काठमाडौँ : निर्वाचन लगायतका महत्त्वपूर्ण विषयमा पार्टीमा छलफल नगरी एकल निर्णय गरेको भन्दै आलोचना भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
उकेरा न्युज
बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको हो।
बैठकमा राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र पार्टीको कार्यसम्पादन समिति गठनबारे समेत छलफलको तयारी गरिएको एक नेताले जानकारी दिए।
केही दिन अगाडि कांग्रेसको शेखर कोइराला समूहले बैठक राखेर पार्टी सभापति एक्लै हिँड्न खोजेको भन्दै आलोचना गरेका थिए।
चेपुवामा देउवा
देउवा गठबन्धनमा रहेका दलको सुझाव अनुसार सकेसम्म स्थानीय तहको निर्वाचन सार्ने पक्षमा छन्। तर कांग्रेसका महामन्त्री गगन थापा लगायतका शेखर कोइराला समूहका नेताहरू भने तोकिएकै मितिमा गर्नुपर्ने पक्षमा छन्। उनीहरू राष्ट्रिय सभाको निर्वाचन नै गठबन्धन गरेर लड्ने अन्तिम निर्वाचन बनाउने पक्षमा समेत छन्।
तर देउवा सरकारमा रहेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग आगामी सबै निर्वाचनमा संयुक्त गठबन्धन गरेर जाने पक्षमा छन्। सरकारमा रहेका पाँच दल मिलेर निर्वाचनमा गए राष्ट्रिय सभामा जस्तै एमालेलाई पराजित गर्न सक्ने उनको विश्लेषण छ।
तर शेखर समूह आगामी निर्वाचनमा बहुमत ल्याउने हो भने एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छ। अन्य दलसँग मिलेर निर्वाचनमा जाँदा सिट बाँड्दा पार्टीको भागमा बहुमत उम्मेदवार नपर्ने र राष्ट्रिय सभाको प्रदेश नम्बर एकमा जस्तै एकीकृत समाजवादीमा रहेका पूर्व एमालेका मतदाताहरूले समाजवादीको उम्मेदवार नभएको स्थानमा एमालेका उम्मेदवारलाई मत दिन सक्ने उनीहरूको विश्लेषण देखिन्छ।
२०७८ माघ १३ गते १७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।