फिलिपिन्सलाई एक सय ३६ रनले हराउँदै नेपाल सेमिफाइनल नजिक

फिलिपिन्सलाई एक सय ३६ रनले हराउँदै नेपाल सेमिफाइनल नजिक
तस्बिर: क्यान

काठमाडौंः आईसीसी टी–ट्वेन्टी विश्वकप क्वालिफायरअन्तर्गत नेपाल र फिलिपिन्सबीच सम्पन्न खेलमा नेपाल विजयी भएको छ। फिलिपिन्सलाई एक सय ३६ रनले पराजित नेपाल विजयी भएको हो।

जितसँगै नेपालको सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ। हाल नेपाल दुई खेलमा ४ अंकसहित समूहको शीर्ष स्थानमा छ। नेपालले अब एक खेल क्यानडाविरुद्ध मात्र खेल्न बाँकी छ। क्यानडा आज ओमानसँग पराजित भएसँगै रनरेटका आधारमा समूहको दोस्रो स्थानमा छ।

यता नेपालले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो। फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, जोनाथन हिलले ११ र कपिल कुमारले ४ रन जोडे। 

यता बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेको नाममा आज ३ विकेट रह्यो। डब्यू बलर गुल्सन झासहित दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा र जितेन्द्र मुखियाले १-१ विकेट लिए। 

ब्याटिङतर्फ आज नेपालले शानदार प्रदर्शन गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले शतक प्रहार गरे। उनी एक सय चार रन बनाएर अविजित रहे। 

यस्तै उनलाई दिपेन्द्रसिंह ऐरीले साथ दिए। दिपेन्द्रले पनि ४७ बलमा ८३ रनको शानदार पारी खेले। 

अन्य ब्याट्सम्यानहरूमा कुशल मल्ल १२ रन र लोकेश बमले ६ रनको पारी खेले। आशिफ शेख भने आज पहिलो बलमै एलबीडब्ल्यू भएका थिए।

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेल क्यानडाविरुद्ध २१ फेब्रुअरीमा खेल्नेछ।

* फिलिपिन्सलाई हुनुपर्नेमा ओमानलाई भएकोमा हेडलाइन सच्याइएको छ।

७ फागुन, २०७८, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।