उकेरा मन्थन

नेपाली कांग्रेस, आसन्न निर्वाचन र गठबन्धनको चर्चा


स्थानीय तह निर्वाचनको घोषणासँगै नेपाली राजनीति तरङ्गित बन्न पुगेको छ। स्थानीयलगत्तै आम चुनावको चटारो सुरु हुने भएकोले अबको डेढ वर्ष नेपाल निर्वाचनमय बन्नेछ। यही बीचमा अबको पाँच वर्षको नेपाली राजनीति कुन दिशातर्फ जान्छ भन्ने कुराको तय पनि हुनेछ।

२००७ सालको राजनीतिक परिवर्तनपछि कुनै न कुनै रूपमा नेपाली कांग्रेस नेपाली राजनीतिको मुलधार बन्न पुगेको तथ्य कसैका सामु छिपेको छैन। २०१७ सालदेखि २०४६ सालसम्मको राजाको प्रत्यक्ष शासनकालमा पनि नेपाली राजनीतिको केन्द्र नेपाली कांग्रेस नै थियो। किनभने तत्कालीन शासकले नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई जेलमा कोचेर ‘सबै नेपाली पञ्च र सबै पञ्च नेपाली’ भन्ने नीतिलाई आफ्नो मुल मन्त्र बनाई नेपाली राजनीतिलाई दरबारको वरिपरि केन्द्रित गरेका थिए। 

नेपाली राजनीतिको मुल प्रवाहको रूपमा रहेको नेपाली कांग्रेसका साथ अन्य राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाएर देशको शासन व्यवस्था पञ्चायती राजको नाममा चलेको थियो।

कुनै पनि राजनीतिक विचारलाई प्रतिबन्ध लगाएर कति समयसम्म शासन व्यवस्था सञ्चालन गर्न सकिन्छ र? त्यसको विस्फोट एक न एक दिन हुनैपर्ने थियो जसको प्रतिफलस्वरूप २०४६ सालको जनआन्दोलनलाई दबाउन सक्ने स्थिति नरहेपछि तत्कालीन राजा वीरेन्द्र नेपालमा प्रजातन्त्रको पुनर्स्थापना गर्न बाध्य भएका थिए।

तत्कालीन पञ्चायतका पक्षपोषकहरूमध्येका एक कमल थापाको वर्तमान अवस्था र उनले आफ्नो पार्टीको महाधिवेशनमा पराजित भएपछि दिएको सार्वजनिक अभिव्यक्तिले तीस वर्षे पञ्चायती व्यवस्थामा कस्ता व्यक्तिहरूको हालिमुहाली थियो र दरबारले कस्ता राजनीतिक संस्कार र संस्कृतिले युक्त व्यक्तिलाई संरक्षण गरेको रहेछ भन्ने कुरा अझ उदाङ्गिएको छ।

संवैधानिक राजतन्त्रको पक्षधर नेपाली कांग्रेस दरबारको प्रमुख दुश्मन, गणतन्त्र र साम्यवादलाई आफ्नो लक्ष्य बनाएका वामपन्थीहरूलाई मित्रशक्तिको रूपमा लिएको दरबारलाई अवसर आउँदा वामपन्थीले कसरी धोका दिए भन्ने कुरा पनि छर्लङ्ग भइसकेको छ। दरबार आफैंले हुर्काए–बढाएका कमल थापा जस्ताले पनि अवसर आउँदा कसरी धोखा दिँदारहेछन् भन्ने पनि अहिले आएर कमल थापाको अभिव्यक्तिबाट छर्लङ्ग भएको हुनुपर्छ।

लामो समयसम्म दरबारसँग हिचमिच हुँदै हुर्किएका वामपन्थीहरूले नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्त्वलाई दरबार विरोधी नबनाई आफ्नो स्वार्थ पूरा हुन सक्दैन भन्ने कुरा बुझेका थिए। त्यसैले २०४६ सालको जनआन्दोलनमा आफूहरू पनि सङ्लग्न हुने धारणा व्यक्त गरे।

२०४६ सालको जनआन्दोलन सफल भइसकेपछिको निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो जसको फलस्वरूप नेपाली कांग्रेसको नेतृत्त्वमा सरकार बन्यो। नेपाली कांग्रेसभित्र बिग्रह नल्याई आफ्नो अभिष्ट सिद्ध हुन नसक्ने देखेका वामपन्थी र दरबारिया शक्ति त्यसको अवसरको खोजीमा थिए।

पार्टीभित्र आएको विग्रहका कारण नेपाली कांग्रेस मध्यावधि निर्वाचनमा जान बाध्य भयो र आफ्नो छँदाखाँदाको बहुमतको सरकारलाई विघटन गरी भएको मध्यावधि निर्वाचनमा कांग्रेस प्रतिपक्षीको भूमिकामा जाने स्थिति आयो। त्यसपछि देश अस्थिरताको भूमरीमा यसरी पर्‍यो जसबाट अहिलेसम्म पनि बाहिर निस्कन सकेको छैन।

नेपाली कांग्रेसलाई जता चाह्यो त्यतै मोड्न सक्ने स्थितिमा रहेका तथा नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका र आफ्नो निर्णयलाई गराइछाड्ने गिरिजाप्रसाद कोइरालालाई कसरी आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने अवसरको खोजीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले तत्कालीन कांग्रेस सभापति कोइरालालाई बाह्रबुँदे हुँदै राष्ट्रपतिको सपना देखाए।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको सपनामा रमाउन थालेका कोइरालाले पार्टीभित्र कुनै छलफल र विचार–विमर्श नै नगराई गणतन्त्रमा जाने निर्णय गरे जसको परिणाम स्वरूप प्रचण्ड प्रवृत्ति नेपालका वामपन्थीहरू आफ्नो मिसनमा सफल भएका हुन्। 

नेपालको संविधान २०७२ ले अंगिकार गरेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका सम्बन्धमा नेपाली कांग्रेसले आफ्नो पार्टी पङ्क्तिभित्र अहिलेसम्म पनि छलफल गराएको छैन। राष्ट्रको संविधानले अङ्गिकार गरेका कुरालाई पार्टीभित्र बहसको विषय नबनाइनु एउटा प्रजातान्त्रिक पार्टीका लागि दुःखद पक्ष हो।

हुन त नेपालको संविधान २०७२ पहिलो पटक निर्वाचित संविधान सभाले बनाउन नसकेपछि दोस्रो पटक निर्वाचित नेपाली कांग्रेसकै नेतृत्त्वमा बनेको सरकारले निर्माण गरेको हो तथापि संविधानका मुलभूत विषयहरूका सम्बन्धमा न त जनसमुदायका बीच छलफल गराइयो न त संविधान सभाभित्र नै यसले प्रवेश पायो। अर्थात्, संविधान सभाभित्र यी विषयले प्रवेश पाएर व्यापक छलफल भएको पनि देखिएन।

संविधान निर्माण गर्ने सन्दर्भमा कतिपय विषयमा सुझाव सङ्कलन पनि नगरिएको होइन तर सुझावका लागि आएका विषयवस्तुहरूलाई संविधानमा समेट्ने प्रयास भने गरिएको देखिएन। जनचासोका विषय संविधान सभाको छलफलका विषय नबने पनि नेपाली जनताका बीच छलफलका विषय बनेका थिए र नेपाली जनताले सुझाव पनि पर्याप्त दिएका थिए तथापि जनताका ती सुझावको कुनै वास्ता संविधानसभाले गरेको देखिएन।

दुई/दुई पटक भएको संविधानसभा संविधान बनाउनेमा भन्दा सरकार बनाउने र गिराउने कार्यमा सक्रिय भएको देखियो, जुन कुरा अहिले पनि कसैको स्मरणबाट बाहिरिइसकेको छैन।

हालै सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा जनचासोका यी विषयहरूका सम्बन्धमा व्यापक छलफल हुन्छ भन्ने अपेक्षा नेपाली कांग्रेसका आमकार्यकर्ताको थियो तर कांग्रेस नेतृत्व आफ्ना कमी-कमजोरी छरपष्ट हुन्छन् भन्ने डरले गर्दा छलफल गराउने पक्षमा देखिएन।

एउटा प्रजातान्त्रिक पार्टीभित्र पार्टीले अङ्गिकार गरेको नीति र कार्यक्रमका सम्बन्धमा छलफलसम्म हुन नसक्नु अत्यन्त दुःखद् पक्ष हो। यस्तै राष्ट्रले अङ्गिकार गरेको संघीयता, गणतन्त्र र नेपालको संविधानमा लादिएको धर्मनिरपेक्षताका सम्बन्धमा पनि पार्टीभित्र नेपाली कांग्रेस नेतृत्त्वले छलफल गराउने आवश्यकता नै ठानेन।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका सम्बन्धमा पार्टीभित्र बहस चलाइनुपर्छ र आमकार्यकर्ताबीच बहसको विषय बनाइनुपर्छ भन्ने आमधारणा त्यतिबेलासम्म रहिरहने छ जतिबेलासम्म पार्टी पङ्क्तिभित्र बहसका लागि यस विषयले प्रवेश पाउने छैन।

अब हुन गइरहेको निर्वाचनमा यी तीन विषयहरूमा पार्टी स्पष्ट भएर अगाडि बढ्नुपर्छ भन्ने आमजनधारणा रहेको छ।

नेपाली कांग्रेसको इतिहास हेर्दा प्रतिबन्धित अवस्थामा पनि आफ्नो आदर्श र सिद्धान्तलाई परिवर्तन गर्न खोजेन र खोज्ने प्रयत्न पनि गरेको देखिँदैन। सिद्धान्ततः नेपाली कांग्रेस आफ्नो नीति र आदर्शमा कहिल्यै विचलित भएन तर व्यवहारमा भने तत्कालीन नेतृत्वको अपरिपक्वताका कारण पटक–पटक चुकेको तथ्य कसैका सामु छिपेको छैन।

नेपाली कांग्रेसको आफ्नै सिद्धान्त र आदर्श छ। त्यही कारणले कांग्रेसप्रति आस्था राख्ने नेपाली जनताको कुनै कमी छैन तर नेतृत्त्वले देखाएको अपरिपक्वताका कारण समय–समयमा पार्टीलाई नेपाली जनताले नसिहत पनि नदिएका होइनन्। तर कांग्रेसको तत्कालीन नेतृत्त्वले आफ्नो कमजोरीका कारण यस्तो भएको भन्ने तत्थ्यलाई भने स्वीकार गर्न नसकेको देखिन्छ।

नेतृत्त्वले आफ्नो नैतिक दायित्त्व प्रदर्शन गर्न नसक्दा समय–समयमा नेपाली कांग्रेस नेपाली जनताको नजरबाट ओझेलमा परेको कुरालाई पनि बिर्सनुहुँदैन।

कुनै पनि राजनीतिक दलको आफ्नै नीति, सिद्धान्त र आदर्श हुन्छ र हुनु पनि पर्दछ। तिनै नीति, सिद्धान्त र आदर्शका आधारमा तयार गरेको निर्वाचन घोषणापत्रको आधारमा जनताले राजनीतिक पार्टीलाई चयन गर्ने विश्वव्यापी मान्यता हो। त्यो मान्यतालाई  तिलाञ्जली दिएर पार्टी नेतृत्त्वले विगतका निर्वाचनमा भिन्न राजनीतिक सिद्धान्त र आदर्श भएका राजनीतिक दलहरूका चुनाव चिह्नमा भोट खसाल्न पार्टी सभापतिले पार्टीका कार्यकर्ता र शुभेच्छुक संघ-संस्थाहरूलाई निर्देशन जारी गरे। त्यो निर्देशनलाई कतिले पालन गरे कतिले त्यसको विरुद्ध जनमत दिए त्यसको लेखा जोखा पार्टी पङ्क्तिमा अहिलेसम्म भएको छैन।

नेपाली कांग्रेसभित्र रहेको ठूलो कार्यकर्ता पङ्क्तिको चाहना पार्टी आफ्नै बलबुतामा तथा आफ्नो नीति र सिद्धान्तका आधारमा जनतासमक्ष गएर जनमत बटुल्ने पक्षमा रहेको छ तर सभापति देउवाको वरिपरि रहेको केही नेतृत्त्व पङ्क्ति ‘तिनीहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा गएर चुनाव जित्छु भन्ने विश्वास छैन’ त्यसैले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई पूरा गर्नका लागि सिङ्गो पार्टीलाई दाउमा राख्ने सम्भावना देखिएको छ।

हुन त पार्टीको महाधिवेशनमा यही विषयलाई आफ्नो उम्मेदवारीको एजेण्डा बनाएको युवा पङ्क्ति पनि पार्टी नेतृत्त्वमा पुगेको छ। त्यो पङ्क्तिले पार्टी नेतृत्त्वलाई कसरी सम्झाउन, बुझाउन तथा आफ्नो पक्षमा ल्याउन सक्छ त्यो भने हेर्न बाँकी नै छ।

आफ्नो नीति, सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि तथा कसैलाई तह लगाउने नामका अप्राकृतिक गठबन्धन भएको अवस्थामा कसैका लागि क्षणिक लाभ प्राप्त भए पनि समग्र पार्टी पङ्क्तिका लागि घातक सिद्ध हुनेछ।

वामपन्थीहरू संसदीय व्यवस्थाका पक्षधर होइनन्। उनीहरूको विचारमा ‘संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थल हो’। उनीहरूले यो व्यवस्थाको उपयोग गरेर हिजोको दिनमा दरबारलाई उपयोग गरेर त्यागे जस्तै कुनै दिन त्यागिदिने छन् र भन्ने छन्- हाम्रो चाहना नै संसदीय व्यवस्था होइन, यसलाई त उपयोग मात्र गरिएको हो। हाम्रो लक्ष्य त साम्यवाद नै हो भनिहाले भने पनि भोलिका दिनमा आश्चर्य मान्नुपर्ने छैन।

हिजो, आज र भोलिका दिनमा पनि नेपाली कांग्रेसको आदर्श भनेको संसदीय व्यवस्था हो। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नै हो। यसको संरक्षणका लागि केही समय सत्ता बाहिर बस्नु परे बसेर भए पनि यसको संरक्षणका लागि नेपाली कांग्रेस क्रियाशील हुनैपर्छ।

वामपन्थीहरूको उग्र राष्ट्रवाद र द्वेध चरित्रका कारण भोलिका दिनमा नेपाललाई अन्तर्राष्ट्रिय जगतले विश्वास गर्ने सबै आधारहरू नष्ट हुने खतरा बढेको वर्तमान परिप्रेक्ष्यमा मुलुकको प्रजातान्त्रिक आन्दोलनको धरोहरको रूपमा रहेको नेपाली कांग्रेसको अस्तित्वलाई बचाउन मुलुकका देशभक्त एवं प्रजातन्त्रवादी शक्तिहरू एक हुने अवस्था आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....