अढाई करोड लगानीमा दुई मोतिरामको कालिजपालन: फाइदा उल्लेख्य, पाँच वर्षभित्रै कमाइसक्ने लक्ष्य

अढाई करोड लगानीमा दुई मोतिरामको कालिजपालन: फाइदा उल्लेख्य, पाँच वर्षभित्रै कमाइसक्ने लक्ष्य

बुटवलः आवश्यक भौतिक पूर्वाधार र रोजगार लगायतको अवसरको अभावमा गाउँ विस्तारै रित्तिँदै छ। अझ पछिल्लो समय पहाडबाट तराईमा बसाइँ सर्नेक्रम बढिरहँदा गाउँघरसँगै पहाडका खेतीयोग्य जमीन पनि बञ्जर बनेका छन्।

तर यही भीडमा अपवाद पनि छन्। अपवाद हुन्- मोतिराम गौतम र मोतिराम न्यौपाने। 

उनीहरू दुवै तराईका हुन्। तर अहिले पहाडको बाँझो जमीनमा ‘सुन फलाउन’ खोज्दै छन्। 

यसरी फलाउँदै छन ‘सुन’
पाल्पाको तिनाउ गाउँपालिका– १ झिँगामारामा ‘पानस वाइल्ड लाइफ एग्रो प्रा.लि एण्ड रिसर्च सेन्टर’ छ। करिब अढाई करोड लगानीमा यहाँ कालिजपालन भइरहेको छ। यो व्यवसाय पर्यटनसँग पनि गाँसिदै छ।

यो उनै दुई मोतिरामहरूको उद्यम हो। 

झिँगामारामा भीरालो र बञ्जर जमीनमा व्यावसायिक सफलता देखेका उनीहरू रुपन्देहीको सैनामैनाका हुन्। झिँगामाराका धेरै स्थानीय तराईमा बसाइँ सरिसकेका छन्। 

तर झिँगामाराबाट ९ किलोमिटर दक्षिणमा रहेको सैनामैनाका दुई मोतिराम भने सम्भावनाको खोजी गर्दै झिँगामारा नै पुगेका हुन्।

बञ्जर र भीरालो जमीनमा अहिले उनीहरूले व्यावसायिक कालिजपालन गरिरहेका छन्। पानीको अभावले गर्दा खेतीपाती राम्रो नहुने र उपयोगमा नआएको ८० रोपनी जग्गा किनेर कालिजपालन सुरु गरेको मोतिराम गौतमले बताए।

पोखराबाट कालिजको चल्ला ल्याएर व्यवसाय सुरु गरेको भए पनि अहिले गौतमले ह्याचरी मेसिनबाट चल्ला उत्पादन आफैँ थालेका छन्। 

अहिले फार्ममा दुई हजार कालिज छन्। अर्को वर्ष संख्या बढाउने योजना रहेको उनले बताए। 

‘हामीले जमीन लिँदा यहाँ खेती केही थिएन। कहिँ पनि प्रयोगमा थिएन। खाली राख्नभन्दा केही गरौँ भनेपछि यो (कालिजपालन) गरेका हौँ। यसलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य छ। हावापानी समेत अनुकूल छ। बढी उपयोगी छ’, उनले भने।

भीरालो जमीनमा तारबारसँगै कालिज बस्ने स्थान जालीले छोपिएको छ। हावापानीको दृष्टिकोणले पनि कालिजपालनको लागि यस स्थान उपयुक्त छ।

कालिजपालन व्यवसायमा राम्रो फाइदा पनि रहेको छ। एउटा कालिज तीनदेखि चार हजारसम्ममा बिक्री हुने गरेको छ।

यहाँबाट रुपन्देहीको सैनामैना र बुटवल नजिकै पर्दछ। तराईमा गर्मी बढ्दा पनि यहाँ अनुकूल हावापानी हुने गर्दछ। यहाँबाट तराईका थुप्रै ठाउँहरूको दृश्य अवलोकन गर्न सकिने भएकाले कृषिलाई पर्यटनसँग जोड्न यहीँ रिसोर्ट पनि सञ्चालनमा ल्याएका छन् उनीहरूले। 

सञ्चालक मोतिराम न्यौपाने कृषि र पर्यटन जोड्ने गरी आफूहरूले काम गर्दै आएको बताउँछन्। न्यौपाने र गौतमले फार्म सञ्चालन गरेपछि ७ जना स्थानीयले रोजगारी समेत पाएका छन्। 

अझै यो फार्मलाई विस्तार गर्दै पशुपालन पनि थप गर्दै जग्गालाई सदुपयोग गर्ने उनीहरूको लक्ष्य छ।

पहाडका खेतीयोग्य जमीन अत्याधिक बसाइँ सराईले उपयोगविहीन भइरहँदा, सम्भावना खोज्ने हो भने पहाडमा पनि केही गर्न सकिन्छ भन्ने प्रमाण उनीहरूले दिएका छन्।

यसरी भयो दुई मोतिरामको भेट
बाग्लुङको बरेङ गाउँपालिका- ३ का मोतिराम गौतम चार वर्षअघि गाउँकै बालविकास निमाविबाट अवकास पाएका व्यक्ति हुन्। गाउँमा हुँदा पनि बाख्रा र कुखुरापालनमा रमाउने गौतम अवकासपछि केही नयाँ कार्य गर्ने सोचमा थिए।

बुटवलमा आउजाउ गरिरहने गौतमले बुटवलको गर्मीलाई छल्न मिल्ने स्थानको खोजी गर्दै व्यापार व्यवसाय गर्ने भन्दै बुटवल आए।

बुटवल आउनासाथ गौतमले आईसक्रिम कोनको उद्योग खोले। अहिले पनि ४ वर्षदेखि यो उद्योग सञ्चालनमा छ। उद्योग भए पनि गौतमलाई कृषिमै नयाँ काम गर्ने जोस थियो। 

आईसक्रिम कोनसँगै कृषि गर्ने योजना लिएर उनी बुटवलकै नाताले मामाको छोरा पर्ने मोतिराम न्यौपानेकहाँ पुगे। 

बुटवलमा होटल चलाउँदै गरेका मोतिराम न्यौपानेलाई मोतिराम गौतमले कृषिमा केही नयाँ काम गर्ने योजना सुनाए। गौतमको योजनामा न्यौपानेले साथ दिए। 

बुज्दै जाँदा झिँगामारामा जग्गाको व्यवस्था भयो। त्यही जग्गा किनेर कालिजपालन सुरु भयो।

पार्टनरमा होटल गरेका न्यौपानेले होटल साथीलाई बुझाएर कालिजपालनतिर लागे। 

सुरुमा कालिजपालन र बाख्रापालनको योजनाअनुसार जग्गा लिए पनि पछि रिसोर्टको अवधारणा अघि सारे उनीहरूले। रुपन्देहीको चर्को गर्मी छल्न झिँगामारामा धेरै मानिस आउन सक्ने र कालिजको स्वाद चखाउने योजनाअनुसार रिसोर्टको कल्पना गर्दै ‘पानस वाइल्ड लाइफ एग्रो प्रा.लि एण्ड रिसोर्च सेन्टर’ स्थापना गरिएको सञ्चालक मोतिराम गौतमले बताए।

‘रिसोर्टको परिकल्पना काम गर्दागर्दै आएको हो। रिसोर्ट भर्खर मात्र सञ्चालनमा आएको छ’, उनले भने।

यो उद्यमले पाँच वर्षमा आफ्नो लगानी उठाउने गौतमले बताए। ‘कालिज पाल्ने मात्र होइन, यहाँबाट चल्ला समेत ह्याचरी गर्नुपर्दछ भनेर सेन्टरले ह्याचरी समेत सञ्चालनमा ल्याएको छ। यो वर्ष मात्र हामीले १२ लाखका कालिजका चल्ला बिक्री गर्यौँ’, उनले भने।

अहिले बुटवल, भैरहवा, मुर्गिया, कपिलवस्तु, देवदह, परासीसम्म यहाँको कालिजको माग छ। 

‘सुरुमा कालिज कस्तो रहेछ भनेर बिक्री भयो। अहिले चाहिँ कालिज खानुपर्छ भनेर लिन फार्ममै आउनुहुन्छ। दुई हजार कालिजले माग धान्न नसक्ने अवस्था छ’, उनले भने।

६ फागुन, २०७८, ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।