उकेरा मन्थन

वसन्तोत्सव तथा सरस्वती पूजा


माघ शुक्ल पञ्चमीको दिनलाई वसन्तपञ्चमी पनि भन्ने गरिन्छ। वैदिक सनातन धर्मावलम्बीहरूले यसै दिन माता सरस्वतीको पूजा तथा आराधना गर्ने गर्दछन्। वसन्तोत्सवको प्रारम्भ यसै दिनदेखि हुने भएकाले यसैदिन रति तथा कामदेवको पनि पूजा गर्ने प्रचलन रहेको छ। 

वैदिक सनातन धर्मावलम्बीहरूको महान् ग्रन्थ चतुर्वर्ग चिन्तामणिमा यो दिन हरिको पूजा गर्ने विधान रहेको कुराको उल्लेख गरिएको छ।

त्यहाँ भनिएको छ– माघे मासी सिते पक्षे पञ्चम्यां पूजयेद्धरिम्। अर्थात् माघ शुक्लपक्षको पञ्चमी तिथिमा हरिको पूजा गर्नुपर्दछ। भारतको उत्तरप्रदेशमा पर्ने मथुरामण्डल तथा व्रजभूमिमा वसन्तपञ्चमीको दिन हरि अर्थात् विष्णुका दश अवतारहरूमध्येको एक अवतारको रूपमा परिचित श्रीकृष्णको विशेष पूजा तथा आराधना गर्ने प्रचलन रहेको छ। पुराणहरूमा भगवान् श्रीकृष्ण र गोपिनीहरूका बीचको प्रेमलीलाको वर्णन विशेष किसिमले गरिएको पाइन्छ।

 हुन त मधु(चैत्र) र माधव(वैशाख) महिनालाई वसन्तऋतु मानिएको छ। मधु र माधव दुवै शब्द मधुबाट बनेका हुन्। मधुको अर्थ एक प्रकारको रस हो, जसले वृक्ष, लता तथा प्राणीहरूलाई मत्त बनाउँछ भनी निरुक्तकारले उल्लेख गरेका छन्। त्यस्तो किसिमको रस जुन ऋतुमा प्राप्त हुन्छ त्यो ऋतुलाई वसन्त ऋतु भनिन्छ। 

यो ऋतुमा पानी नपर्दा पनि वृक्ष, लता आदि फुल्न थाल्दछन्। प्राणीहरूमा मदन–विकारको प्रादुर्भाव हुन्छ। यही कारण क्षीरस्वामीले वसन्त शब्दको अर्थ ‘वसन्त्यस्मिन् सुखम्’ अर्थात् जसमा प्राणी सुखपूर्वक रहन्छन् भन्ने गरेका छन्। यसको तात्पर्य यो ऋतुमा जीवजन्तु मात्र होइन वृक्ष, लता आदिलाई पनि आल्हादित गर्ने मधुरस प्रकृतिद्वारा प्राप्त हुन्छ। हुन त वसन्त ऋतु आगमन मधुमास र माधवमासको आगमनलाई मानिएको छ, जुन कुराको उल्लेख यजुर्वेदमा पनि गरिएको छ–(मधुश्च माधवश्च वासन्तिकावृतू, यजुर्वेद, १३.२५ ) तथापि कुनै पनि ऋतुआउनुभन्दा चालीस दिन पहिले त्यो ऋतुको गर्भकाल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। 

त्यसैले त्यो ऋतु आगमनको चालीस दिन पहिले आउने वसन्तपञ्चमी तथा वसन्तोत्सवको रूपमा मनाउने गरिन्छ। यो दिन वसन्त ऋतुले गर्भबास गर्ने भएका हुनाले नै यो दिनलाई वसन्तोत्सवको रूपमा मनाउने गरिएको शास्त्रीय विश्वास ।

पछिल्लो समयमा माघ शुक्ल पञ्चमीका दिन विशेष गरेर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा तथा आराधना गर्ने गरिन्छ। विद्या तथा बुद्धिकी अधिष्ठात्री देवीको पूजा मन्दिर, घर, विद्यालय तथा विभिन्न स्थानमा गर्ने प्रचलन रहेको छ। यो पर्व नेपालमा मात्र नभएर विश्वमै जुनसुकै स्थानमा रहेका वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले मात्र होइन अन्य धर्मावलम्बीहरूले पनि मनाउने गर्दछन्।

हुन त वैदिक सनातन धर्ममा वर्षको एक दिन मात्र होइन प्रत्येक दिनको सुरुआत सरस्वतीको वन्दनाबाट गर्नका लागि प्रेरित गरिएको देखिन्छ। त्यसैले बिहान बिस्तराबाट उठ्ने बित्तिकै आफ्ना हातलाई प्रस्तुत मन्त्र पढ्दै हेर्ने विधान छ– 

कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।

करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम् ।।

प्रस्तुत मन्त्रको आशय यस्तो रहेको छ– हातको अग्रभागमा लक्ष्मी बसेकी हुन्छिन् भने हातको मध्यभागमा सरस्वती बसेकी हुन्छिन्। यस्तै हातको मूलभागमा ब्रह्माको निवास हुन्छ। यसकारण हामीले प्रत्येक बिहान करदर्शन गर्नुपर्दछ। वैदिक सनातन धर्मले कर्मलाई प्रधानता दिएको छ जस अनुसार ब्रह्माको सृजनशीलता, लक्ष्मीको सम्पन्नताका साथ हातको बीचभागमा बसेकी वाग्देवी सरस्वतीको वन्दना गरेर दिनको सुरुवात गर्नलाई प्रेरित गरिएको हो।

वसन्तऋतुमा  प्रकृति स्वभावतः प्रमुदित भएको जस्तो देखिन्छ। सबै वृक्षमा नयाँ पालुवा तथा फूलहरू लाग्न थाल्दछन्। वसन्तको आगमनसँग शीतको न्यूनता हुन्छ। यही समयलाई वेदाध्ययनको प्रारम्भका लागि उपयुक्त काल पनि मानिएको छ। यसैले ज्ञानको खानीको रूपमा रहेको ब्राह्मणको उपनयन संस्कार पनि यही समयमा गर्नका लागि निर्देश गरिएको छ – वसन्ते ब्राह्मणमुपनयीत। उपनयन भनेका विद्यार्जनका लागि विद्यार्थीलाई गुरुको समीपमा लैजानु हो।

त्यसैले धर्म सूत्रकार आपस्तम्बले भनेका छन्–उपनयनं नाम विद्यार्थस्य श्रुतित संस्कार अर्थात् उपनयन भनेको विद्यार्जनका लागि गरिने एक प्रकारको वैदिक संस्कार हो। यही कारणले पछिल्लो समयमा वसन्तपञ्चमीको दिन अक्षरारम्भ गर्ने गरिएको र विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा तथा आराधना गर्ने गरिएको हो। श्रीपञ्चमी तथा वसन्तपञ्चमीदेखि लिएर हरिशयनी एकादशीसम्म वसन्तराग गाउने प्रचलन पनि वैदिक सनातन परम्परामा रहिआएको देखिन्छ।

सारांशमा भन्दा काल या समयद्वारा जुन भिन्न–भिन्न परिणाम वर्षका विभिन्न परिणाम वर्षको विभिन्न विभागमा प्रतीत हुन्छन् ती सबै ऋतु नामक कालका अवयवका कारण हुन्छ। ती सबै परिणामले आ–आफ्नो रूप देखाएर वर्ष–वर्षमा पुनरावृत्ति गर्न थाल्दछन्।

जब सबै ऋतुहरू समाप्त हुन्छन् तब नयाँ संवत्सरको आरम्भ हुन्छ। कालको स्वरूपलाई यथार्थ रूपमा ऋतुहरूले प्रकट गर्दछन्। अतः भारत वर्षमा मनाइने विभिन्न व्रतोत्सवादिमा ऋतुहरूको प्रधानता रहेको देखिन्छ र यी ऋतुहरूमध्येमा वसन्तऋतुलाई नै प्रधानऋतु मानिएको हुनाले वसन्त ऋतुको आगमनभन्दा चालीस दिन अघिदेखि वसन्तोत्सव मनाउने प्रचलन वैदिक सनातन धर्मानुयायीहरूमा रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....