न नाम, न दाम अनि कसरी आकर्षित हुन्छन् नयाँ खेलाडी ?

न नाम, न दाम अनि कसरी आकर्षित हुन्छन् नयाँ खेलाडी ?

सर्लाहीका सञ्जय श्रेष्ठ कबड्डीका राष्ट्रिय खेलाडी हुन्। नेपाली टोलीका पूर्वकप्तान समेत रहिसकेका श्रेष्ठले भारतको प्रसिद्ध प्रतियोगिता प्रो-कबड्डीमा सिजन एकदेखि सातसम्म निरन्तर विभिन्न टिमबाट खेलेका छन्।

उनी कबड्डीसँग कसरी जोडिए? मनपर्ने कबडडी खेलाडी को हो?, अहिले नेपालमा कबड्डीको अवस्था के छ? यिनै विषयमा श्रेष्ठसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले गरेको कुराकानीको सम्पादित अंश:

मैले २०५४ सालबाट सक्रिय रुपमा कबड्डी खेल्न सुरु गरेको हुँ। म सर्लाहीको मान्छे, जनकपुर क्षेत्र पहिलेदेखि नै कबड्डीका लागि उर्बर। त्यसमाथि पारिवारिक माहोलले पनि साथ दियो मलाई कबड्डी खेल्न।

म मामाघरमा हुर्किएँ। मेरा मामाहरु कबड्डी खेल्नुहुन्थ्यो। उहाँहरुसँग खेल्दा, खेलेको हेर्दा मैले कबड्डी खेलाडीमा हुनुपर्ने केही गुण विद्यालय तहमा नै विकास गरिसकेको थिएँ।

कबड्डी खेल्न शारीरिक रुपमा बलियो हुन, हात खुट्टाको चालमा सन्तुलन ल्याउन, गतिमा तिव्रता हुन जरुरी थियो। यी कुराहरुमा मेरो अभ्यास रहथ्यो। खेल्दै जाँदा म पाँचौं राष्ट्रिय खेलकुद समारोहमा खेल्नका लागि छनोट भएँ।

तर, दुर्भाग्य के रह्यो भने, आइतबार दीपेन्द्र सरकारले त्यो समारोह उद्घाटन गर्ने कुरा थियो। शनिबार नै दरबार हत्याकाण्ड भइहाल्यो। त्यसबेला खेल खेल्न पाइनँ।

मैले जयपुरबाट सिजन एकदेखि तीनसम्म लगातार खेलें। सिजन चार, पाँच र सात बैङ्लोर्स बुल्सबाट खेलें। छौटौं सिजन चाहिँ पुनरी पल्टनबाट खेलें।

२०५८ सालको पाँचौं राष्ट्रिय खेलकुद समारोह स्थगित नै भयो। लगत्तै पाकिस्तानमा भएको सार्क गेममा भने मैले खेल्ने अवसर पाएँ। त्यतिबेला मैले नेसनल गेम नै नखेली सिधै इन्टरनेसनल गेम खेल्न पाएको थिएँ।

पाकिस्तानमा खेल्न जाने मभन्दा सिनियर खेलाडी धनुषाका सरोज सिंह हुनुहुन्थ्यो। उहाँको खेल त्यसबेलाको हाम्रो कबड्डी  टिममा उत्कृष्ट थियो। मलाई उहाँको हात-खुट्टाको चाल, विपक्षीलाई चक्मा दिन सक्ने दिमागी कौशल, शरीरको गजबको सन्तुलन निकै मन पर्थ्यो। 

उहाँलाई पछ्याउन थालें। उहाँले पनि ममा सम्भावना देख्नुभयो होला र मलाई आफ्ना टेक्निकहरु सिकाउनुभयो। उहाँले सिकाएको टेक्निकमा मैले धेरै मिहिनेत गरें। फलतः २०५८ सालपछि  धेरै वर्षसम्म म कबड्डी टिमको नियमित खेलाडी समेत रहेँ।

म नियमित खेलिरहेको थिएँ तर बीचमा आर्थिक समस्याका कारण सरोज सिंह विदेशिनु भयो। केही वर्ष पछि फेरि नेपाल फर्केर उस्तै जोशका साथ उहाँले कबड्डी खेल्नुभयो।

आठौं, दसौं सार्क गेममा हामीले सँगै खेल्यौं। बाह्रौँ सार्क गेममा म क्याप्टेन थिएँ। विदेशबाट फर्किनुभएका सिंह पनि खेल्नुभयो। मेरो क्याप्टेनसिपमा खेलिरहँदा उहाँ गर्व महसुस गरिरहेका छु भन्नुहुन्थ्यो।

उहाँले नै दिनुभएको तरिकालाई निखार्न मैले मिहिनेत गरें। सिंहको कबड्डी खेलाडीमा हुनुपर्ने दिमागी चलाखी र शारीरिक तीव्र चालको तरिका सिकेर नै म आजको अवस्थामा आउन सकेको हुँ।

मलाई सिकाउने गुरुलाई नै क्याप्टेन भएर खेलाउन पाउँदा संसार जिते जस्तो भयो। आफूले सिकाएको केटोको नेतृत्वमा खेलिरहँदा उहाँमा देखिएको खुसीले मलाई आज पनि रोमाञ्चित बनाउँछ। मेरा गुरु सरोज सिंह मलाई मनपर्ने कबड्डी खेलाडी हुनुहुन्छ। 

सिंहकै तौरतरिका बोकेर नै मैले भारतमा आयोजना हुने प्रो-कबड्डीमा सिजन एकदेखि सातसम्म निरन्तर विभिन्न टिममा रहेर खेल्न सकें। 

कुनै पनि खेलाडी कुनै पनि खेलमा निरन्तर त्यत्तिकै पर्दैन। अरुमा भन्दा केही योग्यता हुनैपर्छ। त्यो योग्यता मलाई सिंहले नै दिनुभएको हो। उहाँको चेला भन्न पाउँदा निकै गर्व महसुस हुन्छ।

मैले जयपुरबाट सिजन एकदेखि तीनसम्म लगातार खेलें। सिजन चार, पाँच र सात बैङ्लोर्स बुल्सबाट खेलें। छौटौं सिजन चाहिँ पुनरी पल्टनबाट खेलें। लगातार सात सिजनसम्म प्रो-कबड्डी खेल्न मैले सिंहकै कारण नै सकेको हुँ। उहाँ मेरो खेल जीवनको प्रेरणा हो।

सिंहको बारेमा भनिरहँदा हामीसँग उहाँ जस्ता प्रतिभाशाली धेरै सिंहहरु हुनुहुन्छ। उहाँहरुलाई राज्यले चिन्दैन। उहाँहरुले बल छँदा देशको झण्डा उठाउनुभयो। जब बल घट्यो बेरोजगार बस्नुपर्ने अवस्था आयो। यस्तो अवस्था धेरैको छ।

कबड्डी खेल्ने निश्चित उमेरसम्म मात्र हो। यो खेलको करिअर छोटो हुने सम्भावना बढी हुन्छ। एक जनाले सात जनालाई डिफेन्ड गर्नुपर्छ एक पटकमा। कति चोटपटक आउँछ। त्यसको उपचारमा पनि राज्य तहबाट केही भएको देखिँदैन। 

सबैभन्दा ठूलो कुरा खेलाडी उत्पादन गराउन सक्ने सिंह जस्ता धेरैले स्थान पाएका छैनन्। खेलाडी उत्पादन कम छ। कबड्डी महासंघले राष्ट्रिय स्तरको कबड्डी प्रतयोगिता आयोजना गरे त  खेलाडी उत्पादन हुने थियो नि।

सन् २००४ र २००६ सालमा कबड्डी वर्ल्डकपमा नेपालले सहभागिता जनायो। कुनै पदक ल्याउन सकेन। हामीसँग सिंह जस्ता धेरै सिंहको मौलिक पाराको खेल्ने तौरतरिका छ। तिनलाई पुस्ता हस्तातरण गर्ने वातावरण कतैबाट बनेको छैन। त्यसले गर्दा दक्ष जनशक्ति पनि विदेशिन या कतै गुमनाम हुनपर्ने अवस्था छ।

ती दक्ष मान्छेहरुलाई देशभर परिचालन गरेर खेलाडी उत्पादन गर्ने, राष्ट्रिय स्तरका प्रतियोगीताहरु गराइराख्ने हो भने प्रो-कबड्डी जस्ता ठूला र  आर्थिक रुपमा खेलाडीलाई राहत हु्ने प्लेटफर्ममा खेलाडी जान पाउँछन्। ती खेलाडीले कमाएको पनि राज्यलाई नै हो क्यारे आखिर। तर राज्य मौन छ। न हामीलाई खेलाडीभन्दा कुनै पहिचान भएको महसुस हुन्छ। न हाम्रो आर्थिक अवस्था नै गतिलो छ। 

न नाम, न दाम अनि कसरी नयाँ खेलाडी आकर्षित हुन्छन् खै? क्षमता भएका खेलाडी पनि खेल्नसक्ने अवस्था त कम रहने भयो यस्तो वातावरणले। नयाँ खेलाडी उत्पादन नभएपछि समस्या त हुने नै भयो।

हामीसँग कबड्डीमा अथाह सम्भावना छ। अन्तर्राष्ट्रिय स्तरमा बिक्ने खेलाडीहरु उत्पादन गर्ने क्षमता हामी राख्छौं। तर हामीलाई न्यूनतम आवश्यकता पूरा गर्न समेत सरोज सिंह जस्तै विदेशिनुपर्ने अवस्था छ।

सरोज सिंह पैसा कमाउन विदेश गएका थिएनन्, समस्या टार्न गएका थिए। उनी फर्केर आए। फेरि खेले। तर सबै खेलाडी सारोज सिंह हुँदैनन्। हुनसक्ने अवस्था पनि रहँदैन। राज्यले हामीलाई केही लगानी बढाउने हो भने केही गर्न सक्छौं। 

म यसपालिको आठौं प्रो-कबड्डीमा छानिइनँ। अब नेपालमा पनि म सक्रिय रुपमा खेल्ने अवस्था छैन। चालीसको नजिक पुगिसकें अब शरीरले पनि धान्दैन। 

म आफूले सिकेको कुरा सिकाउन चाहन्छु। राज्यको पैसामा खेलाडी उत्पादन गर्न चाहन्छु। म जस्ता खेलाडीहरुलाई प्रशिक्षकमा तान्नुपर्यो। होइन भने हामीलाई राज्यले रोजगारी दिनुपर्यो। 

बल छँदा देशको झण्डा बोक्ने, बुढ्यौलीमा रित्तो हुने अवस्था छ। त्यसलाई राज्यले सामाधान गर्नुपर्यो र सरोज सिंह जस्ता  खेलाडीहरु विदेशमा काम गर्न होइन, खेल्न जाने वातावरण बनाउनुपर्यो। यो अवस्था बनाउन राज्यले हामीलाई पनि देख्नुपर्यो। 

देशको झण्डा बेकेवापत राज्यले चाहिँ केही गर्नै नपर्ने हो र? त्यो त होइन होला। तर हामीले मात्र कराएर भएन। देशको लागि हामीले गरेको कामको मूल्याङ्कन होस्। हामी पनि यो देशका  खेलाडी हौं, राज्यले चिनोस्।

७ फागुन, २०७८, १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।