बिरामी जाँचिरहँदा सेना र माओवादीको भिडन्त भयो, हेल्थ क्याम्प रणभूमि बन्यो

बिरामी जाँचिरहँदा सेना र माओवादीको भिडन्त भयो, हेल्थ क्याम्प रणभूमि बन्यो

डा. अनन्तभक्त उप्रेती सन् १९९४ मा एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थिए। त्यहाँ उनी राजशाही युनिभर्सिटिको रङ्गपुर मेडिकल कलेजमा भर्ना भए। 

त्यो बेला बङ्गालदेशमा राजनीतिक कलह यति थियो कि मेडिकलको पढाइमा पनि प्रत्यक्ष नै असर गर्थ्यो। 

अनन्त बङ्गलादेश पुगेको दुई वर्ष मात्र भएको थियो। र एकदिन राजनीतिक कलहले उग्र रूप लियो। अनन्तको कलेजमा अस्पताल र होस्टल पाँच सय मिटरको दूरीमा थियो। 

एमबीबीएसको कक्षा सकेर होस्टलमा फर्कने क्रममा अनन्तका एक साथीले उनलाई आफ्नो ब्लकमा जाऔँ भने। होस्टलमा दुई ब्लक थियो-‘मुक्ता’ र ‘पिन्नु’।

उनीहरूको होस्टलमा गोली चलेको थियो। युद्धभुमि जस्तै भएको थियो। जताततै कालो धुवाँ र रातो रगत मात्रै।

साथी मुक्तामा बस्थे, अनन्त पिन्नुमा। ती साथीको रूममेट मलेसियन थिए। र उनीसँग क्यासेट प्लेयर थियो। गीत सुन्न पाइने भनेपछि अनन्त अर्थोक केही नसोची मुक्तातिर लागेका थिए। 

साथीको त्यो प्रस्ताव नमानेको भए सायदै यतिबेला अनन्त बाँचेका हुन्थे। किनकी उनीहरू होस्टल पुगेको करिब आधा घण्टामै बाहिर भीड जम्मा भयो। तोडफोड सुरु भयो। आगजनी र हिंसात्मक कारबाही सुरु भयो। 

एउटा राजनीतिक दलको भातृसंगठनमा आवद्ध ‘तन्ना भाइ’ भन्ने व्यक्ति मेडिकल कलेजमा राजनीतिक गरेर बसेका विद्यार्थी थिए। ती 'डन' नै थिए। तन्ना भाइले धेरैलाई तर्साएका थिए।

बाहिर ठूलो संख्यामा होस्टल छिरेका मानिसको भीडले पन्ना भाइमाथि आक्रमण गरे। उनीहरूले होस्टलको भौतिक संरचना तोडफोड गर्न लागे। एक प्रकारको आतंक नै मच्चाए। 

बाहिरको दृश्य देखेपछि अनन्तलाई आफ्नो होस्टलमा ल्याउने साथी एउटा कुनामा लुक्न गए। बाहिरको भीड अब मुक्ता होस्टलतिर आयो। सिसा, झ्याल ढोका फुटाउँदै उनीहरू बसेको कोठामै आइपुग्यो। 

त्यो कोठामा अनन्तसहित करिब १५ जना लुकेका थिए।

बाहिरबाट 'ढोका खोल' भन्ने आवाज आयो। आत्तिएका उनीहरूमध्ये एकले डराउँदै भने– 'हामी नेपाली हौं, नेपाली।' 

फेरि बाहिरबाट आवाज आयो, बंगालीमा- 'म पनि विराटनगर बसेको हो, ढोका खोल।' 

उनीहरूसँग अरू उपाय थिएन। ढोका खोले। बाहिर हेर्दा त भाला, खुँडा, लट्ठी लिएर आएका मानिसहरू थिए। उनीहरू हात उठाउँदै आत्मसमर्पण गरेको भावमा बाहिर निस्किए। 

तर विराटनगर बसेका भनेका ती व्यक्तिले हमला गर्नुसाटो सुरक्षित रूपमा क्वाटरमा लगेर राखिदिए। 

विध्वंश अलि मत्थर भएपछि खाली खुट्टा सिसामाथि टेकेर हिँडेको डा. अनन्त अझै विश्वास गर्दैनन्। उनीहरूको होस्टलमा गोली चलेको थियो। युद्धभुमि जस्तै भएको थियो। जताततै कालो धुवाँ र रातो रगत मात्रै।

पिन्नु होस्टलमा अनन्त चौथो तल्लामा बस्ने गरेका थिए। पछि बुझ्दा त उनी बस्ने कोठा नै जलेर ध्वस्त भएको रहेछ। त्यसैले अनन्त त मरिसक्यो भन्ने हल्ला चलिसकेको रहेछ। 

त्यो भीडले उनको एक बङ्गाली साथीलाई चौथो तल्लाबाटै खसालिदिएका पनि रहेछन्। ती साथी लामो समय कोमामा थिए। धन्न बाँच्न चाहिँ बाँचे। 

अर्को साथीको त हात नै काटेर आगोमा हालिदिएछन्। हात काटिएपछि पनि ती साथी एमबीबीएस कक्षामा आएको उनले सुनाए।

‘हामी झण्डै मरेका थियौँ, लक्किली बाँचियो’, डा.अनन्तभक्तले भने। तर त्यो आक्रमणमा तन्ना भाइ चाहिँ बँचेको उनले सुनाए। त्यो विध्वंशपछि अस्पताल–क्याम्पस र होस्टलमा कर्फ्यु नै लागेको उनले सुनाए। 

त्यो आक्रमणका कारण आठ महिना त क्याम्पस नै बन्द भयो। अनन्त पनि नेपाल आए।

जब आठ महिनापछि क्याम्पस खुल्यो र अनन्त कक्षामा फर्किए, उनलाई हरबखत डर हुन्थ्यो कतैबाट आक्रमण पो हुने होकी भनेर। 

फर्केपछि पनि उनी बस्ने कोठा चाहिँ त्यही जलेको चौथो तल्लाकै थियो।

त्यो घटनाले कतिसम्म असर गर्यो भने अनन्त जतिबेला पनि भाग्नुपर्छ भनेर २४सै घण्टा खल्तीमा पासपोर्ट बोकिरहन्थे। उनले भने, ‘कम्तिमा एक/डेढ वर्षसम्म पैसा र पासपोर्ट खल्तीमा राखेर हिँडिन्थ्यो।’

इन्टर्नशीप गर्दा दरबार हत्याकाण्डपछिको डर
सन् २००० मा एमबीबीएस अध्ययन पूरा गरेर अनन्त नेपाल फर्किए। उनले स्वास्थ्य मन्त्रालयले खटाएको नेपालगञ्ज पुगेर इन्टर्नशीप सुरु गरे।

नेपालगञ्ज पुगेको चार महिनामा काठमाडौंमा दरबार हत्याकाण्ड भयो। बङ्गलादेशमा तर्सिएका उनी दरबार हत्याकाण्ड भएपछि सुरक्षाको दृष्टिले नेपालगञ्ज बस्न उचित ठानेनन्। 

त्यसपछि काठमाडौं फर्किएर वीर अस्पतालमा इन्टर्नशीप गरे। करिब १५ महिनामा इन्टर्नशीप सकियो। 

त्यसपछि उनलाई नेपालमै बस्छु, गाउँ जान्छु, सेवा गर्छु भन्ने सोच आयो।

'बमले बालबालिकाको शव क्षतविक्षत हुन्थ्यो। आन्द्रा भुँडी निस्किएको हुन्थ्यो। शव ल्याएर पोष्टमोर्टम गर्नुपर्थ्यो', उनले भने।

इन्टर्नशीप सकेको दश महिना काठमाडौंको गंगालाल अस्पतालमा काम गरे। त्यही बीचमा लोकसेवा आयोगले स्थायी चिकित्सकको दरबन्दी खुलायो। अनन्तले पनि परीक्षा दिए। परीक्षामा १/२ नम्बरमै नाम निस्कियो।

जन्मकुण्डली माओवादीले लगिसके भनेपछि...
२०५९ कात्तिकमा मेडिकल अधिकृत चिकित्सकका रूपमा डा. अनन्त सरकारी स्थायी जागिरे भए। माओवादी विद्रोह चरम उत्कर्षमा थियो। देशभर आतंक थियो। 

२०५९ पुसमा अनन्त सरकारले खटाएको जुम्ला पुगे। माओवादीले उनी पुग्नु दुई महिनाअघि कात्तिकमा जुम्लामा आक्रमण गरेको थियो। आक्रमणमा त्यहाँका सीडीओको समेत मृत्यु भएको थियो। 

जुम्ला पुग्नासाथ एक स्थानीयले माओवादीप्रति संकेत गर्दै अनन्तलाई सुनाए–'डाक्टरसाब तपाईंको इतिहास–कुण्डली सबै पुगिसक्यो।' 

बङ्गलादेशमै तर्सिएका उनलाई स्थानीयको त्यो भनाइले नराम्ररी झस्क्यायो। 

डा. अनन्त दुई महिनासम्म त सीडीओको उर्दीमा भिडन्तमा परेर मृत्यु भएकाको शव खोजीमा लागे। भिडन्तमा परेका शव फेला पार्यो, अस्पताल ल्यायो, पोष्ट मोर्टम गर्यो।

यसैगरी दिन बित्थ्यो। यत्र तत्र छरिएका सकेट बम बालबालिकाले चलाउँदा पड्केर मृत्यु भएको शव अस्पतालमा पुर्याइँदा उनको मन विछप्त हुन्थ्यो। 

'बमले बालबालिकाको शव क्षतविक्षत हुन्थ्यो। आन्द्रा भुँडी निस्किएको हुन्थ्यो। शव ल्याएर पोष्टमोर्टम गर्नुपर्थ्यो', उनले भने।

त्यो बेला जुम्लामा उनलाई काम गर्न निकै कठिन थियो। सेनाले शंकास्पद व्यक्ति देखिए खबर गर्नु भन्थे। कहिले माओवादीले सुराकी नगर्नुस् भन्थे। तर पनि सेना, प्रहरी र माओवादी दुवै पक्षको उपचार गर्नु उनको चिकित्सकीय धर्म थियो।  

कहिलेकाहिँ उनी सेनासँग बसेर गफ गर्थे। अनि सेनाका मान्छे भन्थे– 'दोहोरो भिडन्त भयो भने त यहाँका स्वास्थ्यकर्मी लगायत सरकारी कर्मचारी पनि जोखिममा पर्न सक्छन्। सेनाको ब्यारेक र अस्पताल वल्लो र पल्लो डाँडामा छन्।' 

सरकारी र तत्कालीन विद्रोहीको चेपुवामा पर्थे स्वास्थ्यकर्मी। माओवादीको जनकारबाहीमा कतिखेर कहाँ परिन्छ भन्ने डर थियो।

जिल्लाबाहिर निस्कन सीडीओको अनुमति लिनुपर्थ्यो। एकपटक त घर फर्कनका लागि हवाईजहाजमा चढेका अनन्त सीडीओकै अनुरोधमा जहाजबाट झरेर अस्पताल फर्के। 

भित्ताभरि गोली लागेको प्वाल हेर्दै सुत्दै
क्वाटरको भित्तामा गोली लागेका प्वालै प्वाल देखिन्थे। रात परेपछि जहिल्यै डर हुन्थ्यो। 

बेलुका ती गोली लागेका भित्ता हेर्दै सुत्थे उनी। कुन बेला आफैं पल्टिएको खाटमा गोली आइपुग्ने हो भन्ने ठेगान थिएन। घरिघरि उनलाई लाग्थ्यो– कुन दशाले जुम्ला आइपुगिएछ।

एकदिन अनन्त र उनका सहकर्मी डा. रमेश खरेल क्वाटरमा सुतिरहेका थिए। भोलिपल्ट नेपालगञ्ज जाने कार्यक्रम थियो। र त्यहाँबाट काठमाडौं फर्कने। 

त्यो भिडन्तपछि त यस्तो परिस्थिति भयो कि ५/१० मिनेट अनन्त हराए भने पनि अपहरणमा पो परेकी भनेर खैलाबैला चल्थ्यो। त्यो घटनापछि जुम्लामा बसुञ्जेल उनी गाउँ परिवर्तन गर्दै सुत्थे। क्वाटरमा बस्नै छाडेका थिए। 

त्यस दिन राति क्वाटर छेउमा बम पड्किएको ठूलो आवाज आयो। उनीहरू खाटमुनि लुके। भोलिपल्ट उज्यालो भएपछि हेर्दा त एयरपोर्ट नै बमले उडाएछ। न उनी नेपालगञ्ज आएन पाए, न काठमाडौं। 

जब बिरामी जाँचिरहेको बेला भिडन्त भयो
त्रासकै बीच डा. अनन्त जुम्लामा काम गरिरहेका थिए। एक पटक सेना (गुल्मपति मेजर) ले उनलाई हेल्थक्याम्प गर्न जुम्लाको रारालिही भन्ने ठाउँमा जान अनुरोध गरे।  यो जुम्ला र कालिकोटको सिमाना हो। 

सेना पनि त्यहाँ जाने योजनामा थियो। उनीहरूले अनन्तलाई भनेका थिए– 'हामी अर्कै बाटो आउँछौं। तपाईंहरू हिँड्दै गर्नुहोस्।' 

सेनाको अनुरोधबमोजिम स्वास्थ्यकर्मीको नेतृत्त्व गर्दै डा. अनन्तको टीम जुम्लाको रारालिहीतर्फ लाग्यो। करिब ६ घण्टाको पैदल यात्रापछि दिउँसो १ बजे उनीहरू रारालिही पुगे। अघिल्लै दिन हिँडेको सेना, प्रहरीको टोली पनि सिँजा हुँदै त्यहाँ पुग्यो। 

त्यहाँ पुगेर अनन्तले चारैतिर हेरे। वरिपरि अग्ला डाँडा आफू खाल्टोमा। सोचे,–भिडन्त भयो भने त बाँचिदैन होला।

पहिलो जीवन धर्तीमा पाइला टेक्नु। बङ्गलादेशमा बाँच्नु दोस्रो जीवन। र जुम्लाबाट बँचेर आउनु तेस्रो जीवन। 

अनि हेल्थ क्याम्प सुरु भयो। २०/२५ जना बिरामी जाँचिसकेका थिए अनन्तले। त्यही बेला माओवादी लडाकु पनि क्याम्पनजिकै देखिए। हेर्दाहेर्दै सेनाले त फायर खोलिहाल्यो। दोहोरो भिडन्त चल्यो। माओवादी पक्षका ५/७ जना ढलिहाले। हेल्थ क्याम्प त रणभूमि बन्यो। 

त्यसपछि त कतिखेर मरिने हो भनेर होस नै उड्यो उनको।

दूरबिनले हेर्दै सेना–प्रहरीबीच कुरा हुँदै थियो– 'हामीलाई त माओवादीले घेरिसक्यो।' 

अनन्तले सुने। अनि बच्ने उपाय लगाए। करिब एक घण्टापछि भिडन्त मत्थर भएको बेला उनले सेनाका मेजरलाई अनुरोध गरे– 'अब हामी तपाईंहरूसँग बस्दैनौं। तपाईंहरूसँग बस्यौं भने मरिहाल्छौं। बरू मरे पनि आफ्नै हिसाबले मर्छौं।' 

सेनाले पनि स्वास्थ्यकर्मीको टीमलाई जान अनुमति दिए। त्यसपछि अनन्त र उनको टीम यति चाँडो हिँड्यो कि, हिँडेको हो वा दौडेको पत्तो भएन। ज्यान बचाएर उनीहरू राति अस्पतालको क्वाटर पुगे।

त्यो भिडन्तपछि त यस्तो परिस्थिति भयो कि ५/१० मिनेट अनन्त हराए भने पनि अपहरणमा पो परेकी भनेर खैलाबैला चल्थ्यो। त्यो घटनापछि जुम्लामा बसुञ्जेल उनी गाउँ परिवर्तन गर्दै सुत्थे। क्वाटरमा बस्नै छाडेका थिए। 

यो घटनाले अनन्त मनोवैज्ञानिक रूपमा आतङ्कित हुन थाले। उनलाई जिल्लामा नबस्न सहकर्मीहरूले अनुरोध गर्न थाले। 

बुवा बिरामी भएको भन्दै जुम्लाबाट निस्के
उनकै एक सहकर्मीले जुम्लाबाट सजिलै अनन्त बाहिर जान सक्ने योजना बनाइन्।

उनले अनन्तलाई घरमा कोही गम्भीर बिरामी भएको समाचार सीडीओ कार्यालयमा पठाउनु त्यसपछि मात्रै घर जान सक्नुहुन्छ भनिन्। अनन्तले यही जुक्ति अपनाए।

घरमा बुवा सिकिस्त बिरामी भएको भन्दै सीडीओ कार्यालयमा फोन गर्न लगाए। 

सीडीओ कार्यालयले अनन्तलाई बोलायो। र भन्यो– 'तपाईंका बुवा बिरामी हुनुभएछ, घर जानुहोस् डाक्टरसाब।' 

अनन्तले ढुक्क हुँदै लामो सास फेरे। सेना, प्रहरीले पनि बिदा दिए। अनि मनमनै सोचे, 'अब चाहिँ बाँचिने भइयो।'

२०६१ मा १८ महिने जुम्ला बसाइँबाट बिदा लिँदै उनी काठमाडौं आइपुगे। काठमाडौं आएपछि हिसाब गरे– तेस्रो जीवन पाएँ। 

पहिलो जीवन धर्तीमा पाइला टेक्नु। बङ्गलादेशमा बाँच्नु दोस्रो जीवन। र जुम्लाबाट बँचेर आउनु तेस्रो जीवन। 

जुम्लाको घटनाले त अहिले पनि अनन्तलाई झस्काइरहन्छ।

जागिर छाड्ने मनस्थिति भएपछि...
काठमाडौं आएपछि त उनले सरकारी जागिर नै छोड्ने मनस्थिति बनाएका थिए। तर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भइपछि जागिर छोडेनन्। 

जुम्लाबाट फर्कनेबित्तिकै एमडी अध्ययन गर्न पाउने भए पनि उनलाई पढ्न मन लागेन। उनको मनमा भिडन्तको झस्का गढेको थियो। डरैडरले विछिप्त थिए।

तर विस्तारै भिडन्तका दृष्यहरू उनले भुल्दै गए। 

सन् २००७ मा अनन्तले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा छात्रवृतिमा एमडी अध्ययन गर्न थाले। सन् २०१० मा अध्ययन पूरा गरे।  

त्यसपछि उनी इन्टरनिष्ट (फिजिसियन विशेषज्ञ)का रूपमा काम गर्न थाले। एमडी अध्ययनकै क्रममा उनको मागी विवाह भयो। 

एमडी पढ्दापढ्दै सिराहको मिर्चैया जिल्ला अस्पतालमा उनको सरुवा भयो। त्यसपछि भक्तपुरको भक्तपुर अस्पतालमा आए। तर, वीर अस्पतालमा काजमा काम गरे। 

अनन्त गीत-सङ्गीतका पारखी हुन्। त्यसैले फुर्सदमा गीत गाउन छोड्दैनन् उनी। छिट्टै आफ्नै गीत रेकर्ड पनि गर्दैछन् उनी।

फेरि नवौं तहमा बढुवा भएपछि उनले भक्तपुर अस्पतालमा नै पुगेर करिब एक वर्ष काम गरे। समायोजनपछि वीर अस्पतालमा नै काम गर्न थाले। 

उनी बढुवा हुँदै अहिले दशौं तहको वरिष्ठ कन्सल्ट्याण्ट फिजिसियन चिकित्सकका रूपमा वीर अस्पतालमा कार्यरत छन्। एमडीपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट क्लिनिकल ट्युटर(लेक्चरर)को दर्जा पाए। 

तीन वर्ष यता सह–प्राध्यापकको भूमिकामा समेत कार्यरत छन् उनी। अनि दैनिक बिरामीको चेक जाँच तथा उपचार गर्नु उनको कर्तव्य नै हो। 

चितवनमा बाल्यकाल र रंगपुरमा एमबीबीएस
डा. अनन्त २०३० सालमा चितवनको खैरहनीस्थित पर्सामा जन्मिएका हुन्। बुवा सरकारी जागिरे भएकाले उनी हजुरबुवासँगै बसे। गाउँकै सरकारी विद्ययालयबाट सात कक्षासम्म अध्ययन गरे।

त्यसपछि बुवाको जागिर काठमाडौंमा भयो। अनि सात कक्षापछि काठमाडौंको मीनभवनस्थित ईङ्लीस प्रिपेरेटोरी बोर्डिङ हाइस्कुल (ईपिएस)मा भर्ना भए। 

तर पढाइ राम्रै हुँदाहुँदै पनि आठ कक्षामा भर्ना हुनुको सट्टा १/२ वटा प्रश्न सोधेको आधारमा शिक्षकले उनलाई ६ कक्षामा भर्ना गरिदिए। 

अनन्तले ईपिएसबाटै २०४५ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि अमृत साइन्स क्याम्पसमा भर्ना भएर आइएस्सी पढे। २०४७ सालमा आइएस्सी पूरा गरे। 

उनको डाक्टर पढ्ने सपना थियो। त्रिचन्द्रमा बीएस्सी भर्ना भए। यता एमबीबीएस अध्ययनका लागि छनोट परीक्षाको तयारी पनि गरे। 

यही बेला शिक्षा मन्त्रालयमार्फत बङ्गलादेशमा चिकित्सा अध्ययनका लागि ८ वटा कोटा आयो। अनन्तले पनि छनोट परीक्षा दिए। पूर्ण छात्रवृतिमा अध्ययन गर्न छनोट भए। 

सन् १९९४ मा एमबीबीएस अध्ययन थालेका उनले सन् २००० मा अध्ययन पूरा गरेर नेपाल फर्किए। 

अनन्त गीत-सङ्गीतका पारखी हुन्। त्यसैले फुर्सदमा गीत गाउन छोड्दैनन् उनी। छिट्टै आफ्नै गीत रेकर्ड पनि गर्दैछन् उनी।

२९ माघ, २०७८, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।