काठका मुढामा बुद्धको जीवन

काठका मुढामा बुद्धको जीवन

बुटवल : ८ जेठ २०७६ मा ‘देवदहका पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं’ भन्दै रुपन्देहीको देवदहस्थित बुद्ध सामुदायिक वनमा राष्ट्रिय काष्ठकला कार्यशाला गरियो। ९ दिनसम्म चलेको सो कार्यशाला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले आयोजना गरेको थियो।

कार्यशालामा १७ जना मूर्तिकारले ८ दिन लगाएर १७ वटा काठका ठुटाबाट मूर्ति तयार गरे।

त्यसअघिसम्म सुनसान रहेको बुद्ध सामुदायिक बनमा रहेको गौतमबुद्ध राष्ट्रिय पार्क अहिले पर्यटकीय गन्तव्य मात्र भएको छैन् बुद्ध जीवन बुझ्न चाहनेका लागि अध्ययनको थलो समेत बनेको छ।

कार्यशाला सुरु हुनुअघि त्यहाँ तीन वटा सेट निर्माण गरी बनभोजस्थल बनाइएको थियो। तर सो बनभोजस्थलका बारेमा स्थानीय बाहेक अरुलाई खासै थाहा थिएन। 

‘बनभोजस्थल सात वर्षअघि नै बनेको भएपनि खासै प्रचारमा थिएन। सुनसान जस्तै रहेको यो ठाउँको कार्यशालापछि मुहार फेरिएको छ। सुन्दर काष्ठकलाले बुद्धको जीवनी बोलेको छ,’ गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क व्यवस्थापन समितिका सहसंयोजक सम्मरबहादुर खड्काले भने।

देवदहलाई बुद्धको मावली गाउँ मानिदै आएको र देवदह प्राचीन कोलीय गणराज्यको राजधानी समेत रहेकाले यसको प्रचार-प्रसारलाई विश्वव्यापी बनाउनका लागि बन उपभोक्ता समूहले कार्यशाला चलाएको उनले बताए।

पार्क नजिकै काठका ढलेका मुढामा बुद्ध जीवनीसँग जोडिएका मूर्तिहरू कुँदेपछि अहिले तिनै मूर्तिहरू गौतमबुद्ध राष्ट्रिय उद्यानका प्रमुख आकर्षण बनेको उनले बताए।

पार्कमा सिद्धार्थ गौतमलाई आमा मायादेवीले लुम्बिनीमा जन्म दिदै गर्दादेखि बुद्धत्व प्राप्त गर्नुअघि र पछिका अवस्था र कालखण्डहरु झल्काउने आकृति बन्दा पार्क रमणीय बनेको छ ।

पार्कले काष्ठकला कार्यशालाका लागि २ लाख रुपैयाँ छुट्याएको थियो। त्यसमा ड्रिम देवदह र बुद्ध सामुदायिक बनले साथ दिए जसले झाडीले अँध्यारो बनाएको पार्कको मुहार चम्काइदियो। पार्क निर्माणको लागि अहिलेसम्म प्रदेश, संघीय र स्थानीय सरकारको साथै विभिन्न दाता र सामुदायिक बनको गरी २ करोडभन्दा बढी लगानी भइसकेको छ।

उक्त पार्कमा लुम्बिनी प्रदेश सरकारले भने २०७६ सालमा ५० लाख र ०७७ सालमा २० लाख गरी हालसम्म ७० लाख रुपैयाँ लगानी गरिसकेको छ।

देवदह नगरपालिकाले पहिलो वर्ष २ लाख र त्यसपछि २० लाख रुपैयाँ सहयोग गरे पनि पछिल्लो वर्ष भने रकम उपलब्ध गराएको छैन। 

टिकट काटेर प्रवेश
कुनै बेला बनको झाडीलाई पार्क बनाउने भन्दा विश्वास नगरेका स्थानीयहरु अहिले पार्कमा हुने भीडले दंग छन्। पार्क व्यवस्थापन समितिले पार्कभित्र प्रवेशका लागि टिकट शुल्क तोकिदिएको छ। आन्तारिक र बाह्य पर्यटक अहिले निश्चित शुल्क बुझाएर पार्कमा प्रवेश गर्छन्।

कोभिडको दोस्रो लहरपछि केही तंग्रिन थालेको पार्कमा अहिले भने खासै चहलपहल छैन। तर गत वैशाखमा ८ हजार बढी पार्क हेर्न पुगेको पार्क व्यवस्थापन समितिका सहसंयोजक खड्काले बताए।

पार्क अवलोकनको लागि २० रुपैयाँको टिकट काट्नुपर्छ भने पिकनिकका लागि २५ जनाको समूहलाई २ सय र त्योभन्दा माथिका लागि ४ सय रुपैयाँ लिने गरिएको छ। त्यसका अलावा बनभोज सेटका लागि ५ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ।

पार्क सञ्चालन भएको छोटो अवधिमै टिकट बिक्रीबाटै करिब १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको खड्काले बताए। सामुदायिक वनको ८ हेक्टर क्षेत्रमा निर्माण गरिएको पार्कमा सेल्फी ब्रिज, पानीको फोहोरा समेत बनाइएको छ।

चारैतिर हरियाली सहितको वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्यसँगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरूले पार्कलाई साँच्चिकै सुन्दर बनाएको छ।

१३ माघ, २०७८, ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।