काठमाडौँ : नेपाल आइडलको गाला राउन्डको इलिमेनेसन राउन्ड प्रतियोगिता लागि साँच्चै कठिन एपिसोड हुन्छ। दर्शकको भोटको आधारमा निर्णय हुँदा को बाहिरिन्छन् पत्तै हुन्न। गला र कला भन्दा भोट मात्र आधार हुँदा टाइटलकै दाबेदार पनि बिचैमा बाहिरिने जोखिम हुन्छ।
उकेरा कला
आइडलबाट गोल्डेन माइक विजेता मदन बाहिरिँदा' उठेर हिँडौँ जस्तो लाग्यो' भन्दै रिसाए शम्भुजित

त्यस्तै भयो बिहीबार प्रसारण भएको कार्यक्रममा। यो सिजनको २ गोल्डेन माइक विजेतामध्येका एक मदन गुरुङ बाहिरिएका छन्। कार्यक्रमको प्रारम्भमै यो साताको बटम थ्रीको नाम भनियो।
पहिलो नाम आयो विश्वास उप्रेती। दोस्रो नाम मदन अनि अन्तिम सुमेन पाख्रिन। तीनमध्ये बढी भोट आएकी पाख्रिन सुरक्षित भइन्। दोस्रोमा विश्वास सुरक्षित भए। अनि बाहिरिए मदन।
बटम थ्रीका तीनै जनाको नाम जजहरूका लागि छक्क पार्नेखालकै थियो। त्यसमा पनि मदन बाहिरिँदा तीनै जजको चित्तै दुख्यो। जज शम्भुजित त रिसाए नै। यति राम्रो कलाकार बाहिरिने भन्दै उनले भने' यस्तो पनि हुन्छ!, मलाई त यार उठेर हिँडौँ जस्तो लाग्यो। यस्तो हो भने।'
उनी उठे पनि। तर कार्यक्रम छाडेर हिँडेनन्। मञ्चमा गएर आँसु पुछिरहेका मदनलाई अँगालो मारेर सान्त्वना दिए। जज सुगम र सुवानी पनि सन्तुष्ट थिएनन् निर्णयबाट। सुवानी टोलाई मात्र रहिन्। सुगमले गत साता जस्तै हाम्रोलाई नभई राम्रोलाई भोट दिन अनुरोध गर्दै भने' जात अनि क्षेत्रको आधारमा हैन, कलाको आधारमा भोट गरौँ।'
जाँदाजाँदै उनले गाए' सम्हालिन्छ कहिले मन, कहिले त्यसै आत्तिइदिन्छ।'
सुगम गाउने, सुवानी थपडी बजाएर नाच्ने
राम्रा गायक मदन बाहिरिए पनि कार्यक्रम त चल्ने नै भयो। कार्यक्रम अगाडि बढ्यो। लक्ष्मी पौडेल आइन्। तर तीनै जज उनको प्रस्तुतिबाट सन्तुष्ट हुन सकेनन्। गत हप्ता पनि उनको प्रस्तुति कमजोरै थियो।
दोस्रो आए नामगेल तामाङ। उनले गुराशै फुल्यो गीत गाए। पुरै मुडमा उनले गीत गाउँदा लक्ष्मीको प्रस्तुति बिर्सिए जजले। सुवानी रमाउँदै थपडी मार्दै ज्यान हल्लाउन थालिन्। सुगम तामाङको स्वरमा स्वर थपिरहेका थिए। शम्भुजित चाख मानेर सुनिरहे। तीनै जजले उनको गला र कलाको प्रशंसा गरे। गेस्ट धिरज राई पनि खुसी भए।
आदेश पौडेलले पनि 'आकाशैमा चिल उड्यो' रक भर्सनमा गाएर जजहरूको रमाइलो मुड कायमै राखे। उनले मन्त्र ब्यान्डको कभर भर्सन गाएका थिए। उनले हरेक एपिसोडमा फरक जनाराको गीत गाउने गरेका छन्।
सुमिन पाख्रिनले सुवानी र शीतल मोक्तानले गाएको ' तिमी बिनाको जीवन काँडा भो' गाइन्। सुवानी नै खुसी भएपछि अन्य जज किन दुखी हुन्थे र! भूपेन्द्र थापा मगरले' यो मायाले हेरेर फर्की' बोलको गीत गाए मुडमा। तर जजहरू त्यति सन्तुष्ट देखिएनन्। बाँकी सहभागीले शुक्रवार प्रस्तुति दिनेछन्।
२०७८ माघ १३ गते २२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।