प्रचण्डसँग आजित देउवा रणनीति- गठबन्धन भत्काउने, ओली फकाउने

प्रचण्डसँग आजित देउवा रणनीति- गठबन्धन भत्काउने, ओली फकाउने

काठमाडौं : सत्ता गठबन्धनको बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा बिहीबार राति एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगे। तर ओलीसँगको भेटले पनि उनलाई राहत दिन सकेन।

बैठकमा सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र नेकपा समाजवादीले संसद् बैठक अवरुद्ध हुन नहुने सर्त राखेका थिए। सोही अनुरुप देउवाले ओलीसँग 'संसद चल्न सकेन. राष्ट्रिय सरोकारका विषयमा निचोड दिन सकेनौं। तपाईले सहयोग गर्नुपर्यो' भन्ने कुरा राखे।

जवाफमा ओलीले भने, ‘म सल्लाह गर्छु, तपाईँले गठबन्धन तोडिसकेको भए त्यही अनुसार कुरा गरौंला। तोडिएको नभए त्यही अनुसार कुरा गरौंला। तपाईंको कुरा सकारात्मक छ। म पनि सकारात्मक रुपमा लिन्छु।’

स्रोतका अनुसार ओलीले देउवालाई प्रष्ट भएर आउन भने र आफूले पार्टीमा छलफल गर्ने जवाफ दिए। उनले प्रदेश सरकारदेखि एकीकृत समाजवादीको खारेजी तथा चुनावी तालमेलसम्मका लाभ-हानिको स्पष्ट मार्गचित्र माग गरेका थिए।

ओलीको माग महँगो भएको बुझेका देउवाले शुक्रबारको सत्ता गठबन्धनको बैठक पर्खिए। शुक्रबार पनि सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा एमसिसी पास हुन नसक्ने एक मत राखे।

बिहीबारको गठबन्धनको बैठकमा ७ गतेको पार्टी बैठक पर्खिन गरेको एकीकृत समाजवादीको आग्रह र पार्टीभित्र अरुलाई मनाउन समय चाहिने प्रचण्डको भनाइपछि गठबन्धनको बैठक ८ गते बस्ने गरी सारियो।

४ गतेको संसद बैठकमा एमसिसी टेबल गराउन खोजेका देउवालाई ६ गतेको बैठकमा पनि एमसिसी टेबल गराउने वातावरण जुटेन। कांग्रेस अब सबै विकल्पको प्रयोग गरेर एमसिसी अनुमोदन गराउन चाहन्छ। 

गठबन्धनबाट बाहिरिएर भए पनि एमसिसी पारित गर्नुपर्ने कांग्रेस नेता मीन विश्वकर्मा बताउँछन्। ‘एमसिसी पास गर्नेमा गठबन्धन सहमत भए गठबन्धनमा नै अघि बढ्छ नभए विकल्पमा अघि बढ्छ,’ उनले भने, ‘त्यो विकल्प बाहिरबाट खोज्ने कुरा भएन, संसदबाट खोज्ने हो।’ 

गठबन्धन पनि टिकाइराख्न खोज्ने र एमसिसीको विषयमा सडक आन्दोलन पनि गर्ने माओवादी केन्द्रको चरित्रले कांग्रेस आजित छ। 

‘सरकारले ल्याएको अजेण्डाहरुमा गठबन्धनकै दलहरुले असहज परिस्थिति निम्त्याएका छन्। जसले गर्दा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई अफ्ठ्यारो परेको छ,’ कांग्रेस उपसभापति धनराज गुरुङले भने।

एमालेलाई फकाउन गठबन्धन तोड्नुको कांग्रेससँग विकल्प छैन। गठबन्धनका दलहरुले भित्र एउटा कुरा र बाहिर अर्को कुरा गर्ने गरेकाले कांग्रेसले अपनाउने रणनीति के हुन्छ भन्ने पनि स्पष्ट छैन।

‘अहिले रणनीति केही छैन जे आउँछ, परिस्थिति त्यही अनुसार अघि बढ्ने हो,’ कांग्रेस नेता विश्वकर्माले भने।

माओवादीबाट आजित भएका देउवाको अबको भित्री रणनीति भने गठबन्धन भत्काएरै भए पनि एमसिसी पास गर्नका लागि एमाले अध्यक्ष ओलीलाई पकाउने देखिन्छ।

माओवादी नेता कृष्णबहादुर महरा भने संशोधन नभई एमसिसी पास नहुने बताउँछन्। 'हामी स्पष्ट छौं, राष्ट्रिय सहमति नभई र संशोधन नभई एमसिसी पास हुँदैन। उहाँहरु के सोच्नुहुन्छ हेर्छौं,’ उनले भने।

अहित हुने धाराहरु हटाउनुपर्ने माओवादीको माग छ। सरकार निर्माण र एमसिसी फरक विषय रहेको माओवादीको बुझाइ छ। सरकार प्रतिगमनको विरुद्ध विशेष परिस्थितिमा बनेको र कुनै परियोजना पास फेल गराउन बनेको होइन भन्ने भनाइ उनीहरुको छ।

‘सरकार के हो देशका अगाडि? सरकार आउँछन्/जान्छन्। सरकार कहिले रिक्त हुन्छ?,’ माओवादीका अर्का नेता राम कार्की भन्छन्। चीन र अमेरिकाबीच हुन लागेको शीतयुद्धको बीचमा नेपाल तटस्थ रहनुपर्ने उनको भनाइ छ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने एमसिसी पनि यथास्थितिमा पास नहुने र गठबन्धन पनि नटुट्ने दावी गर्दै आएका छन्। ‘गठबन्धन भत्काउँछु भन्नेमा कोही पनि छैनन्। कुनै पनि कुरामा हठ गर्दै गएपछि त्यो ठाउँमा पुग्न सकिन्छ,’ खनालले भने। 

देउवाको विकल्प 
संसदीय अभ्यासमा कि त सत्तारुढ दलहरुबीच न्यूनतम समझदारी हुनुपर्छ कि सहमति हुने नभएपछि सरकार छाड्ने प्रचलन छ। माओवादी र एकीकृत समाजवादी सकेसम्म गठबन्धन जोगाउने प्रयासमा छन्। तर एमसिसीमा साथ दिने पक्षमा छैनन्।

माओवादीबाट सभामुख बनेका अग्निप्रसाद सापकोटाले एमसिसीलाई कार्यसूचीमा समेत नराखेपछि कांग्रेसले कम्तीमा समाजवादी र माओवादीसँग न्यूनतम सहमति गराएर एमसिसी टेबल गराउनु हो। मत नदिए पनि प्रक्रियामा अवरोध नगर्नेमा प्रधानमन्त्री देउवा विश्वस्त छन्। 

अर्को, एमालेको साथ। सत्ता गठबन्धमा एमसिसीबारे सहमति पनि नहुने र टेबल पनि नहुने अवस्थामा देउवाले एमालेलाई विश्वासमा लिएर एमसिसी टेबल गराउन सक्छन्।

अर्को, देउवाले नयाँ गठबन्धन निर्माण गर्न सक्छन्। गठबन्धनका अन्य दलहरले सरकार छाडेर हिँडे भने सरकार टिकाउन कांग्रेसले एमालेको साथ खोज्नेछ। एमालेको चाहना पनि गठबन्धन भत्कियोस् भन्ने नै हो।

अन्तिम विकल्प भनेको चुनावमा जाने हो। गठबन्धन टिकाउन नेताहरु एकमत भएमा एमसिसीलाई संसदीय प्रक्रियामा अघि बढाउने र निर्णय स्थानीय चुनावपछि मात्र गराउन तयार हुन सक्छन् । यसको लागि अमेरिकासँग समय माग गर्ने विकल्प देउवासँग छ। यो विकल्प अन्य विकल्प भन्दा सहज हुनेछ। अमेरिका पनि मैदान खाली गरेर अरुलाई बल सुम्पन तयार नहुन सक्छ।

६ फागुन, २०७८, १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।