उकेरा मन्थन

महाशिवरात्रि: वर्षको परिवर्तनलाई सङ्केत गर्ने पर्व


हामीले मनाउने जुनसुकै पर्वको वैज्ञानिक महत्त्व रहेको छ। हाम्रा ती ऋषिमहर्षिहरू जसले पर्व तथा व्रतोत्सवहरूको महत्त्वलाई बुझेर जुन परम्पराको थालनी गरे र त्यसको निरन्तरता हामीले दिइरहेका छौं। ती सबै पर्वहरूको धार्मिक, वैज्ञानिक, सांस्कृतिक आदि हरेक दृष्टिले पनि महत्त्व रहेको देखिन्छ।

वैदिक सनातन परम्परामा यस्ता अनेकौ व्रत, उत्सव र परम्पराहरू रहेका छन् जसको छुट्टा–छुट्टै धार्मिक, वैज्ञानिक, सांस्कृतिक आदि महत्त्व रहेको छ। यही क्रममा वैदिक सनातन धर्मावलम्बीहरूले मनाउने शिवरात्रिको पनि धार्मिक, वैज्ञानिक र सांस्कृतिक महत्त्व रहेको छ जसमध्ये वैज्ञानिक महत्त्वलाई यहाँ प्रष्ट्याउने प्रयत्न गरिएको छ।

यो जगतको उत्पत्ति, स्थिति र संहार गर्ने परब्रह्माका तीन विभूतिलाई ब्रह्मा, विष्णु र महेश(शिव) मानिएको छ। वैदिक सनातन धर्मावलम्बीहरूले मान्दै आएका त्रिदेवमध्ये ब्रह्मा सृष्टिका कारक मानिएका छन् भने विष्णुलाई सृष्टिका पालकको रूपमा लिइएको छ। यस्तै महेश्वरलाई यो जीवन-जगगका संहारक मानिएको छ।

उत्पत्ति, स्थिति र संहार यो जीव–जगतको दैनिकी हो। यसलाई वैज्ञानिक दृष्टिले विचार गर्ने हो भने हरेक क्षण उत्पत्ति, स्थिति र संहार भइरहेको हुन्छ।

उदाहरणको लागि कुनै दिनको उत्पत्तिको विषयलाई लिऊँ। त्यसको बिहान दिनको सृष्टि हो भने दिउँसो दिनको स्थिति हो र साँझ दिनको संहार हो। यस्तै महिना, ऋतु र वर्षका सम्बन्धमा पनि यसरी विश्लेषण गर्न सकिन्छ।

वर्षभरिमा पर्ने ६ वटा ऋतुमध्ये वसन्त ऋतुलाई सृष्टिको बिहानी हो भने शिशिर ऋतुलाई सृष्टिको संहारको रूपमा लिइन्छ। त्यसैले यो संसारका संहारकको रूपमा चिनिएका महादेवलाई स्मरण गर्ने विशेष पर्वको रूपमा रहेको महाशिवरात्रिलाई पनि शिशिर ऋतुमा मनाउने गरिएको हो।
 
तदनुसार परब्रह्माको प्रलयकारी तथा संहारकारी स्वरूपको नाम नै रुद्र हो। रुद्रको अर्को नाम शिव पनि हो र शिवलाई जगतको कल्याण तथा भलोको रूपमा लिने गरिएको छ। यसरी महेशलाई रुद्र (प्रलयकारी तथा संहारकारी स्वरूप) र शिव (जगतको कल्याण तथा भलो गर्ने रूप) गरी परस्पर विरोधी दुई नामले जानिन्छ।

यसरी एउटै देवताको यो परस्पर विरोधी स्वरूप कसरी हुनसक्छ भन्ने सम्बन्धमा विचार गर्ने हो भने यो भ्रमपूर्ण देखिन्छ। तर हामीले प्रत्येक दिनका त्रियाकलापलाई सूक्ष्म रूपले विचार गर्ने हो भने प्रकृतिका सबै कार्यमा भइरहेको रुद्र रूप (विनास या प्रलय) नै सृष्टि शिव या शुभको कारण बन्दछ।

उदाहरणका लागि हामीले कुनै अन्नको एक कणलाई लिन सक्छौं। जबसम्म अनाजको त्यो कण नष्ट हुँदैन त्यसले अन्य अनेकौं कणको सृष्टि गर्न सक्दैन। यो दृष्टान्तमा नष्ट हुनु ईश्वरको रुद्ररूप हो भने यो बीजबाट अनेकौं कणहरूको उत्पत्ति ईश्वरको शिवरूप हो।

बीजमा रुद्रक्रिया (नास) नभएको अवस्थामा शिवक्रिया (उत्पत्ति) हुन सक्दैन। यसरी  प्रकृतिमा रुद्र र शिवक्रिया प्रतिक्षण आफ्नै प्रवृत्तिबाट भइनै रहेको देखिन्छ। यसैबाट नै सारा जगतको नियमित प्रक्रिया सम्पन्न हुन्छ। यही कारणले गर्दा हामीले एउटै शक्ति महोदव शङ्करलाई रुद्र र शिव गरी दुई नामले पुकार्ने गर्दछौं। यिनै रुद्र तथा शिवको महोत्सवको दिन नै शिवरात्रि हो।

प्रत्येक महिनामा पर्ने कृष्ण चतुर्दशीको दिन शिवरात्रिका दिन हुन् जुन महिना वा ऋतुको परिवर्तनका प्रतीक पनि हुन् र यसैलाई चतुर्दशी तिथिले सङ्केत गर्दछ। अन्य महिनामा पर्ने कृष्ण चतुर्दशीले महिना वा ऋतुको परिवर्तनतर्फ सङ्केत गर्दछन् भने फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रिले वर्षको पनि परिवर्तनलाई सङ्केत गर्ने भएकाले यसलाई  महाशिवरात्रि भन्ने गरिएको हो।

शिवरात्रि त्यो दिनलाई मान्नुपर्दछ जुन दिनमा अर्धरात्रिको समयमा चतुर्दशी होस्। दिनमा १५ र रातमा १५ गरी एक अहोरात्र (दिन र रात)मा ३० मुहूर्त हुन्छन्। रात्रिका लागि छुट्याइएको १५ मुहूर्तमध्यको आधा रात अर्थात् आठौं मुहूर्तमा जुन दिन चतुर्दशी तिथि रहेको हुन्छ त्यसै दिनलाई शिवरात्रि मान्नुपर्ने शास्त्रीय धारणा रहेको छ।

दुवै दिनमा अर्धरात्रिको समयमा चतुर्दशी तिथि नभएको अवस्थामा पहिलो दिन र पहिलो दिन अर्धरात्रिको केही समय चतुर्दशी तिथि र अर्को दिन पूरा आधा रातमा चतुर्दशी भएको अवस्थामा दोस्रो दिन महाशिवरात्रि मान्नुपर्ने शास्त्रीय धारणा छ।

वर्षकै परिवर्तनलाई सङ्केत गर्ने महाशिवरात्रि शिशिर ऋतुमा पर्दछ। जुन ऋतुमा वृक्षहरूका पुराना पातहरू झर्दछन् भने नयाँ पातहरू अङ्कुरित हुन थाल्दछन्। त्यसैले यो ऋतुको नाम पनि शिशिर राखिएको हो। रुद्रतत्त्व अनुसार नाश अर्थात् जीर्ण–शीर्णलाई समाप्त गरेर सृष्टिमा नवीनता पनि यही समयमा देखिन्छ। यही कारणले गर्दा नै शिशिर ऋतु यो संसारको संहारका नायक भगवान् शिवको उत्सवका लागि उपयुक्त पनि देखिन्छ।

माघ र फाल्गुणलाई शिशिर ऋतुको नामले जानिन्छ। ती दुई महिनामध्ये माघ महिनामा पुराना पातहरू झर्दछन् जुन महादेवको रुद्र स्वरूप हो र फाल्गुण महिनाको प्रारम्भसँगै नवपालुवा अङ्कुरित हुन थाल्दछन् र यही नै महादेवको शिवरूप हो। यही कारणले गर्दा शिशिर ऋतुको समय नै वास्तवमा रुद्र र शिवको उत्सवका लागि महाशिवरात्रि महत्त्वपूर्ण भएको हो भन्दा अत्युक्ति हुने छैन।

पक्षका दृष्टिले हेर्ने हो भने चान्द्रमास अनुसार कृष्णपक्षको अन्तिम भाग चन्द्रकलाको समाप्तिको सूचक हो। कृष्णपक्षको प्रतिपदादेखि नै चन्द्रमाका एक-एक कला नष्ट हुँदै जान्छन् र अमावास्यामा चन्द्रमाको एक कला पनि देखिँदैन अर्थात् चन्द्रकला समाप्त हुन्छ त्यही कारणले गर्दा चन्द्रकलाको संहार रूप रुद्ररूपलाई देखाउनका लागि नै कृष्णपक्षको अन्तिम कलाको समयमा शिवरात्रि मनाउनुलाई वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।

अमावास्यामा चन्द्रमाको कुनै कला पनि देखिँदैन र शुक्लपक्षको प्रतिपदादेखि पुनः चन्द्रको एक कला देखिन्छ र यही क्रममा पूर्णिमासम्ममा चन्द्रमा पूर्णकलाले युक्त बन्दछ। यसले के पनि सङ्केत गर्छ भने सृष्टिपछि यसको पूर्णता र पूर्णतासँग ह्रासको सुरूआत पनि हुन्छ। जस अनुसार कृष्णपक्षको प्रतिपदामा पूर्ण चन्द्रमामा एक कला कमी हुन्छ भने कृष्णपक्षको चतुर्दशीमा चन्द्रकाको एक कला मात्र बाँकी हुन्छ। यसै दिन महाशिवरात्रि मनाउने गरिन्छ।

परब्रह्मको संहारक विभूति भगवान् रुद्रको उत्सव फाल्गुण कृष्णपक्षको अन्त्यमा नै मनाउनु अत्यन्त उचित र वैज्ञानिक पनि देखिन्छ। प्राणी जगतलाई प्राप्त हुने सोमरस चन्द्रमाबाट प्राप्त हुन्छ र यसैबाट नै संसारमा रहेका सबै प्राणीहरूको जीवन चल्छ। सोमरस दिने चन्द्रकलाहरूको संहारको यथार्थ समय अमावास्या हो तथापि यो उत्सव अमावास्यामा नमनाएर किन चतुर्दशीमा मनाइएको होला भन्ने प्रश्न उब्जिन सक्छ। चन्द्रकलाहरूको संहारको यथार्थ समय त अमावास्या हो। 

शिवपुत्र गणेशको वाहन मुसो हो भने शिवको गहनाको रूपमा रहेको सर्प मुसाको सत्रु हो। यस्तै शिवपुत्र स्वामीकार्तिकको वाहन मयुर हो र मयुर सर्पको सत्रु हो। तथापि, शिव परिवार आनन्दमय रहेको छ।

यो उत्सव अमावास्यामा नमनाएर चतुर्दशीमा किन मनाउने गरियो भन्ने प्रश्नको उत्तर यसरी दिन सकिन्छ। ईश्वरले यो नियम राखेका छन्, पूर्णतया समाप्ति भनेको मृत्यु तथा समाप्तिको सूचक हो। मृत्यु तथा समाप्तिपछि प्रकृतिको कुनै पनि वस्तुलाई हामीले पुनर्जीवन दिन सक्दैनौं।

लोक व्यवहारमा पनि जबसम्म जीवमा प्राण रहन्छ तबसम्म त्यसलाई बचाउनका लागि मन्त्र, भगवतप्रार्थना तथा औषधि आदिलाई प्रयोग गर्ने गरिन्छ। प्राण नै नरहेको अवस्थामा यी तीन वटामध्ये कुनै पनि क्रियाबाट प्राणीलाई पुनर्जीवन दिन सकिँदैन। यही नियमलाई सम्झाउनका लागि भगवान् महेश्वरको महोत्सव जीवनदाता चन्द्रमाको एउटा कला बाँकी रहेको चतुर्दशी तिथिलाई रोजिएको हो।

महाशिवरात्रि आधा रातमा मनाउनका लागि धर्मशास्त्रीय ग्रन्थहरूमा निर्देश गरिएको छ। यो उत्सव मनाउने अर्धरात्रिको समय किन भन्ने प्रश्नको उत्तर पनि यसरी दिन सकिन्छ। 

वैदिक सनातन मान्यतामा दिनको प्रारम्भ ब्रह्ममुहूर्त या सूर्योदयदेखि हुन्छ तर दिन र रातलाई जोडेर हेर्दा कुनै पनि दिनको अर्धरात्रिलाई दिनको अन्त्य र दिनको प्रारम्भको रूपमा लिएको देखिन्छ। आधुनिक मान्यतामा पनि आधा रातको समयलाई दिनको अन्त्य र अर्को दिनको सुरूवातको रूपमा लिने गरिएको छ।

जब निराशारूपी अन्धकारले जताततैबाट घेरेको हुन्छ तबमात्र आशाको किरणको रूपमा रहेका मृत्युञ्जयको आराधना गर्ने गरिन्छ। यही कारणले गर्दा नै महाशिवरात्रिको मुख्य समयलाई अर्धरात्रि राखिएको हो।

सामान्यतया कुनै पनि महिनाको कृष्णपक्षको चतुर्दशी तिथिलाई शिवरात्रि भनिन्छ तथापि फाल्गुण कृष्ण चतुर्दशी ती सबै शिवरात्रिभन्दा महत्त्वपूर्ण भएको कुरा यसभन्दा माथिको विश्लेषणबाट स्पष्ट हुन आउँछ। त्यसैले यो पर्वलाई महाशिवरात्रि भनिएको हो।

विभिन्न पुराणहरूमा महाशिवरात्रिका सम्बन्धमा विषद् वर्णन र विश्लेषण गरिएको छ। सबै पुराणहरूमा महाशिवरात्रिका बारेमा एकै किसिमको वर्णन भने गरिएको देखिँदैन। तथापि ती पुराणहरूमा वर्णन गरिएको विषयवस्तु भने एउटै देखिन्छ। सबैजसो पुराणहरूमा महाशिवरात्रिको ठूलो प्रशंसा र महत्त्वलाई प्रष्ट्याइएको पाइन्छ।

महाशिवरात्रिका दिन अर्धरात्रिमा शिवको पूजा तथा आराधना गरेको अवस्थामा वाञ्छित फल प्राप्त हुने कुराको उल्लेख पनि विभिन्न पुराणहरूमा गरिएको छ। महाशिवरात्रिका दिन उपवासका साथ शिवको पूजा तथा आराधना गरेको अवस्थामा व्यक्ति स्वयं शिवमय बन्ने कुराको उल्लेख पनि पुराणहरूमा गरिएको छ।

दान, यज्ञ, तप, व्रत, तीर्थयात्रा यो व्रतको कोटी अंशभन्दा पनि छैनन् भन्ने कुराको अतिशयोक्तिपूर्ण वर्णन पनि विभिन्न पुराणहरूमा गरिएको देखिन्छ। महाशिवरात्रिको व्रतका सम्बन्धमा व्याधाको एक कथालाई लिएर उसले नजानेर शिवलिङ्गमाथि परेको विल्वपत्र, पानी, धुलो र खान नपाएका कारण भएको उपवासले पनि मुक्तिको भागी बनेको थियो भने बुद्धिपूर्वक कसैले यो व्रत गरेको अवस्थामा त त्यो व्यक्ति अवश्य पनि फलको भागी बन्छ भन्ने विश्वास लिइएको देखिन्छ।

शिवको परिवारलाई हेर्ने हो भने त्यहाँ विचित्रता देखिन्छ र त्यो विचित्रताभित्रको एकता नै शिव परिवार हो भन्ने सन्देश पनि प्राप्त हुन्छ। जस्तो शिव परिवारमा शिवको वाहन साँढे हो भने शिवपत्नी शक्तिको वाहन सिंह हो। जो आपसमा एक अर्काका सत्रु हुन्।

यस्तै शिवपुत्र गणेशको वाहन मुसो हो भने शिवको गहनाको रूपमा रहेको सर्प मुसाको सत्रु हो। यस्तै शिवपुत्र स्वामीकार्तिकको वाहन मयुर हो र मयुर सर्पको सत्रु हो। तथापि, शिव परिवार आनन्दमय रहेको छ।

शिव परिवारभित्र अनेकताभित्र पनि यस्तो एकता रहेको देखिन्छ। त्यही शिवपरिवारभित्रको अनेकताभित्रको एकताको सन्देश महाशिवरात्रि पर्वले दिने भएकाले यसको सार्थकताको कामनाका साथ महाशिवरात्रिको हार्दिक शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....