शिवरात्रिमा पोखरा आसपासका शिवालयमा भक्तजनको घुइँचो

शिवरात्रिमा पोखरा आसपासका शिवालयमा भक्तजनको घुइँचो

विशेषगरी वैदिक सनातन हिन्दु धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन्।

बिहानैदेखि पोखराको लेकसाइडस्थित केदारेश्वर मणि महादेव, छोरेपाटनको गुप्तेश्वर महादेव, विन्ध्यबासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीको शिव मन्दिर लगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी गाईको दूध चढाउन लामबद्ध भएका थिए।

शिवालयहरुमा पूजा गर्न जाने भक्तालुहरूमा अधिकांश महिला देखिन्थे। श्रीमानको लामो आयु र आत्मसन्तुष्टिका लागि पूजा आराधना गर्ने आएको बिरौंटाकी देवी तिमिल्सिनाले बताइन।

फेवाताल किनारस्थित केदारेश्वर मन्दिर पछिल्लो समय भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। मन्दिरमा साउने सोमवार धूमधामसँग बोल बम पर्व मनाउने गरिन्छ।

त्यसै गरी महाशिवरात्रिका दिनमा र अन्य चाडपर्वमा समेत मन्दिर दर्शन गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।

शिवरात्रि पर्वको दिन केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जल चढाउन र भगवान् शिवको पूजा आराधना गर्नका लागि पोखरासहित छिमेकी जिल्लादेखि मानिसहरू दर्शन गर्नका लागि आउने गछन्।

महाशिवरात्रिको पावन अवसरमा मन्दिर व्यवस्थापन समितिले विशेष पूजाका साथै रुद्री लगायतका अनुष्ठानको आयोजना गरिएको छ। भक्तजनको घुइँचो बढेपछि मन्दिरका चारैतिरबाट ढोका खोलेर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले बताए।

पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजन कीर्तन गरी नाचगान समेत गरेका छन्। महाशिवरात्रिका दिन भक्तजन व्रत बस्दै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ।

आजको दिन विभिन्न सार्वजनिक चोक र मठमन्दिरमा काठका मुढा बालेर धुनी जगाई भजन कीर्तन गर्ने प्रचलन छ। शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ। कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ।

व्रतमा सर्वोत्तम व्रतका रूपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

१७ फागुन, २०७८, २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।