र, तारानाथ शर्माको कलम छुट्यो

र, तारानाथ शर्माको कलम छुट्यो

काठमाडौं: ‘नेपालदेखि अमेरीकासम्म’ उपन्यास पढेँ २०६८ सालमा। साइँली दिदी प्रतिज्ञाको जोडबलले। मैले उसलाई त्यतिबेला भनेकी थिएँ, ‘उपन्यास त पढ्दिन यार म।’

दिदीले भनिन् ‘एक पटक त पढ् न। तैँले पढिनस् भने पछुताउँछेस्।’

दिदीले नै त्यसो भनेपछि 'नेपालदेखि अमेरीकासम्म' उपन्यास दुई दिनमै सकेँ। ‘काल्पनिक हुन्छ भन्थिस् नि उपन्यास थाहा पाइस् हाम्रै समाजका कतिपय सिधै भन्न नसकिने कुरालाई उपन्यास मार्फत कसरी भन्न सकिन्छ?’ दिदीले मलाई सम्झाइन्। 

मलाई भने उपन्यासका पात्रले कहिले त्रिभुवन विश्वविद्यालयसम्म पुर्याउँथे कहिले भने देख्दै नदेखेको अमेरिका। उपन्यास मलाई मन पर्यो त्यतिबेला। साच्चै भन्दा साहित्यिक पुस्तकप्रतिको रुचि शर्माको पुस्तकले बढाएको हो मेरो।

उपन्यासका पात्रहरु समाजका जीवन्त पात्र हुन् भन्नेमा ‘कन्भिन्स’भएँ। भलै उपन्यासका नाममा कुण्ठा लेख्ने जमात पनि सानो छैन। शर्माले साहित्यमा कुण्ठा कमै लेखे भन्ने मलाई त्यतिबेला लाग्यो। एउटै किताब पढेर उनको फ्यान भए म। त्यसपछि शर्माका नियात्राले मन तानिरहेँ।
०००
२०७५ मंसिर तेस्रो हप्ता।

शुक्रबार साप्ताहिकले विवाह विशेष अंक निकाल्ने भयो। शर्माको विवाहबारे अन्तरंग कुराकानी गर्ने जिम्मा आइलाग्यो। म फुरुङ भएँ। ७ वर्ष अघि पढेको पुस्तक सम्झिएँ। 

शर्माको घरमा फोनगर्दा उहाँकी श्रीमती शान्ता शर्माले फोन उठाएर भोलिपल्टै आउने निम्तो दिनुभयो। म र फोटोपत्रकार कृष्पा श्रेष्ठ उहाँको घर चावहिल पुग्यौँ। शर्मा आराम गरिरहनुभएको थियो। हामी आउनेबित्तिक्कै खुसी हुँदै बैठक कक्षमा आउनुभयो। 

बैठक कक्षमा शर्माका र अन्य साहित्यकारका समेत फोटा मिलाएर सजाइएको थियो। सजाइएका फोटामध्ये समूहको फोटो देखाउँदै शर्माले मतिर हेर्दै भन्नुभयो, ‘नानीले ऊ त्यो ग्रुपमा भएको फोटो को-को हुन् भन अनि कुरा गरौँला।’

त्यहाँ करिब ५१ जना साहित्यकारका फोटा थिए। त्यो फोटो पत्रकार सूर्य सुवेदीले सृजना र दृष्टीकोण नामक अन्तर्वाताको सङ्ग्रहको लेख्दा बेलाको रहेछ। प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा खिचिएको फोटोका केही साहित्यकारको नाम लिएपछि अड्किए। शर्मा आफैं आएर नाम भन्न थाल्नु भयो। 

शर्मा आफ्ना पहिलेका फोटो हेर्दै नोस्टलजिक हुन्थेँ। कुनबेला कसरी फोटो खिचेको अर्थ्याउँथेँ। 

त्यस दिन शर्मासँग झण्डै २ घण्टा कुराकानी गरियो। विवाह विशेष अंक भएकाले शर्माले ख्यालठट्टा धेरै गर्नुभयो। केही बिर्सिए उहाँकी श्रीमतीको मुखतिर पुलुक्क हेर्नुहुन्थ्यो। श्रीमती शान्ता शर्माले पहिलेका कुरा सम्झाइदिनुहुन्थ्यो। पाठ्यपुस्तक र साहित्यका गरी २ सय पुस्तक लेखिसक्नुभएका शर्मालाई बुढ्यौलीले छपक्कै छोपेको थियो। उहाँ कुनै थप कृति लेखिरहनुभएको थिएन। कहिलेकाही मनको संतुष्टीको लागि लेख्ने गरेको उहाँले खुलाउनुभएको थियो।

घुँडामा स्टील राखिएकाले शर्मा हिँडडुल गर्न सक्नुहुन्नथ्यो त्यो बेला। श्रीमती शान्ता उहाँलाई छाडेर कतै ननिस्कने।

ट्याब्लोइड पत्रिका भएकाले प्रश्न पनि पत्रिकाकै प्रकृतिअनुसार थियो। एउटा प्रश्न शर्मालाई सोधेँ 'महिला के हुन् जस्तो लाग्छ तपाईंलाई ?'

‘महिला भन्ने बित्तिकै मेरी आमा हुन् भन्ने बुझ्छु। महिला भनेका कुनै पनि स्वार्थ नभएकाहरु हुन्। खाली परिवारको अनि श्रीमान्को स्वार्थ ठूलो मान्छन्,’ शर्माले यसो भनेपछि मैले शर्माका नेपालदेखि अमेरीकासम्मका महिला पात्र सम्झिएँ।

त्यो अन्तर्वार्तामा केही साहित्यका प्रश्न शर्मालाई सोध्दा छोटा उत्तर दिनुभएको थियो। 

तपाईं काठमाडौंमा लेखक भनेर नदरिएपछि मविवि शाहको कविता सङ्ग्रहको समालोचना लेख्नुभएको भन्ने भनाइ पनि छ हो ?

'त्यस्तो होइन। म शुद्ध नेपाली लेख्नुपर्छ भन्ने पक्षधरको मान्छे हुँ। पहिले पहिलेको कृतिमा हिन्दी शब्दहरु हुन्थे। मलाई भने शुद्ध नेपाली लेख्नुपर्छ भन्ने लाग्ने। त्यही भएर समालोचना गरेको हुँ' उत्तर आयो।

अनि जेल पनि पर्नुभयो है?

परियो। भैगो यसमा के–के भयो अहिले कुरा नगरौँ तर कुरा के हो भने राजाले लेखेको पनि विरोध गर्नु भनेको प्रजातन्त्रको अभ्यास थियो भन्ने बुझ्नुपर्छ। 

हाम्रो प्रश्न उत्तर चल्दै गयो। रमाइलो भइरहेको थियो माहोल। मलाई जसले फिक्सन पठनमा तान्यो उहीसँग प्रश्नोत्तर गर्नु रमाइलो लागिरहेको थियो।

तपाईंले धेरै विधामा कलम चलाउनुभयो। लेख्न भने कुन विधा रमाइलो?

मलाई नियात्रा मनपर्छ। नियात्रा लेख्दा त्यो ठाउँको वर्णन, त्यहाँको रहनसहन अनि आफूलाई लागेका कुरा लेख्न पाइन्छ। 

OOO

कुराकानीपछि फोटो खिच्नेबेला रोमान्टिक मुडमा प्रस्तुत हुनुभएको थियो शर्मा। फोटो खिचसकेपछि फोटो पत्रकार श्रेष्ठले शर्मालाई सोधिन् 'हजुरहरु कहिल्यै झगडा गर्नु भएन?'

शर्मा बोल्नुअगावै श्रीमती शान्ता शर्माले भन्नुभयो, 'जति बेलै किताबमा ध्यान हुन्थ्यो। कतिबेला रिसाउनु ? झगडा गर्नु ?’ त्यसपछि शर्माले मुस्कुराउँदै भन्नुभयो, ‘हामी त झगडा कहिल्यै गरेनौँ।’

हिँड्ने बेला शर्माले सानो नोटबुक निकाल्नुभयो। खल्तीतिर छाम्दा कलम नभेटेपछि कलम कता गएछ भनेर खोज्न थाल्नुभयो। मैले म सँग भएको कलम दिएँ। शर्माले मैले दिएको कलम लिनुभएन। हाफज्याकेटको खल्तीमा परेछ कलम। केहीबेर पछि कालो कलम निकाल्दै शर्माले भन्नुभयो, ‘तारानाथ शर्मासँग कलम हुँदैन त ?’ शर्माको बानी को- कोसँग भेट भयो सानो डायरीमा टिपेर राख्ने रहेछ। उहाँले हाम्रो नाम दोहोर्याएर सोध्दै डायरीमा टिप्नुभयो।

००
२०७५ फागुन ११ गते

शर्माको  अत्यन्तै घनिष्ठ मित्र भाषाविद् बालकृष्ण पोखरलेको निधन भयो। शर्मालाई भेट्न उहाँको निवास पुगेँ। बालकृष्ण पोखरेलको कुरा गर्नेबितिक्कै गहभरि आँसु बनाउँदै शर्माले भन्नुभएको थियो ‘अब मेरो साथी मलाई भेट्न आउँदैन।’

यति भनेर आँसु बगाउनुभएको शर्मा धेरै बेर केही बोल्न सक्नुभएन। श्रीमती शान्ताले भनिन्, ‘म भान्सामा काम गरिरहेकी थिएँ। फोन आएछ बालकृष्ण बित्नु भएको। सिधै उहाँले नै सुन्नु पर्यो त्यसपछि उहाँका आँखा ओभाना छैनन्।’

शर्माले सम्झिनुभयो साथीलाई। र भन्नुभयो ‘बालकृष्ण जहाँ भएपनि मेरो मिल्ने साथी हो।’

र शर्मा २०७८ फागुन ३ गते आफ्नो साथीलाई भेट्न महाप्रस्थानमा लिन हुनुभयो।

४ फागुन, २०७८, ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।