अंग्रेजी साहित्यका 'डिग्री होल्डर' जो हार्मोनियमका पर्दा खोलेर सुर कस्छन्

अंग्रेजी साहित्यका 'डिग्री होल्डर' जो हार्मोनियमका पर्दा खोलेर सुर कस्छन्

सर्लाही जिल्लामा 'राजगुरुको सिसौल' नामले परिचित एउटा गाउँ छ। सो गाउँमा नाम कहलिएका पण्डित थिए, मदनमोहन पौडेल। उनलाई गाउँलेले 'ठूल्बा' भनेर सम्बोधन गर्थे।

पौडेलको खानदान राज-पुरोहितसँग जोडिएको थियो। राजगुरुहरुको बसोबास भएकाले गाउँको नाम नै राजगुरुको सिसौल बन्न पुगेको कथन छ।

तिनै मदनमोहनको घरमा काष्ठ सामग्रीलाई सन्तुलनमा ल्याउन राजदेव ठाकुर नामका मिस्त्री थिए। काठको काममा राजदेव माहिर। सर्लाहीभरि उनको चर्चा थियो।

एक दिन मदनमोहनको दुई तले दरबार (गोरखा दरबारको शैलीमा बनाएको घर, जसलाई गाउँलेहरु दरबार भन्थे) मा भान्सा  मर्मत गर्न पुगे राजदेव। उनले भान्साको एक कुनामा फालिरहेको हार्मोनियम देखे।

‘ठूल्बा म यो हार्मोनियम लान्छु,’ तमाम गाउँलेको साझा सम्बोधन गर्दै राजदेवले मदनमोहनसँग हार्मोनियम मागे।

‘लगेर के गर्छस्?,’ उनले सोधे। 

'बनाएर चलाउँछु,' राजदेवले उत्तर दिए। 

नेपथ्य ब्याण्डको हार्मोनियम, चर्चित गायक राजेशपायल राईको हार्मोनियम, ललितकला क्याम्पसदेखि काठमाडौंका अधिकांश संगीत स्कुलको हार्मोनियम गिरधारीले नै बनाउँछन्।

मदनमोहनलाई राजदेवले हार्मोनियम मर्मत गरेर चलाउँछन् भन्नेमा विश्वास थिएन। तर पनि काष्ठकलाको नामी मिस्त्रीले भनेको हुँदा राजदेवलाई उनले हार्मोनियम दिए।

जर्मनीमा बनेको हार्मोनियम बोकेर  राजदेव  घर गए। उनले हार्मोनियम भारत लगे। भारतमा त्यसको पाटपुर्जा खोजे। चाहिएको सामग्री पाए पनि। काठकलामा पारंगत राजदेवले  हार्मोनियमका अन्तर-कुन्तर नियाले। मर्मत गरे। अन्तत: हार्मोनियम बज्न थाल्यो। 

हार्मोनियम मर्मतमा दखल नभएका राजदेवले मर्मत गरेपछि हार्मोनियमको धुन अझ गजबको सुनिन थाल्यो। सुरको ज्ञानमा उनी अब्बल दहरिन पुगे। 

बिग्रेर फालेको हार्मोनियम बनाएर मिठो धुनमा बजाउन थालेपछि राजदेवको चर्चा हार्मोनियम बनाउने मस्त्रीका रुपमा पनि विकास भयो। 

राजदेवपछि उनको तीन पुस्तासम्मले हार्मोनियम बनाउने काम गरे।

राजदेवका तीनभाइ छोरामध्ये राशनारायणले बुबाको बिँडो थामे। राशनारायणका पनि तीन भाइ छोरा भए। त्यसमा उपेन्द्रले बुबाको कर्मलाई बलियो गरी समाते।

उपेन्द्रको भने एक मात्र सन्तान छन्। त्यसैले उनले आफ्नो सन्तानलाई पुस्तैनी सिपमा भन्दा पढ्नमा बढी मन लागाउन लगाए। काठमाडौंमा भाडामा राखेर पढाए। काष्ठकलामा दखल राख्ने परिवारमा जन्मिएर पनि उपेन्द्रले छोरालाई काष्ठ काममा लगाउन चाहेनन्।

उपेन्द्रका छोराले बुबाको सपना एक तहसम्म पूरा गरे। रत्नराज्य क्याम्पसबाट अंग्रेजी साहित्यमा मास्टर्ससम्मको अध्ययन गरे। केही समय देशको नाम चलेको जुत्ता कम्पनी गोल्डस्टारमा एकाउन्टेटको काम पनि गरे। 

तिनै राजदेका पनाति उपेन्द्रका छोरा हुन् गिरधारी ठाकुर। उनी चौथो पुस्ताका रुपमा उदाएका छन् हार्मोनियमका मिस्त्रीका रुपमा।

काठमाडौं केन्द्रित गिरधारी मन्दिरका सत्तल, पेटी, स-साना ओसिला भाडाका कोठादेखि महल जस्ता घरहरुसम्म पुग्छन् र हार्मोनियम बनाउँछन्। 

घर-घरमा पुगेर सेवा दिइरहँदा गिरधारी आफूलाई भाग्यमानी ठान्छन्। सबैको पहुँच हार्मोनियम बोकेर मिस्त्रीसम्म पुर्यानउने स्रोत र समय हुँदैन। व्यस्त जीवनशैलीका बीचमा घरमा नै सेवा दिँदा संगीतप्रेमीलाई राहत हुन्छ भन्ने लाग्छ गिरधारीलाई। 

‘बाले हार्मोनियमको काम गर्न नपरोस् भनेर पढाउनुभयो। म भने आफ्नै पुस्तैनी पेसामा फर्किएँ,’ गिरधारी भन्छन्, ‘अर्काको  काममा समय लगाउँदा उसैलाई फाइदा हुन्छ। सधैं तल नै परिन्छ। कर्मचारीको सन्तान बेरोजगार हुनसक्छ तर मालिकको सन्तान मालिक नै हुन्छ। म आफैं मालिक किन नबनौं?’

गिरधारी कुप्रो हजुरबाले जसरी दरबार जस्ता महलमा मात्र होइन, सडकपेटीमै अड्किएर हार्मोनियम खोल्न पुग्छन्।  उनको आङमा झोलाले हार्मोनियम उपचारका सामग्री बोकिनै रहन्छ। अचेल त उनलाई मान्छेहरु हार्मोनियमका डाक्टर पनि भन्दारहेछन्।

०००
नेपथ्य ब्याण्डको हार्मोनियम, चर्चित गायक राजेशपायल राईको हार्मोनियम, ललितकला क्याम्पसदेखि काठमाडौंका अधिकांश संगीत स्कुलको हार्मोनियम गिरधारीले नै बनाउँछन्।

सिप जेमा छ त्यसमा मात्र होइन, आत्मा जोडिएको कामलाई पेसा बनाउनुपर्छ भन्ने लाग्छ गिरधारीलाई। पुस्तैनी पेसा भए पनि नले २०६५ सालपछि मात्र यो काम सुरु गरेका हुन्। 

‘गाउँबाट सहर आइयो। पढ्न थालियो। सधैं घरमा पैसा माग्न मन लागेन। पैसा नभएपछि काठमाडौं पनि टिक्न सकिँदैन,’ ३१ वर्षीय गिरधारी भन्छन्, ‘घरमा सधैं देखिरहेको काम थियो हार्मोनियम बनाउने। घरमा छँदा नगरेको काम भए पनि हेर्दा-हेर्दै जान्ने भइसकेको रहेछु।’

‘पढ्ने भनेको जागिरका लागि मात्र होइन, बुझ्न हो,’ उनी भन्छन्, ‘मैले ३०/३५ हजारको जागिर पाउनु ठूलो कुरा नहोला। तर मैले परम्परागत पेसालाई राम्रोसँग बजार व्यवस्थापन गर्न सकें भने के चाहियो र?’

विस्तारै गिरधारीलाई आँट बढ्दै गयो। मर्मतमा कौशल विकास गर्दै गए। हार्मोनियमको अन्तर-कुन्तर मर्मत गर्न जान्ने भए पनि सुर मिलाउन सिक्दै थिए व्याचलर पढ्दै गर्दा। बुबालाई हार्मोनियमको सुर मिलाउन बोलाउँथे। बुबाले उनलाई सुरको पनि दीक्षा दिए। 

‘आत्मा जोडिएको काम भयो हार्मोनियम बनाउने,’ उनी भन्छन्, ‘ममा हार्मोनियम बनाउने सिप आँखाबाट पसेर हातमा पनि बसेछ। मान्छेले मन पराउन थाले मैले बनाएको हार्मोनियम।’

बिहान कलेज, दिउँसो हार्मोनियम बनाउन मान्छेका घरघर धाउँदै गिरधारीले मास्टर्ससम्म पढे। बेल-बखत जागिरको अफर पनि आउँछ। तर उनलाई हार्मोनियम बनाउनमा नै भ्याइ-नभ्याइ छ।

धेरैजसोले फोनबाटै बोलाउँछन् हार्मोनियम बनाउन। उनी पालैपाले सबैकोमा जान्छन्। तर नेपाली समाजले भने गरिरहेको र गर्न खोजेको कामलाई भने फरक रुपबाट हेर्ने गरेको गिरधारीको बुझाइ छ। 

उनका अनुसार, मान्छेले मान्छेभन्दा पनि तल्लो जातको भनेर निच व्यवहार गर्छन्। चिया-खाजा दिँदा पनि विभेद गर्छन्। दिने भाडादेखि बस्ने  ठाउँसम्ममा विभेद छ।

‘राजधनीमा जात प्रथाको जडता छ। घर-घरमा नै गएर काम गर्दा खाजा, चिया नास्ता दिन्छन्। तर तिनले मुखले राम्रो बोले पनि व्यवहारले अर्को भनिरहेको हुन्छ,’ उनी भन्छन्, ‘सिप, कलाले पनि जात बिर्साउन नसक्नु भनेको त हाम्रो समाज उँधो गति होइन र?'

मान्छेलाई घर-घरमा गएर सेवा दिनु पेसागत धर्म हो। तर त्यसरी श्रम गर्नेलाई चिल्ला, सुकिलाले जज गर्ने तरिका भने गलत छ भने लाग्छ गिरधारीलाई।

पढ्न काठमाडौं पठाएको छोरा हार्मोनियम बनाउने, मर्मत गर्ने काममा जमिरहँदा गिरधारीका बुबा पनि खुसी छन् अचेल। 

गिरधारीलाई अर्काको जागिर गर्नु नै छैन। आफैं केही गर्नुपर्छ भन्ने मान्यता राख्छन् उनी। पढे-लेखेका मान्छेले पुस्तैनी पेसालाई आधुनिकीकरण गरेर लानसक्नुपर्ने उनको धारणा छ।

‘पढ्ने भनेको जागिरका लागि मात्र होइन, बुझ्न हो,’ उनी भन्छन्, ‘मैले ३०/३५ हजारको जागिर पाउनु ठूलो कुरा नहोला। तर मैले परम्परागत पेसालाई राम्रोसँग बजार व्यवस्थापन गर्न सकें भने के चाहियो र?’
०००
पछिल्लो समय हार्मोनियमका पर्दा र सुर कस्ने पसलहरु धेरै खुलेका छन्। सबैले आफूले मर्मत गरेको हार्मोनियमको परख गर्छन्, दावी गर्छन्। तर गिरधारी भने कसैका दावीका पछि लाग्दैनन्। उनी आफ्नो दावी आफ्नो कामले देखाउँछन्। काममा निपुर्णता हुनु नै उनको लागि ठूला कुरा हो।

‘बजारमा हामी यस्तो, उस्तो भन्ने धेरै छन्। हामी हार्मोनियम बनाउने, मर्मत गर्ने पुरानो घराना हौं। मेरो हजुरबा ८२ वर्षको उमेरमा आज पनि हार्मोनियम बनाउनुहुन्छ। मेरा परिवारका सब यही पेसामा छौं। हाम्रो हार्मोनियमको माग निकै छ बजारमा। माग पूरा गर्नै गाह्रो छ।'

आफ्नो परिवारले साँचो बोलेर हार्मोनियम बेच्ने गरेको उनको दावी छ। 'हामी अरुले जस्तो भित्री माल साट-फेर गर्दनौं। म घर-घर हार्मोनियम बनाउन जान्छु। ग्राहकको आँखाअघि नै बनाउँछु,' गिरधारीको दावा छ, 'त्यही भएर त मान्छे पालो पर्खेर मसँग हार्मोनियम बनाउँछन्।’ 

१६ फागुन, २०७८, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।