कार्य-सम्पादनमा उत्कृष्ट मानिएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापनमा फेल

कार्य-सम्पादनमा उत्कृष्ट मानिएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापनमा फेल

बुटवल: कार्य सम्पादन मूल्याकंनमा लगातार पाँच पटकसम्म उत्कृष्ट भएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापनमा भने ‘फेल’ भएको छ।

उपमहानगरपालिकाले बुटवलमा संकलन भएको फोहोर तिनाउ नदी किनारमा थुपार्दै आएको छ। बजारबाट निस्कने फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजिँदा बस्ती नै दुर्गन्धित भएको छ।

जनप्रतिनिधि नहुँदा पनि बुटवलको फोहोर तिनाउ नदी किनारमै फाल्ने गरिएको थियो। अहिले जनप्रतिनिधि आएको पाँच वर्ष पुगिसक्दा पनि फोहोर व्यवस्थापनमा कुनै प्रगति भएको छैन। फोहोर फाल्ने स्थान मात्र फरक छ।

पहिले हात्तिसुढ, पवित्रानगर लगायका क्षेत्रमा फोहोर व्यवस्थापन हुने गरेकोमा अहिले बुटवल ११ कै भगवती टोल र मजुवा टोल नजिकै फोहोर व्यवस्थापन हुँदै आएको छ।

टोल नजिक फोहोर फाल्दा बेला–बेलामा स्थानीयले समेत विरोध गर्दै आएका छन्। फोहोर फाल्ने र दैनिक पुर्ने, टोल संस्थामा सडक कालोपत्रे गर्ने जस्ता योजना स्थानीयलाई देखाएर उपमहानगरपालिकाले नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ। नदी किनारमा फाल्ने फोहोरबाट महामारी फैलन सक्ने डर समेत छ।

बुटवल उपमहानगरपालिकाका वातावरण इन्जिनियर योगेश चापागाईंले समुदाय स्तरबाट संकलन भएको फोहोर पनि नदी किनारमा व्यवस्थापन गर्दै आएको बताए। 

अहिले बुटवलको १ देखि ६ नम्बर वडासम्म वातावरण सुन्दर नेपाल संस्थाले फोहोर उठाउने गरेको छ। त्यस्तै ७ र ८ को फोहोर बुटवल सरसफाइ सहकारीले, ९ र १० को सदन सरसफाइले फोहोर उठाउने गरेको छ।

वडा नम्बर ११ मा ३ वटा संस्थाले फोहोर उठाउने गरेका छन्। बाँकी १२ देखि १९ वडामा उपमहानगरपालिकाकै कर्मचारीले फोहोर उठाउने गरेको इन्जिनियर सापकोटाले बताए। त्यस बाहेक ठेक्कामा दिएको बुटवल कृषि थोक बजार केन्द्र र हाटबजारको फोहोर उपमहानगरपालिका आफैंले उठाउने गरेको छ।

‘टोलमा गठित संस्थाहरुले फोहोर व्यवस्थापन गर्दै आएका छन्। फोहोर संकलन गरेपछि सबैले ल्याउने ल्याण्डफिल्ड साइट भनेको मजुवामै हो। बुटवल ७ र ८ को दीर्घकालीन समधानका लागि सहकारीले गुरुयोजना बनाएर फोहोर व्यवस्थापन गर्दैछ,’ उनले भने।

अहिले नदी किनारमा फाल्ने फोहोरलाई दैनिक पुर्ने, झिँगा नलाग्न र महामारी फैलिन नदिन विभिन्न औषधि सो ठाउँमा राख्ने गरेको उनले बताए। अहिले फोहोर फाल्ने ठाउँमा ३ जना हेरालु मात्र उपमहानगरपालिकाले राखेको छ।

बुटवल उपमहानगरपालिका- ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले दीर्घकालीन फोहोर व्यवस्थापनको काम सम्पन्न नहुन्जेल मजुवामा फोहोर व्यवस्थापन भइरहेको बताए। 

अहिले उपमहानगर भित्रको सबै फोहोर मजुवामा ल्याउने र त्यसलाई वर्गीकरण गरी फलाम, प्लाष्टिक छुट्याएपछि बाँकी फोहोर पुर्ने गरेको उनले बताए। प्लाष्टिक र फलामजन्य फोहोर भने कबाडमा जाने गरेको उनको भनाइ छ।

पहिले पनि बुटवलले नदी किनारमै फोहोर डम्पिङ गर्दै आएको थियो। जसका कारण जग्गा उकासिएपछि धेरै क्षेत्रमा बस्ती नै बसेको छ।

बुटवल उपमहानगरपालिकाले २०५२ सालदेखि संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्न सुरू गरेको थियो। त्यो बेला उपमहानगरपालिकाले मैनाबगरमा फोहोर व्यवस्थापन गरेको थियो। ३ वर्षसम्म थुपारिएको फोहोरले पछि मैनाबगरको दक्षिण क्षेत्रमा जग्गा उकासियो। २०५६ सालमा मैनाबगरमा अटो भिलेज बनाउने योजना ल्याएपछि उपमहानगरपालिकाले खोलाको पूर्वतर्फ फोहोर थुपार्न थालेको थियो। 

सुरुवाती समयमा उपमहानगरपालिकाले खयरघारी, पवित्रनगर, सुन्दरनगरमा फोहोर थुपारेको थियो। अहिले त्यो क्षेत्रमा सुकुम्बासी बस्ती रहेको छ। पुरानो बसपार्क पछाडि खयरघारीदेखि थुपार्दै गएको फोहोर अहिले लुम्बिनी वाणिज्य क्याम्पस पछाडिको हात्तीसुँढसम्म पुगेको छ। 

बुटवलमा दैनिक ५२ टन फोहोर उत्पादन हुँदै आएको छ। ७ वर्ष पहिलेसम्म यहाँ दैनिक ३२ टन मात्र फोहोर उत्पादन हुने गर्दथ्यो। जनप्रतिनिधि नआउँदै बुटवलमा फोहोर व्यवस्थापनको योजना आए पनि स्थानीयको अवरोधका कारण योजना कार्यान्वयनमा नगई फिर्ता भएका कारणले पनि अहिले फोहोर व्यवस्थापनमा चुक्नु परेको उपमहानगरपालिकाले जनाएको छ।

बुटवल उपमहानगरपालिकाले र सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापनका दुई योजना फिर्ता भएका हुन्। एसियाली विकास बैंकसँग क्रृण अनुदानका लागि सम्झौता भए पनि स्थानीयको विरोधपछि योजना फिर्ता भएका हुन्।

बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडिबीसँग फोहोर प्रशोधन केन्द्रका २८ करोडको सम्झौता गरेको थियो। त्यसपछि फोहोर मैला प्रशोधन केन्द्रका लागि उपमहानगरपालिकाले जेडआइइसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता समेत गरेको थियो। 

साविक बुटवल १५ को जितेश्वरी सामुदायिक बनमा योजना निर्माण गर्ने भने पनि स्थानीयको अवरोधपछि देवीनगर र त्यहाँ पनि विरोध भएपछि देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक बनमा योजना निर्माण गर्ने भनियो। 

शिवनगर सामुदायिक वन क्षेत्रमा ४ सय ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने गरी योजना तयार भए पनि दुई वटा नगरपालिकाबीच समन्वयको कमी र अस्तित्वको लडाइँका कारण सफल हुन सकेन।

सम्झौता भएको आठ वर्षसम्म पनि जग्गा अभावमै उपमहानगरपालिका रन्थनिएपछि उक्त परियोजनाबाट एडिबीले हात झिक्यो। त्यस्तै सिद्धार्थनगरको ३२ करोडको योजना लागू नहुँदै फर्किएको थियो।

सिद्धार्थनगरले छिमेकी ओमसतिया गाउँपालिकामा ६ विघा जमिन खरिद गरेर ल्याण्डफिल्ड साइट बनाउने योजना बनाएको थियो। तर त्यहाँका स्थानीयले कुनै हालतमा योजना अघि बढाउन नदिने बताएपछि योजना फिर्ता भएको हो। 

सिद्धार्ननगर नगरपालिकाका नगरप्रमुख हरि अधिकारीले स्थानीयलाई पोखरा, स्याङ्जामा बनेका ल्याण्डफिल्ड साइट देखाउन लगेर दुर्गन्ध नहुने जानकारी गराए पनि विरोध नरोकिएपछि योजना फिर्ता भएको बताए।

सुस्त गतिमा निर्माण हुँदैछ प्रशोधन केन्द्र
विकसित सहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला दीर्घकालीन समधान सहित बुटवल, सैनामैना र गैडहवाको फोहोर व्यवस्थापन गर्ने योजना अनुसार सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम सुरु भएको छ।

दुई वर्षदेखि सैनामैना नगरपालिका–१० खोरमोरमा फोहोर प्रशोधन केन्द्र निर्माणको काम सुरु भएको हो। तर अहिले केही ढिला गरी काम भइरहेको छ।

अहिले वातावरणीय प्रभाव मूल्यांकन रोकिँदा कामले रफ्तार लिन नसकेको बुटवल उपमहानगरपालिकाका वातावरण इन्जिनिर योगेश चापागाईंले बताए।

‘मुख्य राजमार्गदेखि प्रशोधन केन्द्रसम्म करिब ६ किलोमिटर क्षेत्र जंगल पर्छ। त्यही कारण वातावरणीय प्रभाव मूल्याकंन हुन सकेको छैन्। त्यसैले काममा केही बिलम्व भएको छ,’ उनले भने।

उनका अनुसार हालसम्म प्रशोधन केन्द्र निर्माणमा २ करोड बढी रकम खर्च भइसकेको छ। राष्ट्रिय प्राथमिकताको योजना रहेको प्रशोधन केन्द्रका लागि सवा १० करोड विशेष अनुदान संघले उपलब्ध गराएको छ।

फोहोर प्रशोधन केन्द्र निर्माणपछि फोहोरको उचित व्यवस्थापन हुनेछ भने त्यसबाट मोहोर समेत आर्जन गर्ने गरी निर्माणको काम थालिएको छ।

जिल्लाका सबै स्थानीय तहसँगै कपिलवस्तुको बाणगंगा नगरपालिकाको समेत फोहर ल्याएर केन्द्रमा फोहोर प्रशोधन गर्ने लक्ष्य राखिएको छ। सैनामैना- १०, खोरमोर खोलाको उकास क्षेत्रमा बन्ने प्रशोधन केन्द्रबाट प्लाष्टिक दाना, कम्पोस्ट मल र मिथेन ग्यास उत्पादन गरिने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए। 

पूर्व-पश्चिम राजमार्गबाट ५ किलोमिटर उत्तर नदी उकासमा निर्माण भइरहेको फोहोर प्रशोधन केन्द्र बस्तीबाट टाढा भएकाले पनि उक्त क्षेत्र विवादरहित हुने उनको भनाइ छ। 

रुपन्देहीका अन्य स्थानीय तहमा समेत फोहोरमैला व्यवस्थापन लथालिंग भएकाले सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणपछि दीर्घकालीन रुपमै समस्याको समधान हुने अपेक्षा गरिएको छ।

१३ फागुन, २०७८, १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।