प्रदेशकै एक्ली महिला गाउँपालिका अध्यक्ष मेनुकाको अनुभव: पुरुष जनप्रतिनिधि बढी प्रचारमा रमाउँछन्

प्रदेशकै एक्ली महिला गाउँपालिका अध्यक्ष मेनुकाको अनुभव: पुरुष जनप्रतिनिधि बढी प्रचारमा रमाउँछन्

इटहरीः झापाको कमल गाउँपालिकाको अध्यक्षका रूपमा मेनुका काफ्लेको कार्यकाल पूरा हुनै लागेको छ। वैशाख ३० गते निर्धारित गरिएको स्थानीय तह निर्वाचन अगावै उनी पदबाट बिदा हुँदैछिन्। 

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार भई विजयी भएकी मेनुका प्रदेश १ भरिमा एक्लो महिला अध्यक्ष हुन्। मेनुकाले यी पाँच वर्षमा तीतामीठा अनुभव भोगेकी छिन्।

०००
संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनैपर्ने व्यवस्था गरेको छ। तथापि राजनैतिक दलहरूले प्रमुखका पुरुषलाई नै प्राथमिकता दिए। त्यसैले  टिकट पाउनु नै मेनुकाको लागि पहिलो विजय थियो। 

त्यसमा पनि अध्यक्ष पदमा नै उम्मेदवारी दिनुले उनीमाथि चुनौती थपिएको थियो। तथापि सुरुदेखि नै संगठनमा खटिएकी उनले खासै दबाब महसुस गरिनन्। 

आफूले मात्र काम गरेको भन्दा आत्मप्रशंसा हुने भन्दै जनताले नै त्यसको अनुभूति सुनाए धन्य हुने मेनुका बताउँछिन्।

२०४८ सालदेखि नै अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य मेनुका हाल पनि संघको केन्द्रीय सचिव तथा प्रदेश १ सञ्योजक छिन्। एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पनि भएकी छिन्। 

गाउँगाउँमा संगठन विस्तार गर्दै हिँडेको अनुभव सँगालेकी उनलाई चुनावी प्रचार सामान्य नै लाग्यो। 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई स्थानीय स्तरमा लोकप्रिय छवि भएका नेता थिए। त्यसैले प्रतिस्पर्धा निकै कडा भएको थियो। अन्त्यमा उनीहरूले बराबर मत (८२७५) ल्याएपछि निर्णय गोलाप्रथाबाट गरिएको थियो। 

त्यसमा मेनुकाले बाजी मारिन्। र भइन्- प्रदेश १  कै पहिलो महिला पालिका प्रमुख।

विगतमा पनि चुनावको अनुभवले उनलाई परिपक्व बनाएको थियो। २०६४ को पहिलो संविधान सभा निर्वाचनको उम्मेदवार रहेकी उनी दोस्रो संविधान सभामा समानुपातिक लिस्टमा परिन्। 

पछि अन्य नेताको व्यवस्थापन गर्नुपर्ने भएकाले उनलाई संविधान सभामा जाने मौका मिलेन। 

मेनुका आफूलाई एनजीओ वा अरू पार्टीबाट प्रवेश गर्नेहरूभन्दा संगठन गरेर उदाएको नेताको रूपमा चिनाउँछिन्। 

संविधानले स्थानीय तहलाई शक्तिशाली संरचनाको रूपमा राख्यो। सोही शक्तिशाली संरचनाको प्रमुखमा मेनुकाको इन्ट्री भयो। कानून र बजेट नयाँ बनाउनुपर्ने व्यवस्थाका बीच उनको काम कारबाही सुरु भयो। 

संघ र प्रदेशले समयमा कानून उपलब्ध नगराउँदा झन्झट बेहोर्नुपरेको पहिलो अनुभव रह्यो। 

सुरुमा वडा भवन 
सिंहदरबारको अधिकार गाउँमा भने पनि त्यो अनुसार संरचना तयार भएको थिएन। विस्तारै काम गर्दै जाँदा नयाँनयाँ अनुभव भोग्नुपरेको उनी सुनाउँछिन्। 

कार्यालयविहीन अवस्थामा वडाहरू संचालन गर्नुपरेको उनको तीतो अनुभव छ।  

भूउपयोग नीति बनाएर किसानको माटो परीक्षण गर्नेदेखि 'एक घर, एक पशु बीमा' कार्यक्रमले उनी गाउँमा लोकप्रिय बनिन्।

“अहिले सबै वडामा भवन बनेका छन्। आधारभूत स्वास्थ्य चौकीका भवनहरू निर्माण गरेका छौँ। अधुरा काम धेरै थिए। कालोपत्रे हेर्न राजमार्ग आउनुपर्ने अवस्था थियो। तर अहिले टोलटोलमा कालोपत्रे सडक पुगेको छ। पालिकाबाट मात्रै हामिले ९० किलोमिटर कालोपत्रे गर्यौँ। त्यही अनुपातमा कल्भर्ट र पुल निर्माण गर्यौँ”, उनले सुनाइन्।  

पहिला र अहिलेको अवस्थामा स्वाभाविक रूपमा पालिकाका जनताले सुविधा पाएको उनले दावी गरिन्। आफूले मात्र काम गरेको भन्दा आत्मप्रशंसा हुने भन्दै जनताले नै त्यसको अनुभूति सुनाए धन्य हुने मेनुका बताउँछिन्।

शिक्षा र कृषिमा जोड 
“पहिला एउटा पनि पक्की भवन नभएका विद्यालयहरू थिए। अहिले सबै विद्यालयमा पक्की भवन निर्माण भएका छन्। विद्यार्थी नै नहुने विद्यालयहरू अहिले भरिभराउ हुन थालेका छन्। त्यसैको बलमा हामी अङ्ग्रेजी माध्यमबाट पढाउने तयारीमा छौ”, उनले भनिन्।

मेनुकाका अनुसार पालिकाले प्राविधिक शिक्षामा छात्रवृति दिने गरेको छ। यस्तै सीमान्तकृत सन्थाल जातिका छोराछोरीलाई छात्रवृतिसहित प्रोत्साहन भत्ता दिएरै भए पनि पढाउने वातावरण बनाइएको छ।

मेनुकाकै कारण गाउँका अन्य महिला पनि राजनीतिप्रति आकर्षित भएका छन्। पहिलाको तुलनामा राजनीतिक कार्यक्रममा बढी देखिन थालेका छन्।

यता सुख्खा क्षेत्रमा सिँचाईको व्यवस्था मिलाइएको, कृषिउपज उत्पादनमा ध्यान केन्द्रित गरिएको, दुई सय किसानलाई बिना व्याज ऋण उपलब्ध गराइएको, जिल्ला कृषि कार्यालयबाट पहुँचका भरमा अनुदान लिने कामको अन्त्य भएको पनि उनले दावी गरिन्।

भूउपयोग नीति बनाएर किसानको माटो परीक्षण गर्नेदेखि 'एक घर, एक पशु बीमा' कार्यक्रमले उनी गाउँमा लोकप्रिय बनिन्। कृषिमा निर्भर गाउँपालिका भएकाले त्यसैलाई प्राथमिकता दिइएको मेनुकाको तर्क छ। 

यस्तै गाउँपालिकाको १५ सय बिघा जग्गामा वृक्षारोपण गर्ने र कमल र रतुवा खोलाको तटबन्धको काम बाँकी रहेको उनी सुनाउँछिन्। 

महिला आत्मनिर्भर कार्यक्रम
बालविवाहमुक्त टोल घोषणा गरेर उत्कृष्ट काम गरेको उनको अनुभव छ। उनकै योजनामा समुदायमा केन्द्रित सीपमूलक तालिमदेखि महिलालाई ड्राइभिङ तालिम दिने काम भएको छ। 

आत्मनिर्भर महिला कार्यक्रममार्फत व्युटीपार्लर, सिलाई-बुनाई र कफी बनाउने तालिम दिइएको उनी बताउँछिन्। यस्तै हिंसाबाट बच्न किशोरीलाई आत्मरक्षा तालिमदेखि साइकल समेत वितरण गरिएको मेनुकाको भनाइ छ। 

चुनावको बेला घोषणा पत्रमा उल्लेख भएका ९० प्रतिशत काम सम्पन्न गरेको उनको दावी छ। 

गाउँका महिलाहरू राजनीतिमा आकर्षित भए
मेनुकाको अनुभवमा पुरुष जनप्रतिनिधिहरू अलि बढी प्रचारमा रमाउने गर्छन्। 

यता उनी अध्यक्ष भएको कमल गाउँपालिकामा उपाध्यक्ष उनकै पार्टीका  छन्। “पुरुष उपाध्यक्ष भएको हिसाबमा धेरै महिला पीडितहरू मेरो कक्षमै आउनुहुन्छ”, उनले अनुभव सुनाइन्, “फेरि योजनालगायत महत्त्वपूर्ण काम गर्नुपर्दा उपाध्यक्षको कक्षमा भीड हुन्छ।  महिलालाई स्वीकार नगरेको जस्तो लाग्छ। पछिमात्र मेरो कार्यकक्षमा आउनुहुन्छ वहाँहरू।” 

महिला भएको स्थानमा सुशासनको अवस्थामा पनि सुधार आउने महालेखापरीक्षकको प्रतिवेदनले पुष्टि गरेको उनी बताउँछिन्। 

उनको दावी छ- उनको पालिकामा अनावश्यक खर्च कम गरेर जनमुखी काममा लगानी गरिएको छ। 

मेनुका राति अबेरसम्म गाउँपालिकाकै काममा खटिएकी हुन्छिन्। मेनुकाकै कारण गाउँका अन्य महिला पनि राजनीतिप्रति आकर्षित भएका छन्। पहिलाको तुलनामा राजनीतिक कार्यक्रममा बढी देखिन थालेका छन्।

धैरै पालिकाका प्रमुखहरू पुनः कार्यकाल दोहोर्याउने पक्षमा रहेका बेला उनले भने त्यो ईच्छा देखाएकी छैनन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीकै क्षेत्र भएकाले संघीय संसद्को उम्मेदवारमा उनको सम्भावना देखिदैन। प्रदेश तर्फ पनि प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको क्षेत्र पर्छ। 

त्यसैले उनी समानुपातिकबाट उम्मेदवार बन्ने योजनामा छिन्।

११ फागुन, २०७८, ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।