पललाई सात दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

पललाई सात दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ : बलात्कार आरोपमा अनुसन्धानका लागि पल शाह सात दिन प्रहरी हिरासतमा परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई आइतबार जिल्ला अदालत तनहुँमा पेस गरेको थियो।

जाहेरी परेको पाँच दिनसम्म फरार रहेका उनी आफू निकटलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आइतबार आफैँ प्रहरी कार्यालय पुगेका थिए।

प्रहरीले परेको जाहेरीका आधारमा उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो। प्रहरीको माग अनुसार अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

गत बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध नाबालिग गायिकाको तर्फबाट जाहेरी परेको थियो। आइतबारै इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत शाह विरुद्ध नाबालिगको तर्फबाट उनका आफन्तले बलात्कारको जाहेरी दर्ता गराएका छन्।

आइतबार दर्ता भएको जाहेरीमा २०७७ चैत ७ गते नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको गैँडाकोट रिसोर्टमा एक दिन मात्रको लागि सुटिङका लागि लगेको उल्लेख गर्दै भोलिपल्ट पनि सुटिङ गर्ने भन्दै मादक पदार्थ खुलाएर बलात्कार गरिएको उल्लेख छ।

तनहुँमा दर्ता भएको जाहेरीमा एक आफन्तको घरमा बसेको बेलामा बेलुका मादक पदार्थ खाएर आएर फकाएर शाहले बलात्कार गरेको उल्लेख छ।

१५ फागुन, २०७८, १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।