परिवारले छोडेर हिँडेपछि कुकुरको सहारामा बाँचेका हर्कबहादुर

परिवारले छोडेर हिँडेपछि कुकुरको सहारामा बाँचेका हर्कबहादुर

सुर्खेत : वीरेन्द्रनगर-५, कालिका टोलस्थित खोलाको डिलमै छ, ४९ वर्षीय हर्कबहादुर नेपालीको घर। उनको घर वरिपरि भिरालो जमिन छ। घरबाट भाँडा खसे पनि सिधै खोलामा पुग्छ।

हर्कबहादुर डेढ वर्षदेखि फोक्सोको बिरामी छन्। यतिबेला उनको एकमात्र सहारा भनेकै रक्की नामको कुकुर मात्रै हो।

तीन छोरा, दुई छोरी र श्रीमती गरी सात जनाको परिवार भए पनि उनी अहिले घरमा एक्लै छन्। एक छोरीको विवाह भइसक्यो। श्रीमती दुई छोरा र एक छोरीलाई लिएर भारततिर गइन्। आफूलाई थाहा नै नदिई श्रीमती र छोराछोरी भारत गएपछि हर्कबहादुर एक्लै परेका छन्। त्यही रक्कीकै सहारामा जीवन काटिरहेको उनी बताउँछन्।

रक्की उनले खाए खान्छ, भोको रहे भोकै सुत्छ। हर्कबहादुरलाई एकछिन् पनि छोड्दैन। अघिल्लो हप्ता एक्कासि रोगले च्यापेपछि हर्कबहादुर प्रदेश अस्पताल भर्ना भए। रक्की पनि गाडी पछ्याउँदै अस्पतालसम्म पुगेको थियो। तर आफ्ना मालिकलाई नभेटेपछि घर फर्कियो। चार दिनसम्म हर्कबहादुर अस्पताल भर्ना भए। 

रक्कीले भोकभोकै घर कुर्यो। अलि सञ्चो भएर घर फर्किएका हर्कबहादुरलाई अँगालो हालेर रक्की करायो। त्यसपछि हर्कबहादुरले खाना पकाएर खुवाए। आफूले पनि खाए। उनी बजार जाँदा होस् या गाउँ जाँदा रक्की पनि साथमै जान्छ। जसले गर्दा हर्कबहादुरलाई एक्लो महसुस हुन दिएको छैन।

‘मेरी श्रीमती र छोराछोरी मलाई नसोधी भारततिर गइन्। अहिले घरमा म र यो रक्की मात्रै छौं। मैले खाए खान्छ, म भोको भए भोकै बस्छ,’ उनले भने, ‘मलाई श्रीमती र छोराछोरीले छोडे पनि यसले छोडेको छैन। बिरामी भएर अस्पताल जाँदा त्यहाँसम्म गएछ। मलाई डाक्टरले भित्र लगे। गेटपालेले खेदेपछि रक्की घर फर्केछ। चार दिनसम्म म अस्पताल बस्दा ऊ भोकै घर कुरेर बसेको रहेछ।’

पहिला घरका मान्छे हुँदा रक्कीको धेरै वास्ता नगरे पनि अहिले आफू बिरामी हुँदा समेत नछोडेको हर्कबहादुरले बताए।

अहिले हर्कबहादुरका साथी भनेका कुकुर र रेडियो हो रे। उनले भने, ‘कुकुरले साथ दिन्छ, रेडियोले जानकार दिन्छ। यी मेरा पिर–व्यथा मेटाउने साथी बनेका छन्।’

मान्छेले जनावरलाई हेलाहोचो गर्नु बेकार भहेको भन्दै पर्दा जनावरले नै मान्छेलाई सहयोग गर्दोरहेछ भन्ने आफूबाटै प्रमाणित भएको हर्कबहादुर बताउँछन्।

हर्कबहादुर अहिले बजारतिर मागेरै रक्की र आफ्नो बिहान–बेलुका खानेकुरा जोहो गरिरहेका छन्।

१२ फागुन, २०७८, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।