नाबालिगको बलात्कारका आरोपी पलको समर्थनमा स्कुल प्राङ्गणको दुरुपयोग

नाबालिगको बलात्कारका आरोपी पलको समर्थनमा स्कुल प्राङ्गणको दुरुपयोग

काठमाडौँ :  नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका पल शाहको समर्थनमा अनामनगरको एक विद्यालयको प्राङ्गण दुरुपयोग गरिएको छ।

अनामनगरमा रहेको गोर्खा एफएम चोक नजिकैको नेपाल मेगा स्कुलको दुई भवन बिचमा रहेको मैदानमा बलात्कारका आरोपी पलको केही समर्थक भेला भएर ब्यानर टाँगेका थिए।  ब्यानरमा बलात्कारका आरोपीलाई 'रियल हिरो, ह्यासट्याग जस्टिस फर पल शाह' लेखिएको थियो।

सोमबार दिउँसो कार्यक्रमस्थल पुग्दा केही युट्युवर र पत्रकार मात्रै उपस्थित थिए। कार्यक्रम आयोजक नै बेपत्ता थिए। बलात्कारको आरोपमा हिरासतमा रहेका पलको न्यायका लागि भन्दै गरिएको कार्यक्रमलाई नजिकका साना झ्यालहरूबाट बालबालिकाले नै चिहाएर हेरिरहेका थिए।

बलात्कार आरोपमा हिरासतमा रहेका शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न न्यायिक हिरासतमा राख्न म्याद दिएको छ। नाबालिगले गैँडाकोटमा समेत जाहेरी दिएकी छिन्। जाहेरी परेपछि पल पाँच दिन लुकेर आइतबार तनहुँ प्रहरी कार्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

१६ फागुन, २०७८, २३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।