जोडेर ट्रोल बनाउनु जायज हो र ?

बलात्कार आरोपी पल शाह फिल्मका एक कलाकार मात्रै हुन्। फिल्म निर्माणमा त नायक मात्रै जोडिएका हुन्नन्। नायकमाथि बलात्कारको आरोप लगाउँदा सबै कलाकार पक्कै आरोपी हुन्नन्। अभिनेत्री पूजा शर्माको सार्वजनिक अभिव्यक्ति सुहाउँदो पक्कै छैन। तै पनि उनी बलात्कार आरोपी त हैनन्। त्यसैले फिल्मलाई दिएको शुभकामनालाई लगेर पलको पक्ष र विपक्षको रूपमा बुझ्नु जायज हो र!

नबोल्दा नि सुख नपाउने, बोल्दा नि ट्रोल हुने भएपछि कसरी खुलुन्  त सेलिब्रिटी ! यो अली न्याय भएन कि !

१७ फागुन, २०७८, २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।