काठमाडौँ : राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि १९ जना नै उम्मेदवार मैदानमा उतारेको एमालेका १ उम्मेदवारले मात्र जिते। त्यो पनि भाग्यले। गठबन्धन दलबिच भोट क्रसहुँदा १९ सिटमा एक सिट जित्यो एमालेले। बाँकी १८ सिटमा गठबन्धनका उम्मेदवारले बाजी मारे।
उकेरा न्युज
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोमा एमालेबाट १९ जना, नेपाली काङ्ग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, एकीकृत समाजवादीबाट ५ जना, जनता समाजवादी पार्टी नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना चुनावी मैदानमा थिए।
सरकारको नेतृत्व गरेको कांग्रेसले ६ जना उम्मेदवार उठाएकोमा ५ सिट जित्यो। चुनावी परिणामलाई स्वाभाविक भन्दै चित्त बुझाएको छ एमालेले।
‘नतिजा स्वाभाविक हो, सबैतिर घेराबन्दी हुँदा पनि १ सिट जितियो अपेक्षा त्यति थियो, त्यो भन्दा धेरै आस पनि थिएन,’ एमालेका सचेतक विशाल भट्टराईले भने। उनले एमालेले हार्ने अन्तिम ठाउँ रहेको र सङ्घीय तथा स्थानीय चुनावमा एमाले जित्ने उनको दाबी छ।
‘अब हुने चुनाव संसद् र स्थानीय हो त्यहाँ गठबन्धन डरले थरथर भएर पर सार्दै गरेका छन्। जनताले भोट हाल्ने ठाउँमा हामी हार्देनौं,' भट्टराईले उकेरासँग दाबी गरे।
राष्ट्रिय सभाको नतिजालाई एमालेका नेता फुटाएर कृत्रिम कानुन बनाएर आएको कृत्रिम परिणाम भएको दाबी गरिरहेका छन्। प्रतिनिधि सभाका दर्जन भन्दा बढी सिटमा उप चुनाव हुनुपर्नेमा त्यो पनि नगरेकाले सत्ता गठबन्धन कमजोर रहेको पुष्टि हुने रिजालको दाबी छ।
‘छलछाम, जोडजाड तिकडम गरेर बिचमा उत्पन्न गरेको कृत्रिम परिणाम हो। अध्यादेशको नाममा कृत्रिम कानुन ल्याएर एमाले फुटाएर चुनाव चिन्ह, पार्टी अध्यक्षको हस्ताक्षर र नामबाट जितेका मान्छेहरूको दुरुपयोगको परिणाम हो,' एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।
सत्ता गठबन्धन भने प्राप्त मत परिणमबाट उत्साही देखिएको छ। उसले परिणामलाई स्वाभाविक रूपमा लिएको देखियो।
‘गठबन्धन सहित भए पनि प्रदेश १ मा सफल रह्यो अरुमा सफल हुन् सकेन,’ कांग्रेस नेतृ डा डीला सङ्ग्रौलाले भनिन्।
उनले अबको चुनावमा राष्ट्रिय सभाबाट आएको परिणामलाई ध्यानमा राखेर मतदाताले मत हाल्ने उनको तर्क छ। एमालेले कृत्रिम परिणाम भनेर गरेको टिप्पणीप्रति उनले भनिन्‘आफ्नै कारणले पार्टी फुटेको छ। अरूलाई दोष दिएर हुँदैन।’
क्लीन स्वीपबाट यसरी बच्यो एमाले
प्रदेश १ मा भएको मतदानमा एमालेका नेता सोनम ग्याल्जेन शेर्पा विजयी भए। शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लाग्यो। अल्पसङ्ख्यक क्षेत्रबाट उम्मेदवार बनेका शेर्पाले ४७३४ मत भार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे। जसपाका नेता राईलाई गठबन्धनले अगाडि सारेको थियो।
कांग्रेसलाई भाग्यको साथ, २ सांसदको कारण एमालेको हार
प्रदेश १ मै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भए। एमालेका उम्मेदवार गुरु बरालसँग मतभार बराबर भएपछि गोला तान्दा बस्नेत विजयी भएका थिए। खुलातर्फका उम्मेदवार बनेका उनीहरूको मतभार बराबर थियो।
दुवैले ४ हजार ४८८ प्राप्त गरेका थिए। पहिले गोला तानेका बस्नेतले विजयी गोला तानेका थिए। एमालेका २ जना प्रदेश सांसदले बराललाई मत दिएनन्। एक जना सांसदले फ्लोर क्रस गरे भने, एक जना सांसद कागजात कीर्ते मुद्दामा छन्। एमालेका ४० जना सांसदले मतदान गरे पनि बरालले जम्मा ३८ मत प्राप्त गरे। एमालेको एउटा मत राप्रपालाई गयो भने अर्को एक मत बदर भयो। उसका सांसद गुलेफुन मिया मत खसाल्न नै आइनन्। उनी सरकारी कागजात किर्ते मुद्दामा फरार सूचीमा छिन्।
जनमोर्चालाई गठबन्धनले फाइदा
लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा विजयी भएसँगै जनमोर्चाको राष्ट्रिय सभामा इन्ट्री भएको छ। गठबन्धनको प्रत्यक्ष फाइदा जनमोर्चाले पायो। उता बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जनप्रतिनिधिहरूले पार्टीको ह्विप विपरीत मतदान गरे। राप्रपाका २ प्रदेश सदस्य र २ जना स्थानीय जनप्रतिनिधिले मतदान गरेका थिए। मङ्गलवार राप्रपाको पदाधिकारी बैठकले प्रदेश १ बाहेकका प्रदेशहरूमा भाग नलिने निर्णय गरेको थियो।
राष्ट्रपतिले रोकेको ४ वर्ष पछि राष्ट्रिय सभामा
कांग्रेसका तर्फबाट ४ वर्ष अगाडी शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्न रोकेकी थिइन्। पौडेल बागमती प्रदेशबाट, बस्नेत प्रदेश १ बाट राष्ट्रिय सभा सांसद निर्वाचित भए।
हारे पनि एमाले पहिलो दल
१९ सिटमा १ सिट मात्रै जिते पनि एमाले राष्ट्रिय सभामा पहिलो दल कायमै छ। २४ सिट रहेको एमाले अब १७ सिटमा झरेको छ। कांग्रेसलाई ३ सिट, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको १–१ सिट थपिएको छ। माओवादी १५ सांसद सहित दोस्रो, कांग्रेस १० सांसद सहित तेस्रो, एकीकृत समाजवादी ८ सांसद सहित चौथो दल बनेको छ। जसपाको ३ सांसद रहँदा जनमोर्चाको १ सांसद रहनेछन्। तीन मनोनीत, लोकतान्त्रिक समाजवादीको १ र १ स्वतन्त्र सांसद छन्।
२०७८ माघ १३ गते १५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।